+
+

पैसा अभावमा पुनर्स्थापनामा जान सक्दैनन् लागुऔषध प्रयोगकर्ता

सुवास पण्डित सुवास पण्डित
२०८० मंसिर १७ गते १६:०५

१७, मंसिर, चितवन । लागु पदार्थको कुलतमा फसेकाहरु रकमको अभावमा पुर्नस्थापनामा जान नसकेका यस क्षेत्रमा काम गर्ने सरोकारवालाहरुले बताएका छन् ।

साथीहरुको लहैलहै, आफूलाई फरक देखाउने प्रवृत्ति, एक्लोपन आदि कारणले दुव्यर्वसनीमा फसेकाहरु त्यहाँबाट मुक्त हुन खोजे पनि परिवार र समाजले उनीहरुप्रति राख्ने नराम्रो दृष्टिकोण र पैसाको अभावमा पुनस्र्थापनामा जान नसकेका उनीहरुको भनाइ छ ।

रिकभरिङ युनाइटेड चितवनका संस्थापक अध्यक्ष मनोज घिमिरेले दुव्र्यसनमा परेकाहरुलाई आफू कुलतमा परेको थाहा हुने तर रकम नहुँदा समयमा नै उपचार र पुनर्स्थापना जान नसकेको बताए ।

‘भएको रकम सबै लागु पदार्थ सेवनमै सिध्याएका हुन्छन्, आफूसँग रकम नभएपछि अन्यत्र चोरेर, ठगेर, भएका कुरा बेचेर भए पनि लागु पदार्थको सेवन गरेका हुन्छन्, परिवार पनि आजित बनेका हुन्छन्’, उनले भने, ‘ऊसँग रकम हुँदैन, परिवारले बुझ्दैन पैसाकै अभावमा पुनर्स्थापनमा जान नसकेको कयौं घटनाहरु हामीले भोगेका छौं ।’

चितवनमा झण्डै १२ हजार सक्रिय लागुपदार्थ दुब्र्यसनी भएको उनको अनुमान छ । ब्राउन सुगर, हिरोइन, सुई प्रयोगकर्ताहरुलाई सक्रिय लागुपदार्थ दुर्व्यसनी भन्ने गरिन्छ । धेरै विपन्न लागुपदार्थ सेवनकर्ताहरू उपचारमा आउन चाहेको तर कतैबाट पनि सहयोग नपाउँदा दुव्र्यसनलाई निरन्तरता दिएको पाइएकाले स्थानीय सरकार र सरोकारवाला निकायहरुले यसमा ध्यान दिनुपर्ने घिमिरेले बताए ।

लागु पदार्थ सेवन गरेकाहरुलाई महिनाको २० हजार रकम लिएर कम्तीमा ६ महिनासम्म पुनर्स्थापनमा राख्नुपर्ने हुन्छ । यसो हुँदा १ लाख २० हजार खर्च हुने र सो रकमको जोहो गर्न नसक्नेहरु उपचार र पुनर्स्थापनमा जान नसकेको घिमिरेले बताए ।

विपन्न तर कुलतमा परेका दुर्व्यसनीहरुको उपचार र पुनर्स्थापना गर्न रिकभरी नेपालले औद्योगिक शान्ति नेपालसँग मिलेर चितवन नारायणी महोत्सवको आयोजना गर्‍यो । मंसिर ६ देखि १६ गतेसम्म चलेको महोत्सवमार्फत उठेको रकमबाट कम्तीमा पनि ३० जना दुव्यर्वसनीहरुको निशुल्क उपचार गर्ने घिमिरेले बताए ।

महोत्सवमा कलाकारहरुमार्फत लागु पदार्थ दुर्व्यसनी र त्यसले समाजमा पार्ने प्रभाव तथा उनीहरु प्रति समाज र परिवारले राख्नुपर्ने दृष्टिकोणबारेमा सचेतना फैलाइएको घिमिरेले बताए । सो महोत्सवमा लागु पदार्थ दुर्व्यसनी र त्यसले पार्ने प्रभावका बारेमा स्टल राखेर दैनिक जसो सचेतनाका कार्यक्रमसमेत गरिएको थियो । महोत्सवमा १ लाख २० हजार भन्दा बढि मानिसहरु आएको आयोजकको भनाई छ ।

आयोजक संस्था औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महत आफूले देशभर दुई सयभन्दा बढी महोत्सव गरेको र चितवनको महोत्सव निकै सफल भएको दाबी गरे ।

महोत्सव मूल आयोजक समितिका संयोजक पिङ्कलराज पन्तले महोत्सवमार्फत् चितवनसहित देशैभरि प्रत्यक्ष र सञ्चारमाध्यममार्फत् जनचेतना जगाउने काम भएको बताए । लागुपदार्थ सेवन र त्यसले पार्ने प्रभावका बारेमा सरकारी निकायले समेत चासो दिनुपर्ने उनको धारणा छ ।

महोत्सवमा एक सय ९६ वटा स्टल रहेका थिए । रिकभरिङ युनाइटेडका अध्यक्ष रवीनकुमार श्रेष्ठका अनुसार उनको संस्थामार्फत १४ देखि ७५ बर्षसम्मका लागुपदार्थ दुर्व्यसनीहरू उपचार र पुनर्स्थापनामा गएका छन् । त्यस्तो संख्या १५ सयभन्दा बढी भएको उनको बताए ।

उपचारपछि निको भएर सामान्य जीवनमा फर्कने जनप्रतिनिधि, ठूला व्यापारी, चिकित्सक, इञ्जिनियर, बैंक प्रबन्धक, शिक्षक जस्ता प्रतिष्ठित व्यक्तिसमेत रहेको अध्यक्ष श्रेष्ठले बताए ।

चितवन जिल्लामा २१ वटा पुनःस्थापना केन्द्र रहेकामा भरतपुर महानगरपालिकामा मात्रै १५ वटा छन् । यी सबै निजी क्षेत्रबाट सञ्चालित छन् । लागु पदार्थ दुर्व्यसनी अपराध नभएर रोग भएकोले उपचार पनि सम्भव भएको संस्थाका संस्थापक अध्यक्ष घिमिरेले बताए ।

स्थानीय जनप्रतिनिधिसमेत रहेका घिमिरेले स्थानीय सरकारले लागु पदार्थ दुर्व्यसनीको उपचारमा अलग्गै कोष वा बजेट छुट्याउनुपर्ने माग गरे ।

‘पालिकाहरुले यसलाई खासै प्राथमिकतामा राखेको पाइदैन, तर यो सरकारको समस्या हो, निजी क्षेत्रले मात्रै लागु पदार्थ सेवन र दुर्व्यसनी हटाउँछु, घटाउँछु भनेर सक्दैन’, घिमिरेले भने, ‘हरेक बर्ष पालिकाहरुले आफ्नो कार्यक्रममा समेटेर बजेटमा समेत यसलाई प्राथमिकतामा राख्नुपर्छ ।’

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?