+
+

वर्षायाममा साढे १५ अर्बको विद्युत् निर्यात, बिक्रीदर प्रतियुनिट औसत ८.७७ रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते १७:४८

२२ मंसिर, काठमाडौं । २०८० सालको वर्षायाममा मात्रै १५ अर्ब २३ करोड ८० लाख रुपैयाँको विद्युत भारत निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले २८ जेठदेखि २० मंसिरसम्म भारतमा १ अर्ब ७३ करोड ७१ लाख युनिट बिजुली निर्यात गरेको हो ।

प्राधिकरणले नेपालमा खपत गरी बचत भएको विद्युत् अधिकतम ७ सय मेगावाटसम्म निर्यात गरेको थियो । निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७७ पैसा छ ।

साउनदेखि २० मंसिरसम्म मात्र प्राधिकरणले १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । यस अवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ९६ पैसा छ ।

सुख्खायाम सुरु भएसँगै खोला तथा नदीहरुमा पानीको बहाव घटेर देशभित्रका विद्युतगृहबाट उत्पादन कम हुन थालेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । तर जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु भएको छ । शुक्रबार रातिदेखि भारतमा विद्युत निर्यात बन्द हुनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले अहिले दैनिक विद्युतको अधिकतम माग १ हजार ७ सय मेगावाट हाराहारीमा रहेको र यो माग आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात सुरु गरिएको बताए ।

‘अहिले विद्युत् उत्पादन र माग करिब करिब बराबरी छ, हाम्रा अर्धजलाशययुक्त विद्युत गृहहरुमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक समयमा चलाइरहेका छौं’, घिसिङले भने ।

उनका अनुसार पिक समयमा आयात गर्दा विद्युत्को दर महंगो पर्छ भने दिउँसो र रातिको दर सस्तो पर्छ । त्यसैले देशभित्रका अर्धजलाशययुक्त आयोजनाहरुमा दिउँसो र राति पानी जम्मा गरी त्यतिबेला आयात गर्दा भारतबाट सस्तो दरमा बिजुली पाइने घिसिङले बताए ।

उनले चैत र वैशाखमा विद्युत आयातको परिणाम केही बढेपनि यसवर्ष आयातभन्दा निर्यात बढी भई खूद निर्यातकर्ता बन्ने अवस्था प्रक्षेपण गरिएको बताए ।

‘आगामी वैशाखको दोस्रो हप्ताबाट विद्युत् निर्यात पुनः सुरु हुने छ, यस वर्ष करिब ९०० मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिंदैछ, त्यसैले अर्को वर्ष २५/३० अर्ब रुपैयाँको विद्युत् निर्यात हुने छ’, घिसिङले थपे ।

उनका अनुसार दुई देशबीचको प्रसारण सञ्जाल सुधारका लागि ठूलो क्षमताका लाइनहरु बनिरहेका छन् भने देशभित्र पनि जलविद्युत् आयोजनाहरुको निर्माण भइरहेका छन् त्यसैले आगामी पाँच वर्षभित्रमा वार्षिक रुपमा करिब १ खर्ब रुपैयाँको विद्युत् निर्यात हुने प्राधिकरणको अनुमान छ ।

प्राधिकरणले जेठमा २१ करोड ६० लाख, असारमा १ अर्ब ७८ करोड ५३ लाख, साउनमा २ अर्ब १४ करोड ७६ लाख र भदौमा ३ अर्ब ४७ करोड ८५ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । यसैगरी, असोजमा ४ अर्ब १७ करोड ७७ लाख, कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख र २० मंसिरसम्ममा ७३ करोड ५९ लाख रुपैयाँ विद्युत् निर्यातबाट आर्जन भएको छ ।

प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपिसी विद्युत व्यापार निगम लि–एनभीभीएन लाई बिक्री गरिरहेको थियो । एनभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरेको थियो ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५४७ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६५७ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?