+
+

रहेन विश्वकै ‘दुःखी’ हात्ती

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते १३:१३

काठमाडौं । वन्यजन्तु अधिकारकर्मीहरुद्वारा विश्वकै सबैभन्दा ‘दुःखी हात्ती’को उपमा दिइएको एक ४३ वर्षे हात्तीको मृत्यु भएको छ । आफ्नो झण्डै पूरै जिवनभर एक्लै खोरमा बस्न बाध्य उक्त पोथी हात्ती (ढोई) को फिलिपिन्सको राजधानीस्थित मनिला चिडियाखानामा मृत्यु भएको हो ।

मनिलाकी मेयर हनी लाकुनाले फेसबुकमा एक भिडियो पोष्ट गर्दै माली नामक उक्त हात्तीको मृत्यु भएको जानकारी गराएकी छन् । साथै उनले मालीलाई हेर्नका लागि चिडियाखानाको भ्रमण गरेको क्षण आफ्नो बाल्यकालको सबैभन्दा सुखद स्मरण रहेको पनि उल्लेख गरेकी छिन् ।

चार दशकदेखि मनिला चिडियाखानामा सर्वाधिक आकर्षणको केन्द्र रहँदै आएको माली सबैको पृय थियो । तर यो हात्तीलाई सधै एक्लै राखिएको विषय चाहिँ जनावर अधिकारकर्मीहरुको मुख्य चासोको विषय बन्दै आएको थियो ।

जनावर अधिकारकर्मी सर पाउल म्याककार्टनीले सो हात्तीलाई चिडियाखानाबाट निकालेर हात्ती अभयआरण्यबाट सार्न अधिकारीहरुलाई आग्रह गरेका थिए ।

एसियन प्रजातिको उक्त हात्तीले गत शुक्रबार आफ्नो सुँड लगातार रुपमा भित्तामा रगडिरहेको थियो । चिडियाखानाका प्रमुख पशुस्वास्थ्य चिकित्सक डाक्टर हेनरिख प्याट्रिक पेनाका अनुसार त्यो क्रियाकलाप उसको सुँडमा दुखाइ भएको लक्षण थियो ।

अन्ततः मंगलबार माली आफ्नो खोरभित्रै पल्टिएर जोडसँग स्वास फेर्न थाल्यो । पशु चिकित्सकहरुले उसलाई औषधि दिएर उपचार सुरु गरेपनि दिउँसो उसको मृत्यु भयो । पोस्टमार्टमका क्रममा मालीको शरीरका विभिन्न अंगहरुमा क्यान्सर हुनुका साथै मुटुको धमनीमा समेत रोकावट भएको पाइएको छ ।

पूरा नाम विश्व माली रहेको यो हात्ती सन् १९८१ मा श्रीलंका सरकारले तत्कालीन फिलिपिनो प्रथम महिला इमेल्डा मार्कोसलाई उपहार दिएको हो । त्यतिबेला माली ११ महिनाको थियो ।

मनिला चिडियाखानामा शिव नामको अर्को हात्ती पनि थियो । सन् १९७७ मा त्यहाँ ल्याइएको शिव सन् १९९० मा मरेको थियो । त्यसयता माली चिडियाखानामा एक्लै थियो । कोरोना कालमा मनिला चिडियाखाना बालबालिकालाई खोप लगाउने स्थल बनाइएको थियो र त्यसबेला मालीले बालबालिकालाई मनोरञ्जन दिलाएको थियो ।

जनावर अधिकार कर्मीहरुले मनिला चिडियाखानाको अवस्था जीर्ण रहेको र माली हात्तीलाई उपयुक्त चिकित्सा स्याहार प्रदान गर्न चिडियाखानाका कर्मचारीसँग आवश्यक साधन नरहेको भन्दै आलोचना गर्दै आएका थिए ।

तर चिडियाखानाका अधिकारीहरु भने मालीलाई जंगली जीवनको बारेमा केहीपनि थाहा नभएको हुँदा उसलाई राम्रोसँग चिडियाखानामा राखिएको दाबी गर्दथे ।

सर पाउलले सन् २०१२ मा तत्कालीन राष्ट्रपति बेनिग्नो अक्विनो तृतीयलाई पत्र लेख्दै चिडियाखानामा मालीको अवस्था हृदयविदारक रहेको बताउँदै उसलाई थाइल्याण्डस्थित हात्ती अभयआरण्यमा छाड्न अनुरोध गरेका थिए ।

ज्नावर अधिकारकर्मी संस्था पेटाले मालीको निधन पश्चात् लेखेको छ- विश्वको सबैभन्दा दुखी मध्येको एक हात्तीको निधन भएको छ । माली, तिम्रो आत्माले शान्ति पाओस् । तिमी अझै धेरै कुराको हकदार थियौ ।

विभिन्न पुस्ताका फिलिपिनोहरुले सोसल मिडिया साइट एक्समा चिडियाखाना भ्रमणमा मालीसँगको साक्षात्कारका आफ्ना अनुभूति र स्मरणहरु शेयर गर्दै उसको मृत्युमा दुख व्यक्त गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै मनिलाकी मेयरले मालीको मृत्यु पश्चात् अर्को हात्ती दान गर्न श्रीलंका सरकारसँग अनुरोध गरिने बताइन् ।

मालीको मृत्युपश्चात् उसलाई लामो समयदेखि सुसार गर्दै आएका सुसारेहरु रोइरहेको भन्दै उनले बताइन् ।

पत्रकार सम्मेलनमा गला अबरुद्ध पार्दै मेयरले भनिन्– हेर्दा उनी (माली हात्ती) एक्लै देखिन्थिन्, तर उनीसँग हामी थियौँ । मनिला चिडियाखाना भ्रमण गर्ने सबैलाई अभिवादन गर्ने उनी नै थिइन् । उनी हाम्रो जीवनको एक अंश थिइन् ।

– बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?