+
+
धन्यवाद दिन काठमाडौं आए नवराजका बाबु :

‘ढिलै भए पनि हामीले न्याय पायौं’

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० मंसिर २९ गते २०:५९

२९ मंसिर, काठमाडौं । नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेको अभियोग लागेका २३ जनालाई जिल्ला अदालत, रुकुम पश्चिमले जन्मकैदको फैसला सुनाएको १२ दिनपछि नवराजको परिवार काठमाडौं आइपुगेको छ ।

नवराजका बाबु मोहन विकले आफूहरुले न्याय पाएको भन्दै सबैलाई धन्यवाद दिए । भृकुटीमण्डपबाट सुरु भएको र्‍याली शान्तिबाटिकामा पुगेर धन्यवाद सभामा परिणत भयो, जहाँ मोहनले न्यायको जित भएको भन्दै जमिनमा नै ढोगे ।

‘ढिलै भए पनि न्यायको लडाइँ जितियो’ फैसलाले मन शान्ति मिलेको भन्दै उनले थपे, ‘न्याय अझै मरेको रहेनछ ।’ उनको अनुहारमा न्याय प्राप्तीको खुसीको भाव प्रष्ट देखिन्थ्यो ।

जाजरकोटको भेरी नगरपालिका–४ सानागाउँका २१ वर्षीय नवराज, प्रेमिकालाई लिन साथीहरुसहित १० जेठ २०७७ मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका थिए । तर केटीका बाबु र गाउँलेले अक्रमण गरे, त्यसक्रममा नवराजसहित ६ जनाको ज्यान गएको थियो ।

एक्लो छोरा मारिएपछि मोहनको परिवार पुरै टुटेको थियो । त्यसमाथि घटनालाई तोडमोड गरेर राजनीतिक रंग दिने प्रयास गरियो । ‘खोलामा हाम फालेको भनेर घटनालाई मोड्न खोजियो’ उनले भने, ‘हामीलाई न्यायबाट वञ्चित गराउन ठूलै प्रयास भयो ।’

तर उनीहरुको सहयोगी हातहरु पाउँदै गए । देशभर नै नवराजका पक्षमा आवाजहरु उठ्यो । सिंगो नेपाली समाज पीडित परिवारको पक्षमा एकजुट भए । तै पनि दोषी पक्ष बलिया भएकाले सजिलै न्याय पाइएला भन्ने नवराजको परिवारलाई लागेको थिएन ।

बाबु मोहनका अनुसार नवराजको हत्यापछि उनी तीन वर्ष राम्रोसँग निदाउन सकेनन् । छोरा नवराज सपना आएर भन्थे, ‘मलाई न्याय दिनुस् है बुबा ।’

यहीकारण पनि उनको परिवारले न्याय माग्दै कहिले जाजरकोटदेखि काठमाडौंसम्म आए । यो तीन वर्षमा न्यायका लागि भौतारिँदा भौतारिँदै बाबु मोहनले थुपै्रै जुत्ता–चप्पल खियाए । ‘यो तीन वर्ष पनि हामीलाई ३० वर्ष काटे जस्तो लाग्यो’ नवराजका बाबु मोहनले तीन वर्ष न्यायका पर्खाइका दिनहरु सुनाए ।

पछिल्लो वर्षसम्म घटना क्रमशः सेलाउँदै गएको थियो । सार्वजनिक रुपमा पहिलो आवाजहरु उठ्न छोडिसकेको थियो । बलियाहरुसँगको लडाइँमा पीडित परिवारले वर्षाैसम्म न्याय नपाएको देखेका मोहन र उनको परिवारलाई डर लाग्न थालेको थियो, कतै छोराले न्याय नपाउने त होइन ? ‘जुन बेला छोरोको पक्षमा देशभर नै आवाज उठ्यो, त्यो बेला न्याय दिएन’ उनले भने, ‘यतिका वर्षसम्म हामीलाई झुलाइयो । न्याय नै नपाइने हो कि भन्ने चिन्तामा थियौं ।’

ढिलै सही, अदालतले झण्डै साढे तीन वर्षपछि नवराज हत्या प्रकरणमा पीडित परिवारलाई न्याय दियो ।

१७ मंसिरमा जिल्ला अदालत, रुकुम पश्चिमका न्यायाधीश खडकबहादुर केसीको इजलासले घटनामा संलग्न भएको अभियोगमा वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई जन्मकैदको सजाय सुनायो । घटनाका मुख्य दोषी नवराजकी प्रेमिकाका बाबुलाई पनि २५ वर्षको कैद सजाय तोकियो ।

अदालतले दोषीलाई जेल पठाउने फैसला गरेसँगै नवराज परिवारले न्याय पाएको अनुभूति गरेको छ । ‘न्याय पाउने आश नै हराउँदै गएको बेला अदालतले न्याय दियो’, नवराजका बुबा मोहनले भने, ‘ढिलै भए पनि हामीले न्याय पायौं ।’

अनि न्यायको लडाइँमा साथ दिएका दलित आयोग अधिवक्ता सबैलाई भेटेर धन्यवाद दिन काठमाडौं आए । आफ्नो छोराले न्याय पाएको कुरा देशभर सुनाउन आफू काठमडौं आएको उनले बताए । ‘न्याय हामीले उतै पाएका थियौं’ बाबु विकले भने, ‘तर यो देशमा न्याय मरेको छैन भन्ने सन्देश दिन हामी यहाँ आयौं ।’

अब केहीदिनमा उनी शान्ति मनले घर फर्कनेछन् । ‘छोरा मरेको घाउ त जीवनभर रहिरहनेछ’ उनले भने, ‘स्वर्गमा भेट भयो भने छोरालाई न्याय मिलो भनेर सुनाउँला ।’

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?