+
+

प्याज लुकाएर मनपरी मूल्य

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० मंसिर २४ गते १८:४५
फाइल तस्वीर

२४ मंसिर, काठमाडौं । व्यवसायीहरुको नियोजित हड्ताल र भारतको प्रतिबन्धका कारण बजारमा प्याजको हाहाकार भएको छ । भारतले शनिबारबाट लागू हुनेगरी प्याजको निर्यातमा रोक लगाएको छ । तर त्यसअघि नै मंसिर १९ गतेदेखि नेपालमा प्याजको कारोबार गर्ने व्यापारीहरुले प्याजको कारोबार ठप्प बनाएका थिए ।

व्यापारीहरुको प्याज बिक्री हड्तालकै बीच भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा अहिले प्याजको कालोबजारी सुरु भएको छ । आयातकर्ताहरुले सीमित पसलमा मात्रै उपलब्ध गराएको प्याजको मूल्य किलोमा ६० रुपैयाँसम्म बढेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

मंसिर १८ गते कालीमाटी तरकारी बजारमा प्याजको प्रतिकिलो थोक मूल्य ९७ रुपैयाँ थियो । तर १९ गतेबाट व्यापारीले आलु र प्याजको सरकारी अभिलेखमा हुने कारोबार नै रोकिदिए । त्यसलगत्तै बढ्न थालेको प्याजको मूल्य अहिले मनपरी तोकिएको छ । छिटफुट रुपमा उपलब्ध भएको प्याजको मूल्य १७० रुपैयाँसम्म प्रतिकिलो मूल्य तिरेको उपभोक्ताहरुको गुनासो छ ।

कालीमाटी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार बजारमा शनिबार बेलुकी जम्मा एक गाडी हाराहारी प्याज आएको थियो । त्यो एकैदिनमा हारालुछ भएको समितिले जनाएको छ ।

यता प्याज व्यापारीहरुको संस्था नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघले पनि शनिबार बेलुकी जम्मा एक गाडी प्याज आएको र त्यसको बिक्री सकिएको जनाएको छ । संघका महासचिव प्रकाश गजुरेलले बजारमा प्याज नभएको बताए ।

‘यसपटक हड्ताल गरेर बर्बाद गरियो,’ उनले भने, ‘हड्तालका कारण आयात गर्न पनि पाइएन यही बेला भारतले प्रतिबन्ध गरिदियो ।’ आफूहरुले चाहेर पनि बजारमा प्याज आयात गर्न नसकेको भन्दै उनले बजारमा प्याजको मौज्दात पनि नरहेको दाबी गरे । संघका अनुसार शनिबार राति आएको प्याज प्रतिकिलो १४० रुपैयाँ माथिका खरिद बिक्री गरिएको थियो ।

भन्सार भन्छ प्याज आयातमा ड्ताल थिएन

व्यापारीहरुले बजारमा प्याज नभएको बताइरहँदा भन्सारले भने त्यसको खण्डन गरेको छ । काठमाडौंमा व्यापारीहरुको १९ मंसिरदेखि आलु र प्याजको आयात र कारोबारमा हड्ताल गरेको भनी दाबी गरिरहँदा नेपालका प्रमुख भन्सार बिन्दुहरुबाट भने प्याजको आयात निर्वाध भइरहेको भन्सार कार्यालयहरुले जनाएका छन् ।

नेपालमा धेरै मात्रामा प्याज भित्रिने पूर्वको काँकडभिट्टा र रानी भन्सार विराटनगरबाट शनिबार बेलुकीसम्म प्याज आयात भएको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ज्ञानेन्द्रराज ढकाल र मेची भन्सार काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले व्यावसायीले हड्ताल गरेको भनेको समयमा निर्वाध प्याज नेपाल भित्रिएको बताए । ढकालका अनुसार विराटनगरबाट २३ मंसिरसम्म ३५३ मेट्रिक टन प्यान भित्रिएको छ ।

यता प्याजको आयात हुने अर्को प्रमुख नाका भैरहवाले पनि नेपालमा शनिबारसम्म प्याज आयात भएको जनाएको छ । भैरहवा भन्सारका प्रमुख नारद गौतमले मंसिर १ देखि २३ गतेसम्म ३ हजार ६५२ मेट्रिक टन प्याज नेपाल भित्रिएको छ । जसमध्ये २०३ मेट्रिक टन प्याज २० गतेयताको तीन दिनमा भित्रिएको छ ।

यस्तै, व्यवसायीले हड्ताल गरेको भनेको समय २० देखि २३ मंसिरसम्म थप प्याजको भन्सार पास भएको भन्सार कार्यालयले जनाएको छ ।

यता बजार अनुगमनको प्रमुख कार्यकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भने बजारमा प्याजको अभाव र मूल्य सन्दर्भमा अनुगमन गरिरहेको दाबी गरेको छ । काठमाडौंका ठूला बजारहरुमा भौतिक रुपमा प्याज नदेखिएको विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताए ।

बजारको अहिलेको अवस्थाबारे सम्बन्धित व्यापारीहरुसँग सोधखोजको काम भइरहेको र प्याज आयात सहजीकरणका लागि भारतसँग आग्रहका लागि मन्त्रालयबाट काम अघि बढेको महानिर्देशक चिलुवालले बताए ।

भन्सारबाट प्याज आइरहेको सन्दर्भमा भने उनले अन्तरसरकारी निकाय समन्वय बढाएर यसबारे छानबिन गरिने बताए ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?