+
+

चिनियाँ लगानीमा बनेको नयाँ मलेसियन शहर किन बन्यो भूतबंगला ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते १२:०८

काठमाडौं । ‘बल्लतल्ल यो ठाउँबाट भाग्न सकें’, नज्मी हानाफिया हाँस्छन्, केही डराउँदै ।

३० वर्षीय आइटी इन्जिनियर हानाफिया एक वर्षअघि फरेस्ट सिटीमा सरेका थिए । सुदूर दक्षिण मलेसियाको जोहोरमा रहेको यो शहर चिनियाँ सहयोगमा बनेको हाउजिङ कम्प्लेक्स हो । त्यहाँको एक टावरमा एउटा बेडरुम भएको फ्ल्याट उनले भाडामा लिएका थिए, जहाँबाट समुद्रको सुन्दर दृश्य प्रष्टैसँग देखिन्थ्यो ।

तर त्यहाँ सरेको ६ महिनापछि नै उनी अघाए । उनमा त्यो ‘भूताहा शहर’को बसाइलाई निरन्तरता दिने चाहना रहेन ।

उनी भन्छन्– मैले धरौटी राखेको रकमको बारेमा पनि मलाई कुनै पर्वाह भएन, मलाई जसरी पनि त्यहाँबाट निस्किनु थियो । मलाई यो ठाउँमा आउँदा शरीरमा डरले काँडा उठ्छन् । यो निकै एकान्त छ । यहाँ केवल आफू र आफ्ना सोचाइ मात्रै हुन्छन् ।

चीनको सबैभन्दा ठूलो घरजग्गा विकास कम्पनी काउन्ट्री गार्डेनले बिआरआई परियोजना अन्तरगत १ खर्ब डलर लगानीमा सन् २०१६ मा फरेस्ट सिटीको निर्माण गरेको हो ।

त्यसबेला चिनियाँ घरजग्गा व्यवसायको वृद्धि सर्वाधिक उच्च विन्दुमा थियो । डेभलपर्सले मध्यमवर्गीय क्रेताहरुलाई लक्षित गर्दै स्वदेश तथा विदेशमा आवास निर्माणका लागि ठूलो मात्रामा कर्जा लिएका थिए ।

मलेसियामा काउन्ट्री गार्डेनले गल्फ कोर्स, वाटरपार्क, कार्यालयहरु, बार तथा रेष्टुरेन्ट सहितको वातावरणमैत्री महानगर शहर निर्माणको योजना बनायो । फरेस्ट सिटी करीब १० लाख मानिसको घर बन्ने उसको अपेक्षा थियो ।

तर अहिले ८ वर्ष बितिसक्दा यो ठाउँ यस्तो नांगो उदाहरण बनेको छ कि चिनियाँ सम्पत्ति संकटको प्रभावको अनुभूति गर्न चीनमै जानु पर्दैन । हालसम्म उक्त परियोजनाको केवल १५ प्रतिशत मात्रै निर्माण सम्पन्न भएको छ र त्यसको पनि केवल १ प्रतिशत मात्रै भाडामा गएको छ ।

यो परियोजना निर्माण कम्पनी काउन्ट्री गार्डेनले हालसम्म करीब २ खर्ब डलर ऋण बोकिसकेको छ । तथापि यसको पूर्ण योजना सम्पन्न हुनेमा आफू अझै पनि आशावादी रहेको उसको भनाइ छ ।

डरलाग्दो ठाउँ

फरेस्ट सिटीलाई मानव मात्रको स्वप्निल स्वर्ग भनेर प्रचार गरिएको थियो । तर वास्तवमा यो शौखिन चिनियाँहरुकै लागि लक्षित थियो र उनीहरुले विदेशमा आफ्नो दोस्रो घर खरीद गर्नेछन् भन्ने आशा कम्पनीलाई थियो । किनकि त्यहाँका अपार्टमेन्टको बिक्री मूल्य आम मलेसियालीहरुको क्षमता भन्दा निकै माथि छ ।

नाज्मीका अनुसार उता चिनियाँ क्रेताहरुका लागि भने त्यहाँको सम्पत्ति एउटा लगानीको रुपमा हुन्थ्यो जसलाई स्थानीय मलेसियनहरुलाई भाडामा दिन वा विदा मनाउने घरको रुपमा समेत प्रयोग गर्न सकिन्थ्यो ।

