+

एनएसएलमा आधा खेल सकिँदा कुन टोलीको अवस्था कस्तो ?

२०८० मंसिर  २५ गते १५:१६ २०८० मंसिर २५ गते १५:१६
एनएसएलमा आधा खेल सकिँदा कुन टोलीको अवस्था कस्तो ?

२५ मंसिर, काठमाडौं । नेपाली फुटबलको विकासमा सहयोग गर्ने लक्ष्यसहित भइरहेको नेपाल सुपर लिग एनएसएल दोस्रो सिजनको मध्यतिर आइपुग्दा फुटबलको माहोल तातिरहेको छ ।

९ टोली सहभागी लिग सिंगल राउण्ड रोविनका आधारमा सञ्चालन भइरहेको छ र लिगको अन्त्यमा फाइनल र प्लेअफका चार खेल हुनेछन् ।

यसरी ४० खेल हुने लिगमा आधा अर्धात २० खेल सकिएका छन् । सहभागी ९ मध्ये चार टोलीले ५-५ खेल खेलिसकेका छन् बाँकीले समान चार खेल खेलेका छन् ।

आधा  खेल सकिँदा शीर्ष चारमा रहेर प्लेअफमा कुन टोली पुग्ला भन्ने अड्कलबाजी सुरु हुन थालेको छ ।

अहिलेसम्म ललितपुर सिटी एफसी धनगढी एफसी र पोखरा थण्डर्स अपराजित रहँदै शीर्ष तीनमा दुई नयाँ टोली झापा एफसी र वीरगञ्ज युनाइटेड जितिविहीन हुँदै अन्तिम दुईमा छन् ।

ललितपुर धनगढी र पोखरा प्लेअफका लागि प्रमुख दाबेदारको रुपमा छन् । बुटवल लुम्बिनी एफसी चौथो स्थानमा छ । त्यसपछि साविक विजेता काठमाडौं रेजर्स, एफसी चितवन र स्पोर्टिङ इलाम एफसी मिड टेबलमा छन् ।

कोरोना महामारीका कारण पहिलो सिजन बिना दर्शक आयोजना भएको एनएसएलमा यस पटक दर्शकले रंगशालमै उपस्थित भएर खेल हेर्न पाएका छन् । तर अपेक्षा गरिए अनुसारको दर्शक रंगशालासम्म पुगेका छैनन् ।

यस्तै यस पटक विदेशी खेलाडीको संख्या पनि बढाइएको छ । हरेक टिमले ६ विदेशी अनुबन्ध गर्न पाउने र त्यसमा पनि ५ विदेशी एकै पटक मैदान उतार्न पाउने प्रावधान छ । जसले गर्दा धेरै खेलको नतिजा विदेशी खेलाडीकै प्रदर्शनमा निर्भर भएको छ ।

गोल गर्ने र गोल बचाउने तथ्याङ्कले पनि यसलाई पुष्टी गर्छ । अहिलेसम्म सर्वाधिक तीन गोल गर्ने बुटवल लुम्बिनीका स्टेफन विनोङ क्यामरुनमा खेलाडी हुन् ।

यस्तै दुई-दुई गोल गर्नेमा पाँच खेलाडीमा तीन विदेशी र दुई नेपाली छन् ।

ललितपुरबाट फ्रान्सका पापा इबोउ केबे, धनगढीबाट खेल्ने नाइजेरियाका ओलावाले आफिज र पोखराबाट खेल्ने मोसेस ग्याबाहले २ गोल गरेका छन् ।

नेपाली खेलाडीतर्फ बुटवलका कप्तान एरिक विष्ट र राजीव लोप्चनले समान २ गोल गरेका छन् । काठमाडौं रेजर्स राजिवले दुवै गोल सब्सिच्युट खेलाडीको रुपमा खेल्दै गरेका छन् ।

यस्तै ललितपुरका फ्रेन्च गोलकिपर जेफ्री बाल्टुस र पवोखराका क्यामरुनेली किपर प्रिसोले सर्वाधिक ३-३ खेलमा क्लिनसिट (गोल नखाएको) राखेका छन् ।

कसको अवस्था कस्तो?

