+
+

भारत भ्रमण गर्ने टप १० मुलुकमध्ये ७ औं स्थानमा नेपाली

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १८:५६
भारतको नयाँ दिल्लीस्थित लोटस टेम्पल/तस्वीर : अच्युत पुरी

१ पुस, काठमाडौं । भारत भ्रमणमा जाने विदेशी पर्यटकमध्ये नेपाली पर्यटक पहिलो १० औं सूचीभित्र पर्न सफल भएका छन् । भारतीय पर्यटन मन्त्रालयको तथ्यांक अनुसार सन् २०२२ मा भारत भ्रमण गरेका पर्यटकमध्ये नेपाली नागरिक ७ औं स्थानमा देखिएका छन् । नेपालको पर्यटनमा भारतीय नागरिकको स्थान भने पहिलो रहेको छ । तथ्यांक अनुसार सन् २०२२ मा भारतले कुल ६१ लाख ९१ हजार ३९९ जना पर्यटकलाई सो मुलुकमा स्वागत गरेको छ ।

जसमध्ये जहाज चढेर भारत भ्रमणमा जाने नेपालीको संख्या १ लाख ३५ हजार ३४७ जना रहेको छ । यो भारतले यस वर्ष स्वागत गरेका कुल पर्यटकमा २.१९ प्रतिशत हिस्सा हो । साथमा धेरै पर्यटक भित्रने मुलुकको हिसाबमा ७ औं स्थान हो । भारतमा नेपालीहरु घुमफिरमा जाने पिक सिजन डिसेम्बर र कम जाने महिना जनवरी रहेको समेत तथ्यांकमा उल्लेख छ ।

डिसेम्बर महिनामा भारतको मौसम नेपाली पर्यटकका लागि तुलनात्मक रुपमा अनुकूल रहने गर्दा घुमफिरमा धेरै नेपाली पुग्ने गर्छन् । साथै अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा घुमफिरमा निस्कने नागरिक समेत धेरै यसै समयमा घुम्ने गर्छन् ।

सन् २०२२ मा सबैभन्दा धेरै पर्यटक भारतमा अमेरिकी पुगेको तथ्यांक छ । सो वर्ष १३ लाख ७३ हजार ८१७ जना अमेरिकी पर्यटकले भारत भ्रमण गरेका छन् । दोस्रो स्थानमा बंगलादेशी पर्यटक रहेका छन् । सो वर्ष १२ लाख ५५ हजार ९६० पर्यटकले भारत भ्रमण गरेको तथ्यांक छ ।

सन् २०१९ मा १ करोड ९ लाख ३० हजार ३५५ जना विदेशी पर्यटकलाई स्वागत गरेको भारतीय पर्यटन बजार त्यसपछि भने कोभिड १९ को चपेटामा परेको थियो । सन् २०२१ मा १५ लाख २७ हजार ४६० मात्र पर्यटकले भारत भ्रमण गरेका थिए ।

भारत जाने धेरै पर्यटक राजधानी दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रवेश गर्छन् । सन् २०२२ मा भारतको यो विमानस्थलबाट १९ लाख ३२ हजार ४२५ जना पर्यटक प्रवेश गरेका छन् । यो कुल पर्यटकको ३१.२१ प्रतिशत हिस्सा हो । यसबाहेक मुम्बई, हैदरावाद, चेन्नई, बैंग्लौर, कोची, कोलकोतासहितका विमानस्थलबाट धेरै पर्यटक भारत भित्रिएका छन् ।

भारतको आग्रास्थित ताजमहल ।

भारतीय पर्यटकको अझै प्रमुख रोजाइमा छैन नेपाल

सन् २०२२ मा नेपाल भ्रमणमा आउने भारतीयको संख्या २ लाख ९ हजार १०५ जना रहेको थियो । यो कुल पर्यटकमध्ये पहिलो नम्बर हो । नेपाल र भारतले जहाजबाट आवतजावत गर्ने नागरिकलाई मात्र पर्यटकका रुपमा गणना गर्दै आएका छन् । तर, धेरै भारतीय नागरिक घुमफिरमा जाने तथ्यांकको आधारमा नेपाल अझै भारतीयको रोजाइमा पर्न नसकेको देखिएको छ ।

भारतीय पर्यटन मन्त्रालयको तथ्यांक अनुसार सन् २०२२ मा कुल २ लाख १० लाख ९६ हजार २१७ जना भारतीय घुमफिरमा निस्किएका थिए । यसमध्ये सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्समा ५८ लाख ९१ हजार ८१४ जना भारतीय पुगेका छन् । दोस्रो स्थानमा साउदी अरब रहेको छ । सो मुलुकमा २४ लाख २१ हजार ७२३ भारतीय पुगेको तथ्यांक छ । अमेरिकामा १६ लाख ८३ हजार २५६ जना भारतीय भ्रमणमा पुगेका छन् । सिंगापुरमा ९ लाख ८७ हजार र थाइल्याण्डमा ९ लाख २९ हजार भारतीय यस वर्ष पुगेका थिए ।

सन् २०२२ मा भारत भ्रमणमा गएका प्रमुख १० मुलुकका पर्यटक

  • अमेरिका : १३ लाख ७३ हजार ८१७
  • बंगलादेश : १२ लाख ५५ हजार ९६०
  • बेलायत : ६ लाख १७ हजार ७६८
  • अष्ट्रेलिया : ३ लाख ६९ हजार २३
  • क्यानडा : २ लाख ७७ हजार २९१
  • श्रीलंका : १ लाख ७७ हजार ६५२
  • नेपाल : १ लाख ३५ हजार ३४७
  • जर्मनी : १ लाख २४ ४९६
  • सिंगापुर : १ लाख १७ हजार १९५
  • मलेसिया : १ लाख १६ हजार ५२३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?