+
+

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा

रासस रासस
२०८० मंसिर २४ गते १३:२४

२४ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् ।

गत आर्थिक वर्ष करिब ११ लाख किलो गोलभेँडा उत्पादन गरेर बिक्री गरेका किसानले यस वर्ष बजार नपाउँदा घाटा व्यहोर्नुका साथै बारीमै कुहिन थालेका वडाअध्यक्ष उद्धव नेपालले जानकारी दिए ।

उनका अनुसार तरकारी र दूधबाट आत्मनिर्भर हुँदा हौसिएका किसान गेलभेँडाले बजार नपाउँदा भने निकै निरास भएका छन् ।

गत वर्ष तीन लाख सत्तरी हजारको गोलभेँडा बिक्री गरेको जनाउँदै किसान रेशमबहादुर आलेमगरले यस वर्ष रू एक लाखको पनि बिक्री नभएको बताए ।

‘बीउ, गोडमेल, औषधिलगायतमा करिब रू तीन लाख जति खर्च भएको छ’, उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष बढी खर्च भएको हो । करिब रू छ लाख बराबरको उत्पादन भए पनि लगानी उठाउन समस्या छ ।’

इन्द्रबहादुर पुरीले गतवर्ष तीन सय क्रेट बेच्दा रू दुई लाख १० हजार नाफा भएकामा यस वर्ष पाँच सय क्रेट बेच्दा नाफा हुन नसकेको गुनासो गरे । उत्पादन बढी भए पनि बजार मूल्य कम हुँदा लगानी उठाउन समस्या भएको उनको भनाइ थियो ।

गतवर्ष रू दुई लाख २३ हजारको गोलभेँडा बेच्नुभएका खिनकुमारी बस्नेतले यस  वर्ष झण्डै रू एक लाख घाटा व्योहर्नुपरेको सुए । वैदेशिक रोजगारीबाट फर्किएर  गोलभेँडा खेतीमा लागेका राजेन्द्र बस्नेतले यसवर्ष ज्याला पनि नउठ्ने जानकारी दिए ।

नेत्रज्योति कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर नेपालले तत्काल नगरपालिकासँग समन्वय गरेर  गोलभेँडाको सश, अचार, काउली तथा सागको गुन्द्रुक बनाउन लागेको जानकारी दिए ।

उनले यसका लागि घरेलु तथा साना उद्योग कार्यालयबाट तालिमको व्यवस्था गर्न लागिएको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?