ललितपुर सिटी एफसी

पेपरमा बलियो देखिएको ललितपुर सिटी एफसी उपाधि दाबेदार टिम मध्ये एक हो । ५ खेलबाट ९ अंक जोडेको ललितपुर हाल शीर्ष स्थानमा छ । ५ खेल खेलेको ललितपुर अपराजित छ । जसमा २ जित र ३ बराबरीको नतिजा निकालेको छ ।

पहिलो खेलमै बुटवल लुम्बिनीलाई २-० ले हराएको सानदार सुरुवात गरेको ललितपुरले त्यसपछि लगातार तीन बराबरी खेलेको थियो ।

पोखरा थण्डर्स र धनगढी एफसी विरुद्ध गोल रहित बराबरी खेलेको ललितपुरले त्यसपछि वीरगञ्ज युनाइटेडसँग २-२ को बराबरी खेलेको थियो । तर पछिल्लो खेलमा भने एफसी चितवनलाई ३-१ ले हराउँदै ललितपुरले आफू किन उपाधिको दाबेदार हो भनेर देखाएको छ ।

ललितपुरले ५ खेलमा ७ गोल गर्दा ३ गोल बेहोरेको छ ।

धनगढी एफसी

साविक उपविजेता धनगढी एफसी पनि यस सिजन उपाधि दाबेदारको रुपमा देखिएको अर्को टिम हो । चार खेल खेल्दा अपराजित रहेको धनगढी ८ अंकसहित दोस्रो स्थानमा छ । पोखरा थण्डर्सकै समान अंक भए पनि गोल अन्तरमा आधारमा धनगढी अघि छ ।

धनगढीले ४ खेल खेल्दा २ जित र २ बराबरी नतिजा निकालेको छ । सुरुवाती दुई खेलमा वीरगञ्ज युनाइटेडलाई २-१ र बुटवल लुम्बिनीलाई १-० ले हराएर सानदार सुरुवात गरेको धनगढीले त्यसपछि लगातार दुई बराबरी खेल्यो ।

ललितपुर सिटी विरुद्ध गोलरहित बराबरी खेलेको धनगढीले पछिल्लो खेलमा स्पोर्टिङ इलाम विरुद्ध २-२ को बराबरी खेलेको थियो ।

इलाम विरुद्ध पहिलो हाफमै दुई गोलले पछि परेको स्थिति उल्टाउदै धनगढीले उत्कृष्ट पुनरागमन गरेको थियो ।

धनगढीले चार खेलमा ५ गोल गरेको छ भने ३ गोल खाएको छ ।

पोखरा थण्डर्स

यस सिजन अपराजित तीन टिममध्ये पोखरा थण्डर्स तेस्रो टोली हो । पोखराले पनि ४ खेल खेल्दा २ जित र २ बराबरी नतिजा निकालेको छ ।

पहिलो खेलमै चितवनलाई १-० ले पराजित गरेको पोखराले त्यसपछि ललितपुर सिटी विरुद्ध गोलरहित बराबरी खेलेको थियो भने झापा एफसीसँग १-१ को बराबरीमा रोकिएको थियो । तर पछिल्लो खेलमा स्पोर्टिङ इलामलाई १-० ले हराएर पोखरा फेरि विनिङ ट्रयाकमा फर्किसकेको छ ।

पोखरा यस सिजन थोरै गोल खाने टिम हो । उसका गोलकिपर प्रिसोले चार मध्ये तीन खेलमा क्लिन सिट राख्दा एक खेलमा जम्मा एक गोल मात्र बेहोरेका छन् ।

पोखरा आफैं पनि थोरै गोल गर्ने टिम मध्येमा छ । उसले विपक्षीको पोष्टमा चार खेलमा जम्मा ३ गोल गरेको छ ।

