+
+

कञ्चनपुरमा महेन्द्रको सालिक राख्ने विषय विवादमा, स्थानीय प्रशासनले लगायो निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते १३:५४

२८ मंसिर, धनगढी । कञ्चनपुरमा स्वर्गीय राजा महेन्द्रको सालिक राख्ने विषयलाई लिएर राजनीतिक दलबीच मतभिन्नता देखिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बिहीबारदेखि ७ दिनसम्म लागू हुनेगरी भीमदत्त नगरपालिका-४ को संविधान चोकदेखि पूर्वमा दशरथचन्दको सालिकसम्मको मुख्य सडक र पश्चिममा मदन भण्डारीको सालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा जारी गरेका हुन् ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम जारी आदेशअनुसार यो क्षेत्रमा ७ दिनसम्म ५ जना भन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।

प्रजिअ अधिकारीले संविधान चोक आसपासको क्षेत्रमा सालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनैतिक दलहरु बीच मतभिन्नता भै आएको सन्दर्भमाः सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्न निषेधाज्ञा लगाउनुपरेको बताएका छन् ।

संविधान चोकमा आज बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा महेन्द्रको सालिक स्थापना गर्ने तयारी थियो ।

तर कार्यक्रम सुरु हुनुअघि नै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

यसअघि शहीद भीमदत्त पन्तको सालिक तोडफोड गरेको अभियोगमा राप्रपाका जिल्ला सचिव सहितका १८ जना नेता, कार्यकर्ता पक्राउ परेका थिए ।

प्रहरीले उनीहरू विरूद्व सार्वजनिक शान्ति हित विरूद्वको कसुरमा मुद्दा चलाएको छ । उनीहरू अहिले हाजिर जमानीमा छुटिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?