+
+

बागमती प्रदेश छनोट : काठमाडौं अपराजित रहँदै च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १५:५४

१८ मंसिर, काठमाडौं। काठमाडौंले अपराजित रहँदै प्रधानमन्त्री कप बागमती प्रदेश महिला छनोट प्रतियोगिताको उपाधि जितेको छ ।

सोमबार चितवनको भरतपुरस्थित गौतमबुद्ध क्रिकेट मैदानमा भएको फाइनलमा ललितपुरलाई ४ विकेटले हराउदै काठमाडौं च्याम्पियन बनेको हो ।

ललितपुरले दिएको ५५ रनको लक्ष्य काठमाडौंले १६.१ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गर्‍यो ।

काठमाडौंका लागि कप्तान अस्मिना कर्माचार्यले अविजित १३ रन बनाइन् । ललितपुरका लागि यशु पाण्डे र सविका कुमारी यादवले समान दुई विकेट लिए । कप्तान सोनी पाख्रिनले एक विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ५४ रन बनाएको थियो ।

ललितपुरका लागि सविकाकुमारी यादवले १४ तथा यशु पाण्डेले १३ रन बनाए ।

काठमाडौंका लागि विपिशा शाहीले ९ रन मात्र खर्चेर ३ विकेट लिइन् । यस्तै खुसी डंगोलले पनि ३ विकेट लिँदा ११ रन खर्चिइन् । विपिशा शाही फाइनल खेलको प्लेअर अफ दि म्याच भइन् ।

काठमाडौं लिग चरणमा ललितपुर, भक्तपुर र चितवनलाई पराजित गर्दै फाइनल पुगेको थियो ।

काठमाडौंकी खुसी डंगोल प्रतियोगिताको सर्वोकृष्ट खेलाडी तथा उत्कृष्ट बलर घोषित भइन् । यस्तै काठमाडौंकै अस्मिता खरेल उत्कृष्ट ब्याटर बनिन् ।

गौतम बुद्ध क्रिकेट मैदान र मूलपानी मैदान मंसिर २० देखि २५ गतेसम्म बागमती ग्रीन, बागमती रेड र बागमती ब्लु गरी तीन टिम सहभागी बागमती वुमन्स इलाइट ट्रफी आयोजना हुनेछ ।

यस प्रतियोगितापछि प्रधानमन्त्री कपका लागि बागमतीको टोली घोषणा हुनेछ । त्यसपछि मंसिर २७ देखि २९ गतेसम्म बागमतीले एपीएफसँग दुईपक्षिय सिरिज खेल्नेछ । प्रधानमन्त्री कप महिला क्रिकेट पुस १ देखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?