+
+
Shares

अफ्रिका जलवायु शिखर सम्मेलन सम्पन्न, १५० अर्ब डलर बराबरको लगानी प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते ६:२४

२७ भदौ, काठमाडौं । दोस्रो अफ्रिका जलवायु शिखर सम्मेलन (Africa Climate Summit–2) इथियोपियाको राजधानी एडिस अबाबामा सम्पन्न भएको छ । सम्मेलनले १५० अर्ब अमेरिकी डलर बराबरको लगानी तथा वित्तीय प्रतिबद्धता जुटाउँदै महादेशमा हरित औद्योगिकीकरण र दिगो विकासलाई तीव्र गतिमा अघि बढाउने संकल्प गरेको छ ।

सम्मेलनले अफ्रिका क्लाइमेट इन्नोभेसन कम्प्याक्ट (एसीआईसी) र अफ्रिकन क्लाइमेट फ्यासिलिटी –एसीएफ) सुरु गर्दै ५० अर्ब डलरको उत्प्रेरक वित्तीय लगानी घोषणा गरेको छ । यसमार्फत स्थानीय जलवायु समाधानहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ ।

साथै, अफ्रिकी वित्तीय संस्था र विकास वित्त संस्थानहरूले हरित औद्योगिकीकरण योजनालाई अघि बढाउन १०० अर्ब डलर जुटाउने प्रतिबद्धता गरेका छन् । यसले नवीकरणीय ऊर्जा र स्वच्छ रूपान्तरणतर्फ घरेलु स्रोतहरूको परिचालनमा अफ्रिका आफैं नेतृत्व गर्दै गएको देखाएको छ ।

शिखर सम्मेलनले एडिस अबाबा घोषणापत्र जारी गर्दै ब्राजिलमा हुने आगामी कोप–३० का लागि महादेशका प्राथमिकता तय गरेको छ । साथै  अफ्रिकालाई केवल जलवायु पीडितको रूपमा नभई समाधान प्रस्तुत गर्ने, हरित औद्योगिकीकरणको अग्रणी र विश्वव्यापी साझेदारको रूपमा देखाउने अवसर सम्मेलनले दिएको छ ।

नेताहरूले जलवायु प्रभावका कारण ऋण संकट चर्किएका विकासशील मुलुकहरूको हितमा ‘गुणस्तरीय जलवायु वित्त’ सुनिश्चित गर्न विकसित मुलुकलाई आह्वान गरेका छन् । अनुकूलन वित्तीय खाडल ( भरपाईलाई कोप–३० को मुख्य एजेन्डा बनाउनुपर्ने उनीहरूको जोड छ । अनुमान अनुसार, सन् २०३० सम्म अफ्रिकालाई मात्र अनुकूलनका लागि करिब ५७९ अर्ब डलर आवश्यक पर्नेछ ।

सम्मेलनलाई सम्बोधन गर्दै इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले अफ्रिकन क्लाइमेट इन्नोभेसन कम्प्याक्टलाई २०३० सम्म एक हजार अफ्रिकी समाधानहरू विकास गर्ने प्लेटफर्मका रूपमा अघि बढाउने प्रस्ताव राखेका थिए । उनले इथियोपियाले सन् २०२७ मा हुने कोप–३२ आयोजना गर्ने उम्मेदवारी दिएको घोषणा गर्दै विश्वलाई ‘कूटनीति र जलवायु महत्वाकांक्षाको राजधानी’मा स्वागत गर्ने बताए ।

त्यसैगरी, अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार क्षेत्र सचिवालयका महासचिव वाम्केले मेनेले अफ्रिकी विकास वित्त संस्था सहकार्य ढाँचाको हस्ताक्षरलाई ऐतिहासिक बताउँदै, ‘अफ्रिकाले आफैं पूँजी परिचालन गरेर विश्वलाई हामी मागकर्ता होइन, लगानी भागीदार हौं भन्ने देखाएको छ । अब हामी अरूको योजना ग्रहण गर्ने मात्र होइन, आफैं हरित भविष्य निर्माण गर्ने वास्तुकार हौं,’ भने ।

इथियोपियाका योजना तथा विकास मन्त्री डा. फिट्सुमले सम्मेलनलाई अफ्रिकी उपलब्धिको दशकको सुरुवातका रूपमा चित्रित गर्दै, महत्वाकांक्षालाई योजना र लगानीमा रूपान्तरण गर्ने दृढता व्यक्त गरे ।

त्यस्तै, केन्याका जलवायु दूत अली मोहम्मदले अफ्रिकाले २०३० सम्म ३०० गिगावाइट नवीकरणीय ऊर्जा उत्पादन गर्ने लक्ष्यमा पुन: प्रतिबद्धता जनाएको उल्लेख गर्दै, अफ्रिकी वित्तीय संस्थाहरूले १०० अर्ब डलर परिचालन गर्ने निर्णयलाई ‘ठोस कदम’ का रूपमा व्याख्या गरे ।

संयुक्त राष्ट्र संघका महासचिवका जलवायु कार्य सल्लाहकार सेल्विन चार्ल्स हार्टले अफ्रिकासँग स्रोत, बजार, जनशक्ति र समाधान सबै रहेको बताउँदै, यसलाई ‘हाम्रो समयको अवसर’ भने ।

बालबालिकाको लगानी कोषकी प्रमुख कार्यकारी केट ह्याम्पटनले अफ्रिका जलवायु शिखर सम्मेलनले महादेशलाई निरन्तर विश्वव्यापी जलवायु कार्यसूचीको अग्रभागमा राखेको बताइन् । तर उनले अब ‘पाठ्य सम्झौताबाट वास्तविक अर्थतन्त्रका साझेदारी’ तर्फ अघि बढ्नुपर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?