+
+

जब सैलुनमा तालुखुइले र दाह्री नभएका मानिसहरुको भिड लाग्यो…

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते ९:४२

काठमाडौं । दुनियाँमा आपराधिक कार्यहरुको आडमा धेरै खालका गोरखधन्दा चलिरहेका हुन्छन् । कहीँ मसाज पार्लरको नामका यौनधन्दा चलिरहेको हुन्छ भने कहीँ सामान्य पसलहरुमा समेत प्रतिबन्धित सामानहरु बिक्री गरिन्छ । हालै इटालीको एक सहरमा एउटा यस्तै ठूलो गिरोह पक्राउ परेको छ ।

मान्छेहरु आफ्नो कपाल तथा दाह्री कटाउन तथा रङ लगाउनका लागि नाईकोमा जान्छन् । तर एउटा ठूलो मिसनमा जुटेको काराबेनियरी (इटालियन पुलिस) को एक टिमले जब एउटा अनौठो खालको नाई दुकान अर्थात् बार्बर सपमाथि निगरानी सुरु गर्यो तब सुरुमा त ऊ नै अलमलमा पर्यो ।

उक्त नाई पसलमा ठूलो संख्यामा यस्ता मानिसहरु गइरहेका हुन्थे जसको न त टाउकोमा कपाल थियो न त अनुहारमा दाह्री नै । जब कपाल कटाउनु नै छैन र दाह्री मिलाउनु पनि छैन भने मानिसहरु किन नाईकोमा छिरिरहेका छन् त ? भन्ने प्रश्न उब्जियो । त्यसमा पुलिसले शंका गरेपछि सो नाई पसलमाथि छानबिन सुरु भयो ।

अनुसन्धानका क्रममा उक्त सैलुनमा दाह्री कपाल कटाउन नभई मानिसहरु लागुऔषध किन्नका लागि जाने गरेको खुलासा भयो । सैलुन सञ्चालक लागुऔषध कारोबारी रहेछन् । ५५ वर्षीय ती नाईको घरमा छापा मार्दा गाँजा लगायतका लागुऔषध बरामद भयो भने नाई पसलमा कोकिन लगायतका लागुऔषध भेटिए ।

नाई पसलको आवरणमा लागुऔषधको कारोकार गर्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?