+
+

लक्ष्मेश्वर सत्तलमा वाग्मतीको बाढी पस्ने महानगरको आशंका

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते २०:०१

१४ मंसिर, काठमाडौं। काठमाडौं महानगरपालिकाको टोलीले त्रिपुरेश्वरदेखि टेकुसम्म बागमती किनारमा पुनर्निर्माण भइरहेका सम्पदाहरुको अवलोकन गरेको छ ।

जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसहितको टोलीले अवलोकनपछि नदी व्यवस्थापन र किनारमा भएका सम्पदा पुनःनिर्माणका क्रममा त्रुटि देखिएको भन्दै सच्याउन आग्रह गरेको छ ।

महानगरपालिकाको सामाजिक समिति संयोजक रामकुमार केसीले लक्ष्मेश्वर सत्तल बागमतीमा बाढी आउँदा क्षति हुन सक्ने बताए । ‘नदीमा बाढी आउँदा कहाँसम्म डुबाउँछ, कुन ठाउँसम्म खतरा छ भनेर अनुमान नै नगरी भौतिक पूर्वाधार निर्माण भएको रहेछ, यसलाई सच्याउनुपर्छ’, केसीले भने ।

वातावरण समितिका संयोजक बालकृष्ण महर्जनले निर्माणको योजनामै प्रश्न उठाए । ‘बागमतीमा बाढी आउँदा लक्ष्मेश्वर मन्दिरमा छिर्छ, नदी सुधार कार्यक्रमको योजना निर्माण गर्दा कसरी गरेको हुन्छ ?’, उनले सोधे ।

महानगरका प्रवक्ता नविन मानन्धर, सम्पदा समितिका संयोजक आशामान संगत, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी पनि अवलोकनमा संलग्न थिए ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त र जीर्ण भएका सम्पदाहरुको पुनःनिर्माणबारे महानगरको टोलीले जानकारी लिएको थियो । पुनःनिर्माणपछि हस्तान्तरण भएका सम्पदाहरुको अवस्था, पुनर्निर्माण हुन बाँकी सम्पदाको समेत महानगरको टोलीले जानकारी लिएको थियो ।

पहिलो चरणमै उठ्यो प्रश्न

थापाथलीदेखि टेकु दोभानसम्मका सम्पदा पुनर्निर्माणका लागि एसियाली विकास बैङ्कको ऋण सहायतामा नदी सुधार परियोजनामार्फत तीन चरणमा काम भएको छ । यो काम शहरी विकास मन्त्रालय अन्तर्गतको एकीकृत बागमती सभ्यता विकास समितिले गरिरहेको छ ।

परियोजनाको पहिलो चरणमा पुनर्निर्माण भएका ११ वटा सम्पदा गुठी संस्थान र निजी गुठीलाई हस्तान्तरण भइसकेका छन् । लक्ष्मेश्वर मन्दिर र लक्ष्मेश्वर सत्तल पनि पहिलो चरणमा निर्माण भएका सम्पदा हुन् ।

लक्ष्मेश्वर सत्तलमा सीप सिकाउने तयारी

लक्ष्मेश्वर सत्तल महानगरपालिकाले कला तथा सीप प्रशिक्षण स्थल निर्माणका लागि गुठी संस्थानसँग मागेर सञ्चालन गर्ने तयारी गरेको छ । महानगरपालिकाले काष्ठकला, धातुको भाँडा बनाउने कला सिकाउने  स्थान बनाउन खोजेको सम्पदा समितिका संयोजक आशामान संगतले बताए ।

गुठी संस्थान मातहत रहेको सत्तलमा संस्थानले मासिक १ लाख ६ हजार भाडा प्रस्ताव गर्दै आएको छ । तर अवलोकन गरेपछि संस्थानको प्रस्तावमा पुनः विचार गर्नुपर्ने महानगरको टोलीले जनाएको छ ।

‘हाम्रो भौगोलिक क्षेत्रभित्र भएका सम्पदाको संरक्षण हामीले गर्ने हो । यस कार्यक्रममा सरोकारवाला र साझेदारसँग सहकार्य गर्छौँ’,  प्रवक्ता नविन मानन्धरले भने, ‘हाम्रै संरक्षण दायित्वमा रहेको स्थानमा भाडा तिर्ने कुरा आउँदैन ।’

लक्ष्मेश्वर मन्दिर सन् १८१३ मा राजा रणबहादुर शाहकी पत्नी लक्ष्मीदेवीले बनाएको इतिहास छ । दैनिक पूजा तथा अन्य क्रियाकलाप सञ्चालन र व्यवस्थापन गर्न लुभु र थिमी गाउँमा १ सय रोपनी जग्गा दान दिएकी इतिहासकारहरु बताउँछन् ।

लक्ष्मेश्वर मन्दिर र सत्तलबाहेक पहिलो चरणमा शिव मन्दिर, पुजारी सत्तल, पुरोहित घाट सत्तल, वेष्ट सत्तल, राजभण्डारी सत्तल, मानन्धर सत्तल, कार्की सत्तल र मुन्सीघाट सत्तल सवलीकरण गरेर हस्तान्तरण भइसकेको छ ।

पहिलो चरणको काममा करिब ३७ करोड रुपैयाँ खर्च भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरको टोलीले अवलोकनका क्रममा पञ्चनारीघाट, तीनदेवल मन्दिर, पुरोहित घाट सत्तलसहित नदी किनारमा निर्माण र पुननिर्माण भएका संरचनामा हेरेको थियो । नदी र सम्पदामा बस्तीको अतिक्रमण, सम्पदा क्षेत्रमा अनुपयुक्त निर्माणको विषयमा परियोजनासँग महानगरले छलफल गर्ने तयारी गरेको छ

दोस्रो चरणको काम हुँदै

नदी सुधार परियोजनाको अहिले दोस्रो चरणको काम भइरहेको महानगरले जनाएको छ । दोस्रो र तेस्रो चरण गरेर टेकु पुलदेखि टुकुचा–बागमती दोभान हुँदै थापाथली पुलसम्मको खण्डमा पर्ने सम्पदा पुननिर्माण, मर्मत सम्भार र नदी क्षेत्रको सुन्दरता बढाउने पूर्वाधार निर्माण भइरहेको महानगरले जानकारी दिएको हो ।

दोस्रो चरणको काम गर्न करिब ४० करोड रुपैयाँ र तेस्रो चरणको काम गर्न करिब ३५ करोड रुपैयाँ लागत अनुमान गरिएको महानगरपालिकाले जनाएको छ ।

यस क्षेत्रमा सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका प्राचीन सम्पदा छन् । मानव निर्मित प्राचीन भौतिक संरचना, तिनको बनावट र महत्वसँग प्राकृतिक सम्पदाको निकट सम्बन्ध भएको ठाउँ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?