+
+

ललितपुरमा पनि बल्न थाल्‍यो सडक बत्ती

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते २०:३०

१४ मंसिर,काठमाडौं । ललितपुर महानगरको चक्रपथ बाहिर स्मार्ट स्ट्रिट लाइटको औपचारिक उद्घाटन भएको छ । विहीबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबू महर्जन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट स्ट्रिट लाइट कन्ट्रोल सेन्टरमा स्विच थिचेर उद्घाटन गरेको हुन् ।

महानगरपालिकाले ‘ललितपुर स्र्माट स्ट्रिट लाईट परियोजना’ अन्तर्गत दोस्रो चरणमा १ हजार ४१२ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरेको हो । चक्रपथ बाहिर भैंसेपाटी, खोकना, बुङमती, धापाखेल, सुनाकोठी र हरिसिद्धी क्षेत्रमा बत्ती जोडेको बत्तीको उद्घाटन भएको होे । ९ करोड २५ लाख लागत रहेको स्मार्ट लाइटमा ललितपुर महानगरको ६० प्रतिशत र विद्युत प्राधिकरणको ४० प्रतिशत लागत रहेको छ ।

जसमा ९० वाट्सको १ हजार १६१ स्मार्ट सडकबत्ती, ६० वाट्सको २३९ वटा र २ सय वाट्सको हाइमास्ट लाइट १२ वटा जडान भएको छ । यो क्रममा चक्रपथ बाहिर महानगरले ३७४ वटा नयाँ पोल गाडेको छ भने १ हजार ३ वटा पोल पहिल्यै रहेको महानगरले जनाएको छ । यस्तै २४ वटा फिडर प्यानल महानगरले जडान गरेको जानकारी दिएको छ ।

कोर एरियामा पहिले नै जडान

ललितपुर महानगरपालिकाको कोर एरियाको रुपमा रहेको चक्रपथ भित्र भने ३ वर्ष अगाडि नै पहिलो चरण अन्तगर्त स्मार्ट स्ट्रिट लाइट जडान गरिसकेको छ । पहिलो चरणमा महानगरको पूर्ण लगानीमा ५ करोड ५ लाखमा ५० वाट्सका ४२५ वटा स्मार्ट लाईट, ८० वाट्सको २२० वटा, १२० वाट्सको २४ वटा स्मार्ट लाइट जडान भएका थिए ।

यस अन्तर्गत मुख्य शहरी क्षेत्र कुपण्डोल, जावालाखेल,लगनखेल, सातदोबाटो, एकान्तकुना, मंगलबजार, पाटनढोका लगायत रहेको थियो । पहिलो चरणमा ३३१ नयाँ पोल जडान महानगरले गरेको थियो भने ३ सय वटा पोल पहिल्यै रहेको थियो ।

महानगरका अनुसार स्मार्ट स्ट्रिट लाइटलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिन्छ । पोलै पिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न (डिमिङ) गर्न बत्ती जडान भएको ठाउँमा आउनु पर्दैन । सर्भर रुमबाट नै गर्न सकिन्छ । सडक बत्ती बाले बापतको शुल्क मिटरबाट रिडिङ गरिने व्यवस्था हुन्छ । उक्त मिटरमा उठेको शुल्क महानगरपालिकाले भुक्तानी गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?