+
+

सन् २०२३ चार दशकयताकै तातो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते ११:४०

२९ माघ, काठमाडौं । सन् २०२३ चार दशककै बढी गर्मी वर्षको रुपमा नेपालमा रेकर्ड भएको छ । नेपालका १२ स्थानमा अधिकतम तापक्रमको रेकर्ड ब्रेक भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सन् २०२३ मा अधिकतम र न्यूनतम तापक्रम दुवै सामान्यभन्दा बढी रेकर्ड भएका छन् । सन् २०२३ मा नेपालको औसत अधिकतम तापक्रम २७.९ डिग्री सेल्सियस थियो । यो सामान्य वार्षिक अधिकत तापक्रमभन्दा ०.६ डिग्री सेल्सियसले बढी हो ।

सन् २०२३ मै नेपालको औसत न्यूतम तापक्रम १५.६ डिग्री सेल्सियस मापन भएको छ, जुन सामान्य वार्षिक न्यूनतम तापक्रमभन्दा ०.५ डिग्री सेल्सियस बढी हो । सन् १९८० को दशकको औसत वार्षिक अधिकतम तापक्रम २६.४ डिग्री सेल्सियस थियो ।

गत वर्ष नेपालका १२ स्टेसनमा अधिकतम तापक्रमको रेकर्ड ब्रेक भएको मौसम विज्ञान विभागले जनाएको छ । तनहुँको बन्दीपुर, सुनसरीको चतरा, सिन्धुपाल्चोकको चौतारा, सुनसरीको धरान, नवलपरासी पूर्वको दुम्कौली, गोरखाको बिरेनचोक, धनुषाको जनकपुर विमानस्थल, इलामको कन्याम चिया बगान, ओखलढुंगाको ओखलढुंगा, चितवनको रामपुर, बाराको सिमरा एयरपोर्ट र सिरहाको सिरहामा अधिकतम तापक्रमको रेकर्ड ब्रेक भएको हो ।

दुम्कौलीको अधिकतम तापक्रम सन् १९७९ मे ५ तारिखमा ४३.७ डिग्री सेल्सियस मापन भएकोमा सन् २०२३ को जुन ९ तारिखको दिन ४४.८ डिग्री सेल्सियस रेकर्ड भएको छ ।

(विस्तृतका लागि हेर्नुहोस् तालिका)

सन् २०१७ मा जल तथा मौसम विज्ञान विभागले निकालेको रिपोर्टमा नेपालमा प्रतिशत वर्ष औसतमा ०.०५६ डिग्री सेल्सियसले अधिकतम तापक्रम बढिरहेको देखिएको छ । हेर्दा थोरै जस्तो लागे पनि यो विषम परिस्थितिका लागि खतराको घण्टीको रुपमा लिनुपर्ने मौसमविदहरु बताउँछन् । ‘विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तनको असरबाट नेपाल पनि अछुतो हुने कुरा रहेन,’ जल तथा मौसम विज्ञान विभागका मौसमविद सुदर्शन हुमागाईं भन्छन्, ‘तापक्रम वृद्धि हुँदा यसका असर बहुआयामिक हुन्छन् ।’

जल तथा मौसम विज्ञान विभागको सन् २०१७ को रिपोर्ट हेर्दा पनि प्रतिवर्ष ०.०५६ प्रतिशतले नेपालको अधिकतम तापक्रम वृद्धि भइरहेको देखिन्छ । सन् २०२३ को तथ्यांक हेर्दा नेपालको तापक्रम वृद्धिलाई पुष्टि गरेको छ । विभागको रिपोर्टअनुसार सन् २०१०, २०१६ र २०२३ तातो वर्षको रुपमा दर्ज भएका छन् ।

सन् २०२३ तातो वर्ष

मौसम विज्ञान विभागका अनुसार नेपालमा वैशाख अन्तिमसम्ममा एक्कासी अधिकतम तापक्रम बढेको थियो । यो क्रम असारको दोस्रो सातासम्म जारी रहेको थियो । देशका मध्य र पश्चिमी क्षेत्रमा मनसुन सुरु हुनुअघि असारको तेस्रो सातासम्म पनि गर्मीको लहर कायम थियो । दक्षिणी क्षेत्र विशेषगरी कपिलवस्तु, रुपन्देही, नवलपरासी-पश्चिम, चितवन, पर्सा, बारा, सर्लाही, धनुषा, महोत्तरी र सिरहा जिल्लाका केही स्थानमा केही दिन तापक्रम ४२ डिग्री सेल्सियस नाघेको थियो ।