तर यथार्थ फरक रह्यो । समुद्रमा माटो भरेर तयार पारिएको कृत्रिम टापुमा निर्माण गरिएको यो शहर सबैभन्दा नजिकको शहर जोहरबारु भन्दा पनि निकै टाढाको दूरीमा अलग्गै स्थानमा रहेकोले स्थानीय भाषामा भुताहा शहरले चिनिन थाल्यो । जसका कारण सम्भावित क्रेताहरु त्यहाँका अपार्टमेन्ट खरीद गर्न हच्किए ।

नाज्मी भन्छन्– इमान्दारपूर्वक भन्नुपर्दा यो निकै डरलाग्दो छ । यो ठाउँसँग मेरो निकै ठूलो अपेक्षा थियो । तर यो खराब अनुभव रह्यो । यहाँ गर्नु केही पनि छैन ।

फरेस्ट सिटीमा निश्चित रुपमा अनौठो वातावरण छ । यो हाल मानिस जान छाडेको होलिडे रिसोर्टजस्तो लाग्दछ ।

नजिकैको समुद्री तटमा जर्जर अवस्थामा रहेको बालबालिकाको खेल्ने मैदान, खिया लागेको भिन्टेज कार र बीचमै टुंगिएको सेतो कंक्रिटको सिंढी देखिन्छ । समुद्रको पानी सुरु भएको स्थानमा त्यहाँ गोही भएकाले पौडी नखेल्नका लागि चेतावनी संकेतहरु राखिएको छ ।

शपिङ मल बनाइएको ठाउँमा अधिकांश पसलहरु तथा रेष्टुरेन्टहरु बन्द छन् भने कतिपय इकाइहरु केवल खाली निर्माण स्थलको रुपमा देखिन्छन् । शपिङ मलको वरिपरि बच्चाको खाली रेलले फन्को मारिरहेको छ र त्यसमा ‘हेड, सोल्जर, नीज एण्ड टोज’ शीर्षकको बालगीत चिनियाँ भाषामा निरन्तर बजिरहेको छ ।

अर्कोतर्फ काउन्ट्री गार्डेनको शोरुममा भीमकाय मोडेल सिटीको तस्वीर छ, जसमा पूर्णरुपमा सम्पन्न भएसँगै फरेस्ट सिटी कस्तो हुनेछ भन्ने देखाइएको छ । त्यहाँको सेल्स स्टलमा दिक्क मानिरहेका जस्ता देखिने केही कर्मचारी छन् । जसको माथि नारा लेखिएको छ– फरेस्ट सिटी, जहाँ खुसीको अन्त्य कहिल्यै हुँदैन ।

यद्यपि यो क्षेत्रको ड्युटी फ्री स्टाटस भने यहाँको सबैभन्दा ठूलो आकर्षण हो । समुद्र तटमा तपाईंले ठूलो संख्यामा फ्याँकिएका अल्कोहलका बोतल तथा स्थानीय पेय पदार्थका पाकेटहरु देख्न सक्नुहुन्छ । यो नै त्यहाँको सबैभन्दा ठूलो मानवीय चहलपहल हो ।

रात परेसँगै फरेस्ट सिटी निष्पट्ट अन्धकार बन्दछ । सयौं अपार्टमेन्ट भएका अपार्टमेन्ट ब्लकहरुमध्ये मध्ये केवल आधा दर्जन जत्तिमा मात्रै बत्ती बलेको हुन्छ । जसले गर्दा त्यहाँ कोही मानिस बस्दछ भनेर विश्वास गर्नै गाह्रो हुन्छ ।

त्यहाँकी बासिन्दा मध्येकी एक जोन्नी कौर भन्छिन्– यो निकै विचित्रको ठाउँ छ । दिउँसोमा समेत आफ्नो ढोका बाहिर निस्किँदा सबै करिडोर अन्धकार नै हुन्छ ।

उनी आफ्ना पति सहित एउटा अपार्टमेन्ट टावरको २८ औं तलामा बस्छिन् । त्यो तलामा उनीहरु एक्लै छन् । नाज्मीजस्तै उनीहरु पनि भाडामा बसेका हुन् र जतिसक्दो छिटो त्यो ठाउँ छाड्ने योजनामा छन् ।

