+
+

इच्छाकामनाको चेपाङ बस्तीका घरघरमा धारा

रासस रासस
२०८० मंसिर १८ गते १६:१२

१८ मङ्सिर, भरतपुर (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाका दुई खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । आइतबार वडा नं २ को छापडाँडा र दुम्किन हेप्चेक खानेपानी आयोजनाको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले शिलान्यास गरे । यहाँ अधिकांश चेपाङ समुदायको बसोबास छ ।

अध्यक्ष गुरुङले अब चेपाङ बस्तीमा ‘एक घर एक धारा’ निर्माण हुने बताए । उनले गाउँपालिकाले सबै वडामा यो अभियान सञ्चालन गरिरहेको भन्दै चेपाङ बस्तीलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिए ।

एक सय ९० घरधुरीका लागि दुईवटा खानेपानी आयोजनाको काम एकैसाथ सुरु गरिएको जनाउँदै गुरुङले पानी डोकोमा बोक्ने दिनको अन्त्य भएको बताए । उनका अनुसार गाउँपालिका, स्थानीय उपभोक्ता र वाईन टु वाटर नेपाल नामक संस्थाको साझेदारीमा खानेपानी योजना सम्पन्न हुनेछ ।

एक करोड ७९ लाख ७३ हजार कूल लागतको आयोजना माघ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको अध्यक्ष गुरुङले जानकारी दिए । साझेदारी संस्थाको ६५, गाउँपालिकाको २५ र स्थानीयवासीको १० प्रतिशत श्रमदानबाट आयोजनाको काम सम्पन्न हुने उनको भनाइ छ ।

अध्यक्ष गुरुङले मिलेर काम गर्दा समयमै योजना सम्पन्न हुने भएकाले त्रिपक्षीय साझेदारीमा काम गरिएको बताए । ‘यसअघि पनि यसरी साझेदारीमा काम गरेका छौं’, उनले भने, ‘खानेपानीको धारा निर्माणपछि स्थानीयवासीलाई उत्पादनमा जोड्न सिँचाइको पनि व्यवस्था गर्नेछौँ ।’ उनले यहाँ उत्पादित अन्न तथा तरकारी बिक्री गरी आयआर्जन गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाए ।

चेपाङ बस्तीमा सडक, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै अध्यक्ष गुरुङले गाउँपालिकाले परिवार सुधार कार्यक्रमअन्तर्गत बस्तीलाई सुविधासम्पन्न बनाउने काम गरिरहेको बताए । पूर्वाधार निर्माणमा श्रमदानको अभावमा काम अलपत्र पर्‍यो भन्ने अवस्था आउन नदिन सबैको ऐक्यबद्धता आवश्यक पर्नेमा उनले जोड दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?