+
+

भारतले जित्यो महिला नेत्रहीन क्रिकेट सिरिज, नेपाल ८ विकेटले पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते १४:०५

२८ मंसिर, काठमाडौं । घरेलु टोली भारतले एक खेल अगावै महिला नेत्रहीन टी-२० क्रिकेट सिरिज आफ्नो पक्षमा पारेको छ ।

मुम्बईमा भइरहेको सिरिज अन्तर्गत बिहीबार भएको चौथो खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै भारतले ३-१ को अग्रतासहित सिरिज आफ्नो बनाएको हो ।

यसअघि सुरुवाती दुई खेल भारतले जितेको थियो भने तेस्रो खेलमा नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पार्दै सिरिजमा फर्केको थियो ।

तर चौथो खेलमा घरेलु टोली भारतले पुनरागमन गर्दै सहज जित निकाल्यो ।

नेपालले दिएको १६६ रनको लक्ष्य भारतले १० बल अगावै ३ विकेट गुमाएर पुरा गर्‍यो । भारतका लागि ओपनर शुष्मा पटेलले सर्वाधिक ४५ रन बनाइन् ।

शान्ति हान्दाले ३७ र राभान्नीले ३० रन जोडिन् । सिमु दासले अविजित ३० रन योगदान गरिन् ।

नेपालका लागि मुना अर्याल र प्रतिभा राईले समान १ विकेट लिए ।

त्यसअघि मुम्बईस्थित पुलिस जिमखाना क्रिकेट मैदानमा घरेलु टोली भारतले टस जित्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

जसमा नेपालले निर्धारित २० ओभर खेल्दै बिनिता पुनको अर्धशतकमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

कप्तानी समेत गरेकी बिनिताले सर्वाधिक ६९ रन बनाइन् ।

मनकेसी चौधरीले ३३, सृजना परियारले २४ र सरिता घिमिरेले १२ रन जोडे ।

मुना अर्याल खाता नै नखोली र निशा डगौरा ८ रनमा आउट भए । इशारा माया लुंगेलीले अविजित ६ रन बनाइन् ।

भारतका लागि पुला सरेनले २ तथा झिली बिरुअले १ विकेट लिए ।

अब नेपाल र भारतबीच सिरिजको पाँचौ तथा अन्तिम खेल बिहीबार हुनेछ ।

पाँच खेलको सिरिज खेल्न नेपाली टोली मुम्बई गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?