उनी भन्छिन्– यो ठाउँमा लगानी गरेर अपार्टमेन्ट खरीद गरेका मानिसहरु देख्दा मलाई दुःख लाग्छ । तपाईंले यदि गुगलमा फरेस्ट सिटी हेर्नुभएको छ भने त्योभन्दा अहिलेको फरेस्ट सिटी निकै फरक छ ।

यो परियोजना जनता समक्ष बाचा गरिएअनुरुपको हुनुपर्नेमा त्यस्तो नभएको उनी बताउँछिन् ।

फरेस्ट सिटीमा अपार्टमेन्ट खरीद गरेका चिनियाँहरुसँग कुराकानी गर्न सजिलो छैन । तर सोसल मिडियामा भने फरेस्ट सिटीमा लगानी गरेका चिनियाँहरुका निराशा प्रष्टै देख्न सकिन्छ । लियाओनिङ्ग प्रान्तका एकजना क्रेताले भनेका छन्– यो परियोजनाका विषयमा गरिएका प्रशंसाहरु निकै भ्रमपूर्ण छन् । अहिलेको फरेस्ट सिटी भुताहा सहर हो । त्यहाँ कुनै मानिस नै छैनन् । यो सहर भन्दा टाढा हुनुको साथै बसोबासका लागि चाहिने आधारभूत सुविधाहरु पनि अपूरो छन् । त्यहाँ कार बिना चल्न गाह्रो छ ।

घरजग्गा बजार जर्जर बनिरहेको चीनमा सन् २०२१ प्छि सरकारले कडा बन्देजात्मक नियमहरु लगाइरहेको छ । चिनियाँ राष्ट्रपतिको मन्त्र नै छ कि घरहरु बस्नका लागि हुन् कुनै अनुमानका लागि होइनन् ।

सरकारी कडाइसँगै यो व्यवसायमा संलग्न धेरै ठूला चिनियाँ कम्पनीहरु समस्यामा परे, उनीहरुसँग व्यवसाय जारी राख्नका लागि पर्याप्त नगदको अभाव भयो । उनीहरुले निर्माणाधीन अवस्थाका परियोजना पनि पूरा गर्न सकेनन् ।

फरेस्ट सिटी निर्माता कम्पनी काउन्ट्री गार्डेनले सोही कारण अष्ट्रेलियाका आफ्ना दुईवटा परियोजनाहरु पूरा नगर्दै बेच्न बाध्य भयो ।

यद्यपि फरेस्ट सिटीको यो दूरावस्थाको एउटा अर्को कारण चाहिं मलेसियाको आन्तरिक राजनीति पनि हो । सन् २०१८ मा तत्कालीन मलेसियाली प्रधानमन्त्री महाथिर मोहम्मदले चिनियाँ क्रेताहरुको भिसामा कडाइ गरे । विदेशीहरुका लागि बनाइएको शहर भन्ने कुरामै उनको आपत्ति थियो ।

कतिपय विश्लेषकहरु चाहिं राजनीतिक तथा आर्थिक वातावरण नै अस्थीर रहेको देशमा विकासको मेगा परियोजना निर्माण गर्नु नै उपयुक्त नहुने तर्क गर्दछन् ।

मलेसियाको वर्तमान सत्ता फरेस्ट सिटी परियोजनाप्रति सकारात्मक छ । तर त्यहाँका अपार्टमेन्ट खरीद गर्ने सम्भावित क्रेताहरु सरकारको सकारात्मक रबैया कहिलेसम्म र कुन हदसम्म सकारात्मक हुने हो भन्नेमा ढुक्क छैनन् ।

फरेस्ट सिटी परियोजना अलपत्र अवस्थामै रहेको भएता पनि काउन्ट्री गार्डेन कम्पनी भने चिनियाँ घरजग्गा बजारको अहिलेको अवस्था केवल हल्ला मात्रै नरहेको र आफ्नो मलेसियन व्यवसाय सामान्य अवस्थामा चलिरहेको दाबी गरेको छ । फरेस्ट सिटीलाई मलेसिया र सिंगापुर बीचको विशेष आर्थिक क्षेत्रमा समावेश गर्ने योजनाले पनि यो परियोजना सुरक्षित र स्थिर रहेको प्रमाणित हुने कम्पनीको दाबी छ ।

– बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?