मौसम विज्ञान विभागका अनुसार सन् २०२३ मा नेपालको दक्षिणी भागमा औसत अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा बढी र उत्तरी भागमा १८ डिग्री सेल्सियसभन्दा कम थियो ।

सन् २०२३ को पहिलो दुई महिनामा मासिक अधिकतम तापक्रम बढेको थियो । मार्चदेखि मे महिनासम्म अधिकतम तापक्रम सामान्यभन्दा कम थियो । तर जुन र जुलाईसम्मको अधिकतम तापक्रम बढ्दै गएर सामान्यभन्दा बढी भएको थियो

जुन महिना २ डिग्री सेल्सियसभन्दा बढीले तातो थियो । यो अरु सबै महिनाहरुमा सबैभन्दा बढी गर्मी हो । अगष्टमा सामान्य अधिकतम तापक्रमभन्दा तल रह्यो भने सेप्टेम्बरदेखि डिसेम्बरसम्मको चार महिनाको तापक्रम सामान्यभन्दा बढी थियो ।

सन् २०२३ को अपि्रल र मे महिना बाहेक सबै महिनामा नेपालको मासिक न्यूनतम तापक्रम सामान्यभन्दा बढी थियो । सन् १९८१ पछिको वार्षिक औसत न्यूनतम तापक्रमको तुलना गर्दा यो दोस्रो सबैभन्दा तातो वर्ष भएको विभागले जनाएको छ ।

युरोपेली युनियनले पनि सन् २०२३ जलवायुसम्बन्धी अभिलेख राख्न थालिएयताकै सबैभन्दा तातो वर्ष हुने रिपोर्ट यसअघि सार्वजनिक गरेको थियो ।

धेरै महिना सुक्खा तर समग्रमा औसत वर्षा

यो वर्ष वर्षाको हिसाबले सामान्य रह्यो । समग्रमा ९१ प्रतिशत वर्षा भए पनि केही महिनाहरु सुक्खा नै रहे ।

विभागका अनुसार कर्णाली प्रदेशको उत्तरी भेगमा कम वर्षा भएको थियो । उदाहरणको लागि डोल्पा जिल्लाको दुनै स्टेशनमा ४१०.७ मिलिमिटर वर्षा भएको थियो ।

तर गण्डकी प्रदेशका केही क्षेत्रमा ४ हजार मिलिमिटरभन्दा बढी वर्षा भएको थियो । लागि कास्कीको लुम्ले स्टेशनमा सबैभन्दा बढी ४ हजार ६२५.९ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

सामान्य वर्षाको तुलनामा सबैभन्दा बढी लमजुङको खुदीबजार स्टेसनमा १२९ प्रतिशत र सबैभन्दा कम धनुषाको जनकपुर विमानस्थलमा ५१ प्रतिशत वर्षा भएको छ ।

वर्षको शुरुवाती दुई महिना (जनवरी र फेब्रुअरी) मा वर्षा उल्लेख्य कम थियो । बढी पानी पर्ने महिना जुन र जुलाई मै सरदरभन्दा कम पानी परेको छ । सेप्टेम्बर महिनामा सामान्यभन्दा ३१ प्रतिशतले कम वर्षा भएको थियो । नोभेम्बर र डिसेम्बर महिना पनि सुख्खा भए ।

तर अक्टुबर र अगष्टमा भने बढी पानी परेको थियो । अगष्टमा सामान्यभन्दा १५ प्रतिशत र अक्टोबरमा ७१ प्रतिशतले बढी वर्षा भएको थियो ।

सन् १९८१ देखि सन् २०२३ वार्षिक वर्षाको हिसाबले आठौं सबैभन्दा सुक्खा वर्षको रुपमा दर्ज भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यद्यपि समग्रमा सन् २०२३ मा सरदर वर्षा भएको विभागका वरिष्ठ मौसमविद हुमागाईं बताउँछन् । ‘हामी ९० देखि ११० प्रतिशतसम्म वर्षालाई सरदर भन्छौं । सन् २०२३ मा ९१ प्रतिशत वर्षा भएकाले सरदर नै वर्षा भयो । तर महिनाको हिसाबले हेर्ने हो भने पानी पर्ने महिनाहरु जुन, जुलाईमै पनि सामान्यभन्दा कम वर्षा भएको छ ।’