बुटवल लुम्बिनी एफसी

एरिक विष्टको कप्तानीमा रहेको बुटवल लुम्बिनीले खराब सुरुवात गरे पनि पछिल्लो खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै लयमा देखिएको छ । उसले ५ खेल खेल्दा २ जित १ बराबरी र २ हारको नतिजासहित ७ अंक जोडेर चौथो स्थानमा छ ।

पहिलो खेलमा ललितपुर विरुद्ध २-० र दोस्रो खेलमा धनगढी विरुद्ध १-० ले पराजित भएको बुटवललले सुरुवाती दुई हारपछि लय समातेको छ ।

त्यसपछि बुटवलले स्पोर्टिङ इलामलाई २-१ ले हराएर पहिलो जित निकालेको थियो । चितवनसँग १-१ को बराबरी खेलेको बुटवलले पछिल्लो खेलमा साविक विजेता काठमाडौं रेजर्सलाई २-१ ले पराजित गरेको छ ।

गोल पनि गर्ने र गोल पनि खाने टिमको रुपमा देखिएको बुटवलले ५ गोल गर्दा ६ गोल खाएको छ ।

काठमाडौं रेजर्स

पहिलो सिजनको च्याम्पियन टिम हो काठमाडौं रेजर्ज । दशरथ रंगशालमा एनएसएल भइरहेकोले काठमाडौंलाई घरेलु टिमको रुपमा समेत हेरिन्छ । तर यस सिजन काठमाडौंले त्यो च्याम्पियन छनक देखाउन सकेको छैन ।

पहिलो खेलमा स्पोर्टिङ इलामलाई १-० ले हराएर जितसहित सुरुवात गरेको काठमाडौंले त्यसपछि भने लगातार तीन खेलमा जितविहीन छ ।

चार खेल खेल्दा १ जित, २ बराबरी र १ हारको नतिजाहसित काठमाडौं पाँचौ स्थानमा झरेको छ ।

पहिलो खेल जितेपछि चितवन विरुद्ध १-१ र झापा विरुद्ध गोलरहित बराबरी खेलेको काठमाडौंको अपराजित यात्रा बुटवल लुम्बिनीले टुङ्ग्याएको थियो । बुटवलले काठमाडौंलाई २-१ ले पराजित गरेको हो ।

काठमाडौंले अहिलेसम्म ३ गोल गरेको छ उति नै संख्यामा गोल बेहोरेको छ ।

एफसी चितवन

एफसी चितवन पहिलो सिजन ६ खेलमा जितविहीन थियो । यस सिजन पनि तेस्रो खेलमा पुगेर मात्र जित हात पारेको चितवन ५ खेलबाट ५ अंकसहित छैटौं स्थानमा छ ।

चितवनले जम्मा १ खेल जित्दा २ खेल बराबरी खेलेको छ भने २ खेलमा पराजित भएको छ ।

पहिलो खेलमैँ पोखरा विरुद्ध १-० ले पराजित भएको चितवनले त्यसपछि साविक विजेता काठमाडौं विरुद्ध १-१ को बराबरी खेलेको थियो । सिजनको तेस्रो तथा एनएसएलमा समग्रमा नवौँ खेलमा आएर पहिलो जित निकाल्ने क्रममा चितवनले वीरगंज युनाइटेडलाई २-१ ले हरायो ।

त्यसपछि भने चितवन लगातार दुई खेलमा जितविहीन छ । बुटवल विरुद्ध १-१ को बराबरी खेलेको चितवन पछिल्लो खेलमा ललितपुर विरुद्ध ३-१ ले पराजित भएको थियो । चितवन यस सिजन एकै खेलमा धेरै गोल खाने टिम समेत बनेको छ ।

चितवनले ५ गोल गर्दा यस सिजन सबैभन्दा धेरै ७ गोल खाएको छ ।

स्पोर्टिङ इलाम डे मेची एफसी

यस सिजन थपिएका तीन नयाँ टोलीमध्ये स्पोर्टिङ इलाम एक हो । इलाम ५ खेल खेलिसक्दा ४ अंक जोडेर सातौं स्थानमा छ ।

