+
+

सन् २०२३ मा गुगलमा सबैभन्दा धेरै के खोजियो ?

एजेन्सी एजेन्सी
२०८० मंसिर २७ गते १२:०४

यदि गुगलको वार्षिक समीक्षालाई आधार मान्ने हो भने सन् २०२३ ठुला हलिउड फिल्म तथा सेलिब्रेटीहरुको निधनको वर्ष रह्यो ।

बार्बी र ओपेनहाइमर गुगलमा यो वर्ष सर्वाधिक खोजिएका फिल्म बनेका छन् ।

त्यस्तै केलियन एम्बाप्पे र ह्यारी केन सर्वाधिक गुगल सर्च गरिएका खेलाडी बनेका छन् भने शाकिरा गुगलमा सबैभन्दा धेरै खोजिएकी संगीतकर्मी बनेकी छिन् ।

गुगल खोजीमा सर्वाधिक गरिएका शब्दावलीहरुको सूची अनुसार फिल्म हलमा जस्तै गुगल सर्चमा पनि हलिउड फिल्म बार्बी र ओपनहाइमरले कीर्तिमान कायम गरेका हुन् ।

बार्बीले रिलिज भएको पहिलो हप्तामै तीन करोड पाउण्ड रकम कमाउँदै सन् २०१९ यताकै सर्वाधिक उत्कृष्ट सुरुवात गर्ने फिल्म बनेको थियो ।

त्यस्तै सन् २०२३ मा गुगलमा सर्वाधिक सर्च गरिएकी सेलिब्रेटी शाकिरा यो वर्ष दुई पटक समाचारको शीर्षकमा छाइन् । गत जनवरीमा आफ्नो पूर्व पार्टनर जेरार्ड पिकेका बारेमा गीत निकालेर चर्चा कमाएकी शाकिराको उक्त गीतले ल्याटिन अमेरिकामा युट्युबमा रेकर्ड ब्रेक गरेको थियो ।

त्यस्तै वर्षको दोस्रो अर्धवार्षिकीभर नै उनी स्पेनमा करछली गरेको विषयमा चर्चामा रहिन्। उक्त मुद्दामा उनले अदालतको आदेश बमोजिम ७५ लाख युरो जरिवाना तिरेकी थिइन् ।

यस्तै हलिउड फिल्महरु बार्बी तथा ओपनहाइमरको लोकप्रियताले गर्दा यो वर्ष बार्बेनहाइमर नामक नयाँ शब्दको सिर्जना भयो । यी दुई फिल्मले अहिले गोल्डेन ग्लोब अवार्डको मनोनयनमा आधिपत्य जमाएका छन् ।

शाकिरा तथा दुई हलिउड फिल्मका बारेमा मात्रै होइन विश्वका धेरै गुगल प्रयोगकर्ताले यो वर्ष निधन भएका सेलिब्रेटीहरुको बारेमा पनि मनग्गे सर्च गरेका छन् । अक्टोबरमा निधन भएका हलिउड स्टार म्याथ्यू पेरी सर्वाधिक खोजी गरिएका अभिनेता बनेका छन् ।

फ्रेन्च फुटबल स्टार केलियन एम्बाप्पे यो वर्ष गुगलमा सर्वाधिक खोजी गरिएका खेलाडिमा परेका छन् । त्यस्तै महंगो मूल्यमा जर्मन क्लब बायर्न म्युनिखमा पुगेका इंगल्याण्डका फुटबलर ह्यारी केन पनि सर्वाधिक गुगल सर्च गरिएका खेलाडिहरुको सूचीमा परेका छन् ।

बीबीसीबाट

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?