+
+

कञ्चनपुरमा वन कर्मचारीमाथि चितुवाको आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १४:२१

१३ चैत, धनगढी । कञ्चनपुरमा डिभिजन वन कार्यालयभित्रै चितुवाले एक जनालाई आक्रमण गरेको छ । डिभिजन वन कार्यालय महेन्द्रनगरमा सशस्त्र वन रक्षकतर्फ जमदार पदमा कार्यरत अर्जुनसिंह थापालाई चितुवाले आक्रमण गरेको हो ।

डिभिजिन वन कार्यालयका प्रमुख भीम कडेलले बेहोस् बनाएर खोरमा हाल्ने क्रममा थापामाथि चितुवाले आक्रमण गरेको बताउँदै उनको अवस्था समान्य रहेको जानकारी दिए । कडेलकाअनुसार चितुवालाई डाट हानेर बेहोस् बनाएर खोरमा हाल्ने गरिन्छ ।

सोमबार पनि चितुवालाई डाट हानिएको थियो । बेहोस भइसकेको ठानेर खोरमा लैजान खोज्दा चितुवा थापामाथि झम्टिएको थियो । तत्कालै अर्को डाट हानेर बेहोस बनाइएको थियो ।

चितुवाको आक्रमणबाट घाइते भएका थापाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । चितुवाको दह्राले उनको हातमा क्षति पुगेको छ । थापा जमदारका रुपमा गोही, सर्प जस्ता वन्यजन्तुको उद्दारको काम गर्दै आएका थिए ।

उनलाई आक्रमण गर्ने चितुवालाई चार दिन अघि कृष्णपुर नगरपालिका–१ को दिपेन्द्र स्मृति सामुदायिक वनमा पासोमा परेको अवस्थामा उद्दार गरिएको थियो । अहिले चितुवालाई लालझाडी वन क्षेत्रमा छाडिएको डिभिजन वन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?