मैदानमा राम्रो प्रदर्शन गरे पनि गोल गर्न समस्या देखिँदा इलामले सबैभन्दा धेरै तीन खेल हारेको छ । उसले ५ खेल खेल्दा जम्मा १ खेल जितेको छ भने १ खेल बराबरी खेलेको छ ।

डेब्यू सिजनको उद्घाटन खेलमै साविक विजेता काठमाडौं रेजर्ससँग १-० ले पराजित भएको इलामले अर्को नयाँ टोली झापा एफसीलाई १-० ले हराएर पहिलो जित हात पारेको थियो ।

त्यसपछि भने इलाम बुटवल लुम्बिनीसँग २-१ र पोखरा थण्डर्ससँग १-० ले पराजित भयो । पछिल्लो खेलमा धनगढी एफसी विरुद्ध दुई गोलको अग्रता लिए पनि जोगाउन नसक्दा इलामले २-२ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

इलामले अहिलेसम्म ४ गोल गर्दा ६ गोल खाएको छ ।

झापा एफसी

यस सिजन थपिएको अर्को नयाँ टोली हो झापा । र सुरुवाती चार खेलमा झापा जितविहीन छ । झापाले ४ खेल खेल्दा ३ बराबरी खेलेको छ भने १ हार बेहोरेको छ । झापा ३ अंकसहित आठौं स्थानमा छ ।

एनएसएलको डेब्यु खेलमै इलामसँग १-० ले पराजित भएको झापाले त्यसयता लगातार तीन बराबरी खेलेको छ ।

राष्ट्रिय टिमका स्टार अन्जन विष्ट कप्तान तथा मार्की रहेको झापाले विपक्षीको पोष्टमा गोल गर्न संघर्ष गरिरहेको छ । चोटका कारण अन्जनले पछिल्लो दुई खेल बेन्चमै बसेर हेरेका थिए ।

पोखरा विरुद्ध १-१ को बराबरी खेलेका झापाले काठमाडौं र वीरगंज विरुद्ध गोलरहित बराबरी खेलेको थियो ।

सबैभन्दा कम गोल गर्ने टिम झापाले विपक्षीको पोष्टमा जम्मा १ गोल गरेको छ । यस्तै झापाले जम्मा २ गोल मात्र बेहोरेको छ ।

वीरगञ्ज युनाइटेड

यस सिजन थपिएको अर्को नयाँ टोली हो वीरगञ्ज युनाइटेड । झापा जस्तै वीरगञ्ज पनि चार खेल खेल्दा जितविहीन छ । उसले चार खेलमा दुई बराबरी गरेको छ भने २ खेलमा हार बेहोरेको छ ।

पहिलो खेलमै धनगढी एफसीसँग २-१ ले पराजित भएको वीरगञ्ज दोस्रो खेलमा चितवन विरुद्ध पनि सोही नतिजामा पराजित भएको थियो ।

त्यसपछि वीरगञ्जले हाई स्कोरिङ खेलमा ललितपुर सिटीसँग २-२ को बराबरी खेल्दै पहिलो एक अंक जोडेको थियो । वीरगञ्जले पछिल्लो खेलमा झापासँग गोलरहित बराबरी खेल्दै लगातार दोस्रो खेलमा अंक बाँड्यो । आधा खेल सकिँदा जितविहीन रहेको वीरगञ्ज सबैभन्दा दबाबमा छ र प्लेअफ पुग्ने सम्भावना कठिन छ ।

वीरगञ्जले अहिलेसम्म ४ गोल गरेको छ भने ६ गोल खाएको छ ।

एनएसएल एफसी चितवन काठमाडौं रेजर्स धनगढी एफसी पोखरा थन्डर्स बुटवल लुम्बिनी एफसी ललितपुर एफसी वीरगञ्ज युनाइटेड स्पोर्टिङ इलाम

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय