+
+

मन्त्री किरातीले सार्वजनिक गरे पालाम म्युजिकल फिल्म ‘मिम्जिमा ए’

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते ११:४४

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पछिल्लो समय कला क्षेत्रका जमघटमा निकै देखिन्छन् । फिल्म प्रिमियरदेखि गीत रिलिज समारोहसम्म उनको सक्रियता देखिन्छ । विभागीय मन्त्रीको हैसियतमा त हुने भइहाल्यो, कलाप्रति उनको अभिरुचि पनि देखिन्छ ।

बिहीबार साँझ काठमाडौंमा उनले पालाम म्युजिकल फिल्म ‘मिम्जिमा ए’ सार्वजनिक गरे । २५ मिनेट लामो यो सांगीतिक फिल्मबारे उनले यस्तो संगीतले कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने बताए । उनले गायक भीम लिम्बू र मनु नेम्बाङको प्रशंसा समेत गरे ।

उनले गायक लिम्बूसँगको पहिल्यैदेखिको सम्बन्ध सम्झिए । ‘भीमले सपना देखेर संगीत यात्रा थाले । चौरमा बसेर गाएको गीत र त्यो यात्राको संघर्ष अहिले पनि मलाई स्मरण छ । मैले राजनीति रोजें, उनले संगीत,’ मन्त्री किरातीले भने, ‘गीत-संगीतप्रति उनको लगाव उस्तै छ । उनको गीत सार्वजनिक समारोहमा यसरी अतिथि बनेर आउन पाउँदा निकै खुसी छु ।’

संगीतले समाजमा प्रभाव पार्ने भएको हुँदा यसमार्फत कला, संस्कृतिलाई समेट्दै सकारात्मक प्रभाव पार्ने कार्य गर्न आग्रह गरे । ‘लिम्बू समुदायले गाउने पालाम र ख्यालीको विशेष महत्व छ । पालामसँग लिम्बूहरुको सांस्कृतिक पहिचान जोडिएको छ । पहिचानसँग जोडिएका हरेक कलाको संरक्षण र सम्वर्द्धन गर्न आवश्यक छ,’ उनले भने ।

गीतमा भीम र मनुसँगै कोरसको रुपमा रुकमान लिम्बू, निरन्ता नेम्वाङ, शिव साम्बाहाम्फे, दीपा सुहाङ छन् । गीतको संकलक गायक भीम नै छन् भने यसमा शब्द सुवर्ण नेम्वाङले लेखेका हुन् ।

गीतमा चर्चित फिल्म ‘जारी’की अभिनेत्री रेखा लिम्बू, मोन नाल्बो सुब्बा, विशाल सेनेहाङ, रुकमान लिम्बू, कृष्ण सेनेहाङ, नवीन सेनेहाङ, खुसी थुलुङ, शैलेन्द्र नाल्बो लगायतले अभिनय गरेका छन् । तारेभीरको रमणीय दृश्यमा छायांकन गरिएको गीतमा गाउँमा पाहुना आउँदा धान नाच्ने परम्परा र त्यहीं भेटघाटको क्रममा बस्ने मायालाई देखाइएको गायक लिम्बूले बताए ।

‘कला, संस्कृतिसँगै संस्कारलाई गीतको शब्द र भिडियोमार्फत व्यक्त गरिएको छ । यसले त्यो परम्परालाई पुस्तान्तरण गर्न पनि मद्दत गर्छ । त्यसैले यो गीत मात्र नभई संस्कृति जोडिएको म्युजिकल फिल्म हो,’ उनले भने, ‘दुई दशक अगाडि गीत-संगीतमा पाइला टेकेता पनि यो लिम्बू भाषामा भने मेरो पहिलो गीत हो ।’

भीम दशकपछि संगीतमा फर्किएका हुन् । ‘माया मेरो झुटो रे’, ‘हाते काटेर’, ‘खुल्यो खुल्यो रस खुल्यो’, ‘फेसबुकैले’, ‘धानै नाचिन्छ’ जस्ता गीतमार्फत उनी गायनमा चिनिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?