+
+

विपिन जोशीका बुबा भन्छन् : प्रधानमन्त्रीले रिहाइको प्रयासमै छौं भन्नुभयो, कहिलेसम्म पो हो ?

‘प्रधानमन्त्रीज्यूलाई भेटेर छोराको अवस्था पत्ता लगाइदिनुपर्‍यो भनेर आग्रह गरेका छौँ । उहाँले हामी चाँडो रिहाइका लागि प्रयासमै छौं भन्नुभयो’, विपिनका बुवा महानन्द जोशीले भने, ‘तर कहिलेसम्म हुने हो त्यो थाहा छैन । हाम्रो सम्पर्कमा आएपछि मात्र विश्वस्त हुन सकिन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते १८:१४

२२ मंसिर, धनगढी । इजरायल-हमास युद्धका क्रममा बेपत्ता कञ्चनपुरका विपिन जोशीका आमाबाबुले उनको रिहाइका लागि पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

शुक्रबार सुदूरपश्चिम आएका प्रधानमन्त्री प्रचण्डलाई धनगढी विमानस्थलमा भेट गर्दै विपिनका आमाबाबुले रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यूलाई भेटेर छोराको अवस्था पत्ता लगाइदिनुपर्‍यो भनेर आग्रह गरेका छौँ । उहाँले हामी चाँडो रिहाइका लागि प्रयासमै छौं भन्नुभयो’, विपिनका बुवा महानन्द जोशीले भने, ‘तर कहिलेसम्म हुने हो त्यो थाहा छैन । हाम्रो सम्पर्कमा आएपछि मात्र विश्वस्त हुन सकिन्छ ।’

जोशीको परिवारसँग प्रधानमन्त्रीले परराष्ट्र मन्त्री एनपी साउद शनिबार कतार जान लागेको जानकारी गराएका छन् ।

हमासले इजरायलमा आक्रमण गरेकै दिनदेखि बेपत्ता भएका जोशीको अवस्था अहिलेसम्म अज्ञात रहेको छ । इजरायल सरकारले जोशी हमासको नियन्त्रणमा रहेको बताएको छ । जोशीका आमाबुवा झण्डै दुई महिनादेखि उनको रिहाइको माग गर्दै आएका छन् ।

‘प्रधानमन्त्रीले परराष्ट्रमन्त्री पनि कतार जाँदै हुनुहुन्छ भन्नुभयो । विपिनकै लागि हो कि होइन थाहा भएन’, जोशीले भने, ‘एकपटक सम्पर्कमा आए छोरा फर्किहाल्नेथियो ।’ प्रधानमन्त्री आउने खबर पाएपछि शुक्रबार बिहान महेन्द्रनगरदेखि धनगढी आएका विपिनका आमाबुवा उनलाई भेटेर फर्किसकेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का जोशी सम्पर्कविहीन भएका थिए ।

इजरायली सेना र तेलअबिवस्थित नेपाली राजदूतावासले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि उनको अवस्था कस्तो छ भन्ने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?