+
+

एनएसएल २०२३ : आज काठमाडौं र धनगढीबीच ‘हाई भोल्टेज’ खेल

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते ९:२३

२ पुस, काठमाडौं । काठमाडौं रेजर्स नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता हो भने धनगढी एफसी साविक उपविजेता  ।

यी दुई टोली सोमबार एनएसएलको दोस्रो संस्करणमा खेल्दा यो सिजनको ‘हाई भोल्टेज’ खेल हुने छ । यस्तै दुई टिम पुराना प्रतिद्वन्द्वी पनि हुन् ।

२०७८ सालमा भएको पहिलो संस्करणमै यी दुई टोली तीन पटक भिडेका थिए । जसमा लिग चरण र क्वालिफायरमा धनगढी विजयी भएको थियो भने फाइनलमा धनगढीविरुद्ध बदला लिंदै काठमाडौं एनएसएलको पहिलो च्याम्पियन बनेको थियो ।

एनएसएलको एकै सिजन एक आपसमा तीन खेल खेल्ने काठमाडौं र धनगढी नै हुन् । त्यसैले पनि यसपटक यी दुई टोलीबीच खेल हुँदा पुराना प्रतिद्वन्द्वीको झल्को आउँछ नै, यस सिजन प्लेअफ पुग्ने समीकरणका लागि पनि यो खेल महत्वपूर्ण हुनेछ ।

यस सिजन अपराजित दुई टिम मध्ये एक धनगढी पाँच खेलबाट ११ अंकसहित शीर्ष स्थानमा छ । ६ खेलबाट पोखरा थण्डर्सको ११ अंक नै भए पनि धनगढी गोल अन्तरमा अघि छ । धनगढीले तीन खेल जित्दा दुई खेल बराबरी खेलेको छ ।

उता साविक विजेता काठमाडौंले अहिलेसम्म मिश्रित प्रदर्शन गरेको छ । उसको पाँच खेलबाट ८ अंक छ र चौथो स्थानमा छ ।

पहिलो खेलमा नयाँ टोली स्पोर्टिङ इलामलाई पराजित गरेको काठमाडौंले पछिल्लो खेलमा पोखरालाई हराएर जितविहीन यात्रा रोकेको थियो । काठमाडौंले यस सिजन दुई जित दुई बराबरी र एक हारको नतिजा निकालेको छ ।

यसपटक काठमाडौं र धनगढीले पहिलो सिजनकै प्रशिक्षकलाई निरन्तरता दिएको छ भने कप्तान फेरिएको छ ।

बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको काठमाडौंले पहिलो सिजनको च्याम्पियन मार्की तथा कप्तान विकेश कुथुलाई छाडेर युवा फरवार्ड हिसुब थपलियालाई मार्की लिएको थियो र उनैलाई कप्तान बनाएको थियो । तर सुरुवाती दुई खेलपछि नै काठमाडौंले उनलाई लोड थपिएको भन्दै कप्तानको आर्मब्यान्ड कुलदिप कार्कीलाई दियो ।

उता धनगढीले पनि युवा फरवार्ड आशिष चौधरीलाई मार्की प्लेअर बनाएको थियो । तर, कप्तानीको जिम्मा देवेन्द्र तामाङलाई दियो । धनगढीको प्रशिक्षकमा पनि युगल किशोर राईले निरन्तरता पाएका थिए  ।

धनगढीमा पहिलो सिजन खेलेका ओलावाले आफिज यस सिजन पनि छन् । यस्तै यस बाहेक दुवै टिममा विदेशी खेलाडीहरु भने फेरिएको छ ।

काठमाडौं र धनगढीको इतिहास हेर्दा धनगढी हावी भएपनि पछिल्लो भेटमा भने काठमाडौं विजयी भएको थियो ।

धनगढीलाई पछिल्लो पटक हराउने टिम काठमाडौं नै हो । गत वर्ष फाइनलमा काठमाडौंले धनगढीलाई १-० ले हराएर उपाधि जितेको थियो । त्यसमा मेसुके ओलोमोउले एक मात्र गोल गरेका थिए ।

त्यसअघि लिग चरणमा भने धनगढीले काठमाडौंलाई सजिलै ३-० ले पराजित गरेको थियो । त्यसमा उनै ओलावालेले दुई तथा टंक बस्नेतले एक गोल गरेका थिए ।

यस्तै लिग चरणपछि पहिलो क्वालिफायरमा यी दुई टोली फेरि भिडेका थिए । जहाँ धनगढीले एक गोलले पछि परेको स्थिति उल्टाएर काठमाडौंलाई २-१ ले पराजित गरेको थियो । तेज तामाङको गोलमा ७५औं मिनेटमा काठमाडौंले अग्रता लिएको थियो । तर ७८औं मिनेटमा पुजन उपरकोटीले धनगढीका लागि बराबरी गोल गरे भने विशाल राईले अतिरिक्त समयममा विजयी गोल गरे ।

प्रतियोगिताको इतिहासमा अतिरिक्त समयमा भएको यो नै एक मात्र गोल हो ।

काठमाडौं र धनगढीबीच चौथो पटक भेट प्रतिस्पर्धातम्क खेलको अपेक्षा त छ नै यस खेलबाट शीर्ष चारमा कुन टिम कहाँ हुन्छ भन्ने समिकरण पनि केही हदसम्म बन्नेछ ।

धनगढीको टिम ।
काठमाडौंको टिम ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?