सन् २०२३ मा मनसुन १२४ दिनसम्म नेपालमा रहेको थियो । मनसुन सामान्य सुरुवातको दिनभन्दा एक दिन ढिलो अर्थात् १४ जुनमा पूर्वी नेपालबाट प्रवेश गरेको थियो भने अक्टुबर १५ मा बाहिरिएको थियो । मनसुन सामान्य अवधिभन्दा १३ दिन ढिलो गरी बाहिरिएको थियो ।

जलवायु परिवर्तन

कम्तिमा ३० वर्षको अवधिमा कुनै स्थान विशेषमा हुने मौसमी अवस्थाको औसत स्थिति त्यहाँको जलवायु हो । त्यही जलवायुको अवस्थामा दीर्घकालीन परिवर्तन आउँदछ, त्यसलाई नै जलवायु परिवर्तन भनिन्छ । यो वर्षा, तापक्रम, आद्रता, वायुको गति आदिजस्ता जलवायुजन्य गतिविधिमा आउने दीर्घकालीन तथा प्रतिकूल अवस्थाको परिवर्तन हो ।

सन् १९८१ देखि सन् २०२३ को वार्षिक औसत तापक्रम हेर्दा नेपालमा अधिकतम र न्यूनतम दुवै तापक्रम केही बढिरहेकाले त्यसलाई जलवायु परिवर्तन भनिने मौसमविद हुमागाईं बताउँछन् ।

जलवायु परिवर्तनको असर कृषि, जलस्रोत लगायतका क्षेत्रमा पर्दछ । जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा हुने, चर्को गमी हुने, लामो समयसम्म खडेरी पर्ने, चक्रवात आउने, समुद्रको सतह बढ्ने, हिमताल विष्फोट हुने, हिउँ तीव्र गतिमा पग्लिने, हिमालमा हिउँ नपर्ने, कृषि उत्पादन कम हुने लगायत असर देखिन्छन् । यसले समग्रमा प्रकृति र जनजीविकामै बदलाव ल्याइदिन्छ ।

एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले वन मन्त्रालय, जल तथा मौसम विज्ञान विभागका विज्ञहरुसहित गरेको अध्ययनमा आगामी दिन अझ सुक्खा हुनसक्ने औंल्याएको छ । हिमालय क्षेत्रमा हिउँ कम भएकाले पानीको स्रोतमा कमी हुने र पानी कम हुँदा तल्लो तटीय क्षेत्रका मानव वस्ती र उनीहरुले गर्ने खेतीपातीमा असर पर्ने सम्भावना रहन्छ । चैत, वैशाख जस्ता अति सुक्खायाममा नदीनालाको जलस्तर पनि कम हुनसक्ने सम्भावना छ ।

हिमालय क्षेत्रमा यस वर्ष कम हिउँ परेको मौसम क्षेत्रका जानकारहरु बताउँछन् । सगरमाथा क्षेत्रमा गत वर्षको तुलनामा यो वर्ष साविककै जस्तो हिउँ परे पनि अन्य हिमालय क्षेत्रमा भने केही वर्षयताकै कम हिउँ परेको जल तथा मौसम विज्ञान विभागको हिम सर्भे तथा हिमालय शाखाले जनाएको छ । शाखाका अनुसार हिम रेखा पनि माथितिर सर्दै गएको छ ।

विश्वव्यापी तापमान वृद्धि हुँदा यस वर्षको हिउँदयामको जाडो पनि कम महसुस भएको छ । अहिलेको हिउँदयाम जल तथा मौसम विज्ञान विभागले गरेको प्रक्षेपण विपरीत सुक्खा रहेको छ ।

मौसम विज्ञान विभागले फेब्रुअरी महिनासम्म जाडोयाम मान्दछ । तर यो महिना सकिन अब करिब आधा बाँकी छ । तर तत्काल पानी पर्ने सम्भावना भने अझै छैन । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार आगामी तीन दिनसम्म ठूलो वर्षाको सम्भावना छैन । पहाडी भेगका केही स्थानमा भने हल्का वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?