+
+

जलवायु परिवर्तनसम्बन्धी खोज-अनुसन्धान गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

रासस रासस
२०८० मंसिर २७ गते १८:३६

२७ मंसिर, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी थप खोज-अनुसन्धान गर्न काठमाडौं विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित विश्वविद्यालयको २९औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले स्थानीय समुदायमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न, अनुकूलनका स्थानीय तौरतरिका र राहतका उपाय खोजी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्राज्ञिक अनुसन्धान र प्रकाशन गर्न प्राध्यापक तथा अध्येतालाई अनुरोध गरे ।

विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको स्थापना गरेर प्रविधिलाई वैज्ञानिक अनुसन्धान तथा मानव जीवनको उत्थानका लागि प्रयोग गर्न गरिरहेको प्रयत्न निकै सराहनीय रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

‘यसबाट ‘आर्टिफिसियल इन्टेलिजेन्सदेखि जलवायु परिवर्तन रोकथामका उपाय, नेपालको कृषि सुधारका लागि आवश्यक ज्ञान, दिगो विकासका नयाँ आयामका लागि बाटो खुलेको छ’,

उनले भने, ‘नेपालको दिगो विकासमा टेवा पुग्ने किसिमको थप अनुसन्धान गरी यस केन्द्रलाई वैज्ञानिक मात्र नभएर आम मानिसको हितका लागि प्रयोग गर्न अनुरोध गर्दछु ।’

काठमाडौँ विश्वविद्यालयको प्रारम्भ विज्ञान तथा प्रविधिसम्बन्धी विश्वविद्यालयका रूपमा भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पछिल्ला दशकमा विश्वविद्यालयले विस्तार गरेको प्राज्ञिक दायराबाट नेपालको बहुआयामिक विकासमा योगदान मिलेको बताए ।

विश्वविद्यालयले एक हजार शय्याको आफ्नै शिक्षण अस्पताल निर्माण गरी चिकित्सा शिक्षा र अभ्यासलाई सँगसँगै लैजान खोजेकामा आफू अत्यन्त खुसी भएको बताउँदै उनले विश्वविद्यालयले चुस्ततापूर्ण बहुविशिष्टीकृत शिक्षण अस्पताल खोल्ने विश्वसा व्यक्त गरे ।

‘स्थापनाको ३२औँ वर्षपछि आफ्नै शिक्षण अस्पताल स्थापना गर्न विश्वविद्यालयले गरेको प्रयास सराहनीय छ, यो शुभकार्यका लागि म अग्रिम शुभकामना दिन चाहन्छु’, प्रधानमन्त्री दाहालले भने, ‘विश्वविद्यालयको कुलपति र प्रधानमन्त्रीको हैसियतले जति सहयोग गर्न सकिन्छ, त्यो सहयोग गर्न म तत्पर छु ।’

विश्वविद्यालयले सञ्चालन गरेका बहुविधागत कार्यक्रमले अबको विश्वविद्यालय शिक्षा कस्तो हुनुपर्छ भन्ने उल्लेखनीय उदाहरण पेस गरेका दृष्टान्त दिँदै उनले आगामी दिनमा थप ऊर्जा र सिर्जनात्मकताका साथ अध्ययन र अध्यापनका कार्यक्रम लागू गर्न आग्रह गरे ।

‘नेपालको मौलिक ज्ञान, प्रविधि र सीपलाई विश्व परिवेश र ज्ञानको बजारसँग जोडेर नेपालको शिक्षाको अन्तर्राष्ट्रियकरण गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउने जुन दूरदृष्टि छ, त्यो सराहनीय एवम् आवश्यक छ’, उनले भने ।

आफूले आर्जन गरेको ज्ञान र सीपलाई देशको र मानव जातिको हितका लागि अर्पण गर्ने आह्वान गर्दै प्रधानमन्त्री दाहालले थप अध्ययन र अनुभवका लागि विदेशमा रहेका  विद्वत्वर्ग एवम् युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न आह्वान गरे ।

फरक प्रसङ्गमा प्रधानमनत्री दाहालले विभिन्न बाध्यताका कारण दुई सय भन्दा बढी नेपाली युवा रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक रहेको बताए । उनीहरुलाई सकुशल फिर्ता ल्याउन  सरकारले हरसम्भव प्रयास गरिरहेको प्रधानमन्त्रीले बताए ।

‘नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन्’, उनले भने, ‘म आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको काम पनि गर्न सकिन्छ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?