+
+

‘सुनाकली’ देखाउँदै सकियो थाहा फिल्म फेस्टिभल

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १६ गते १२:२०

काठमाडौं । मकवानपुरमा आयोजित ‘थाहा फिल्म फेस्टिभल २०२३’ सम्पन्न भएको छ । पालुङको जेसिस हलमा मंसिर ९ गतेदेखि सुरु फेस्टिभलको क्लोजिङ फिल्मको रुपमा भोजराज भाट निर्देशित छोटो फिल्म ‘सुनाकली’ थियो ।

मुगुका किशोरीको फुटबल सपना र संघर्ष चित्रण गर्ने उक्त फिल्म हेर्न स्थानीयसहित विद्यार्थी र शिक्षकको खचाखच उपस्थिती थियो । समापन कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सरकारले यस्ता फेस्टिभललाई सघाउन सघाउने बताइन् ।

मकवानपुर जिल्लालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थाहा नगरपालिकालगायत अन्य पालिका मिलेर काम गर्नु पर्ने उनको भनाई थियो । पर्यटन प्रवद्र्धनको उद्देश्यसहित थाहा कला केन्द्रले आयोजना गरेको फेस्टिभलमा तीन दर्जन फिचर, वृत्तचित्त र फिचर फिल्म प्रदर्शन गरिएको थियो ।

फिचर फिल्मतर्फ ‘ऐना झ्यालको पुतली’, ‘प्रकाश’, ‘द सिक्रेट्स अफ राधा’, ‘बुलबुल’, ‘आमाखान्डो’ र ‘डेसान’ देखाइयो । फेस्टिभलमा सुजित बिडारी, सुवर्ण थापा, केदार श्रेष्ठ, मोहन राई, गणेशदेव पाण्डे, समलकुमार बज्राचार्यका लगायतका फिल्मकर्मी सहभागि थिए ।

थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु तामाङले फेस्टिभल सफलतापूर्वक सम्पन्न भएको बताउँदै यसलाई निरन्तर रुपमा अगाडि बढाउने सुनाए ।
फेस्टिभल संयोजक प्रमोद कुष्ण जोशीले फेस्टिभलले नगरपालिकालाई मिनी फिल्म सिटी बनाउन परिकल्पनालाई साकार गर्ने बताए ।

‘विश्वमा फिल्मलाई उद्योगको रुपमा लिइन्छ । विदेशमा चलचित्र क्षेत्रले ठूलो अर्थतन्त्र धानेको छ । हामीले पनि थाहा नगरपालिकालाई मिनी फिल्म सिटी बनाएर यहाँका मानिसलाई समृद्ध बनाउन सक्छौँ’ उनले भने, ’एकैदिनमा कायापलट हुँदैन । यस्ता खालका फिल्म फेस्टिभललाई निरन्तरता दिन सक्यौँ भने थाहा नगरपालिका पक्कै पनि फिल्म सिटीको हब बन्नेछ । फिल्म गतिविधी बढाउन नै फिल्म फेस्टिभल सुरु गरेका हौँ ।’

थाहा कला केन्द्रले विभिन्न तालिम दिँदै आएको बताउँदै अब विद्यार्थीलाई फिल्ममेकिङ तालिम दिने जोशीले सुनाए । फेस्टिभलमा बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको सहयोग रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?