+
+

मोरङमा हात्तीको आक्रमणबाट एकको मृत्यु

रासस रासस
२०८० मंसिर १८ गते १८:४५

१८ मंसिर, सुन्दरहरैँचा। मोरङको बेलबारी नगरपालिका–१० स्थित भाउन्नेको जङ्गलमा हात्तीको आक्रमणमा परेर एक पुरूषको मृत्यु भएको छ ।

जङ्गली हात्तीको आक्रमणबाट ५३ वर्षीय कमल माझीको आज मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । उनले लेटाङ नगरपालिका–३ घर भएका माझीलाई साइकलमा घरेलु मदिरा बनाउने मर्चा बोकेर यात्रा गरिरहेका बेला सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै निधन भएको उल्लेख गरे ।

माझी लेटाङस्थित घरबाट बेलबारी लक्ष्मीमार्गको बजारतर्फ साइकलमा आउँदै गरेको बेला जङ्गली हात्तीको आक्रमणमा परेको प्रहरीको भनाइ छ । बाटो हिँड्नेले जङ्गलमा आज शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गर्दै शव परीक्षणका लागि उर्लाबारीको मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरतर्फ पठाएका थिए ।

लेटाङ तथा भाउन्ने आसपासमा रातभर दुई दर्जनभन्दा बढी छावा (बच्चा) सहितको जङ्गली हात्ती देखापरेकाले स्थानीयको सहयोग लिएर प्रहरीले हात्तीको बथानलाई जङ्गलतर्फ धपाउने काम गरेको यहाँका स्थानीयले बताएका छन् ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा केही दिनदेखि जङ्गली हात्तीको आङ्तक बढेको छ । लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा उपद्रो मच्चाइरहँदा सर्वसाधारण त्रसित एवं भयभीत भएका छन् । सर्वसाधारणको घर भत्काइ दिनेदेखि बालीनाली खाने र मान्छे मार्नेसम्मको वितण्डा जङ्गली हात्तीले मच्चाइरहेको मोरङ प्रहरीका प्रवक्ता दाहालले उल्लेख गरे ।

हालसम्म मोरङ, झापा सुनसरी जिल्लामा जङ्गली हात्तीको आक्रमणमा परी एक साताभित्रमा चार जनाले ज्यान गुमाइ सकेका छन् । हात्तीको आहारा जङ्गलमा सकिएपछि मानव बस्तीतर्फ हात्तीले निशाना बनाउँदै आएको जिल्ला डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । उनले हात्तीले धनजनको क्षति पुर्‍याएपछि सुरक्षाको व्यवस्थापन गर्न सरकार समक्ष स्थानीयले माग गरेको उल्लेख गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?