+
+

उखुले रोक्यो विदेश यात्रा

रासस रासस
२०८० चैत १९ गते १३:१९

१९ चैत, कञ्चनपुर । गर्मी बढेसँगै कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीका ३० वर्षीय नीमबहादुर चौधरीलाई उखुको जुस बेच्न भ्याइनभ्याइ हुन थालेको छ । जाडोको तुलनामा फागुन दोस्रो सातायता चौधरीको दैनिकी थप व्यस्त बनेको छ ।

भीमदत्त–४ महेन्द्रनगरमा नीमबहादुरले उखु पेलेर जुस बेच्ने काम गरेर राम्रो आम्दानी गरिरहेका छन् । ३ सदस्यीय परिवारको घरखर्च उनकै आम्दानीमा चलेको छ । खर्च कटाएर दैनिक १ हजार ५ सयभन्दा बढी बचत हुने गरेको उनको भनाइ छ ।

‘गर्मीयाम सुरू भएकाले उखुको जुस सबैको रोजाइमा पर्छ, दैनिक दुई हजार ५ सयदेखि ३ हजार रुपैयाँको कारोबार भइरहेको छ,’ उनले भने, ‘स्वदेशमै ठीकै आम्दानी भएपछि विदेश जानुपर्ने बाध्यता आएको छैन ।’

४० रुपैयाँ प्रतिगिलासका दरले उखुको जुस बिक्री हुने गरेको उनको भनाइ छ । ‘प्रत्येक दिन बिहान उखु किनेर ल्याउँछु, बेलुका त्यो उखु सकिन्छ,’ नीमबहादुरले भने, ‘प्रतिक्विन्टल १ हजारमा उखु पाइन्छ ।’

उनले ९३ हजार रुपैयाँमा उखु पेल्ने मेसिन किनेर यो व्यवसायमा हात हालेका थिए । यो व्यवसायमा आउनुअघि उनलाई विदेश जाने सोच आएको थियाे । तर एकपटक आफ्नै देशमा केही गरौं भनेर व्यवसायमा आएको उनले बताए । ‘अर्काको देशमा दुःख गर्नुभन्दा आफ्नै ठाउँमा सानै भए पनि व्यवसाय गर्ने सोच बनाएँ,’ उनले भने ।

यसअघि नीमबहादुरले घर बनाउने मिस्त्रीको काम गर्थे । ‘कोरोनापछि मिस्त्री काम धेरै कम पाइन थाल्यो, मिस्त्री कामले गुजारा चल्लाजस्तो भएन,’ उनले भने, ‘त्यही भएर विदेश जानुभन्दा यहीं केही गर्छु भनेर यो व्यवसायमा लागेको हुँ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?