+
+

राप्रपाको चाहना सर्वसम्मत सभामुख, एमालेको आफ्नै दाबी

हरि अधिकारी हरि अधिकारी
२०८० मंसिर २७ गते १८:०८

२७ मंसिर, विराटनगर । कोशीमा रिक्त सभामुख पद सत्तारुढ गठबन्धनले राप्रपालाई दिन चाहेको छ, तर राप्रपाले भने सर्वसम्मत भए सभामुख पद स्वीकार गर्ने बताएको छ ।

१६ साउनमा तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । सभामुख गौतमको राजीनामापछि प्रदेशसभाको कामकाज उपसभामुख सृजना दनुवारले गरिरहेकी छन् ।

मुख्यमन्त्री केदार कार्की सभामुख चयन गरेर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । सभामुखका लागि मुख्यमन्त्री कार्कीसँगको अनौपचारिक छलफलमा राप्रपाले आफूहरुले दिएको नाममा सर्वसम्मति हुनुपर्ने धारणा राखेको छ ।

राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सर्वसम्मति भए सहज रुपमा सभामुखको जिम्मेवारी स्वीकार गर्ने बताए । ९३ सदस्यीय प्रदेशसभामा राप्रपासँग जम्मा ६ सिट मात्र छ । सत्तारुढ गठबन्धनसँग प्रदेशसभाका लागि आवश्यक बहुमत ४७ संख्या छ, तर उसले आफैंले सभामुख लिएमा सरकारलाई समर्थन गर्ने प्रदेशसभा सदस्यको संख्या ४६ मा झर्नेछ । त्यसैले सत्तारुढ गठबन्धनले राप्रपालाई सभामुख पद लिन आग्रह गरेको हो ।

राप्रपा नेता सिटौलाले निर्वाचन हुने अवस्थामा सभामुख पद स्वीकार गर्ने वा नगर्नेबारे पार्टीले निर्णय गर्न बाँकी नै रहेको बताए ।

सत्तारुढ गठबन्धनले यसअघि नै राप्रपालाई सभामुख दिने सहमति गरिसकेको थियो । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले राप्रपालाई सभामुख दिने निर्णयमा गठबन्धन यथावत् रहेको बताए । ‘राप्रपालाई सभामुख दिने निर्णय सरकार गठनको तयारीका क्रममा भएको थियो, त्यसमा गठबन्धन यथावत् छ’ उनले भने,‘एमालेले उम्मेदवार उठाएन भने सर्वसम्मत हुन्छ ।’

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी सभामुखमा एमालेको दाबी रहेको बताउँछन् । प्रदेशको ठूलो र प्रतिपक्षमा बसेको दल भएका कारण सभामुखमा स्वाभाविक दाबी रहेको उनले बताए ।

‘एमाले प्रतिपक्षमा छ, प्रतिपक्षमा भएको ठूलो दल भएका कारण दाबी स्वाभाविक हो’ उनले भने, ‘राप्रपा पनि प्रतिपक्षमा छ, उसलाई पनि संसदीय भूमिका दिनुपर्छ ।’

उनले राप्रपालाई उपसभामुख पद दिनुपर्ने बताए । राप्रपा नेता सिटौला भने उपसभामुखमा चासो नरहेको बताउँछन् ।

कोशी प्रदेशसभाको बैठक ४ पुसमा बस्दैछ । बैठक सुरु भएपछि सभामुख छनोटको प्रक्रिया अघि बढाउने सरकारको तयारी छ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुखमा एमालेको चासो रहे पनि निर्वाचन सुरु भएपछि निर्णय गर्ने बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?