+
+

अनन्त तामाङ : एकै वर्ष दुई उपाधि, दुई एमभिपी अवार्ड

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० पुष १५ गते १३:०४

१५ पुस, काठमाडौं । वर्ष २०८० डिफेण्डर अनन्त तामाङका लागि विशेष रहृयो । अनन्त तामाङले नेपाली फुटबलमा एकै वर्ष दुई उपाधि र दुई मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) समेत हात पारे ।

शनिवार ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग २०२३ को उपाधि जितेपछि उनले एकै वर्ष शहीद स्मारक ए डिभिजन लिग र एनएसएलको उपाधि उचाले । त्यति मात्र होइन दुवै पटक लिग जित्दा उनी टिमको कप्तान थिए ।

लिगको उपाधिसँगै व्यक्तिगत रुपमा प्रदान गर्ने ठूलो अवार्ड मोस्ट भ्यालुएबल प्लेअरको अवार्ड समेत जितेपछि उनले यो जित आफ्ना लागि महत्वपूर्ण रहेको बताए । पहिलोपटक एनएसएल उपाधि जितेका उनले पोष्ट म्याच कन्फ्रेन्समा भने, ‘मेरो फुटबल जीवनमा यो उपाधि महत्वपूर्ण छ ।’

वर्षको सुरुवात अर्थात जेठमा अनन्तले चर्च ब्वाइज युनाइटेडबाट ए डिभिजन लिगको उपाधि जितेका थिए । त्यतिबेला पनि उनी टिमका कप्तान थिए र चर्च ब्वाइजलाई शीर्ष श्रेणीमा डेब्यु सिजनमै च्याम्पियन बनाउने महत्वपूर्ण भूमिका खेलेपछि उनले एमभिपीको अवार्ड पनि पाए ।

अहिले पुसमा पनि ललितपुर सिटीलाई पहिलो पटक एनएसएलको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले अनि व्यक्तिगत अवार्ड पनि पाए ।

एक हिसाबले अनन्त भाग्यमानी बने । किनभने ललितपुरले सुरुमा विमल घर्ती मगरलाई मार्की प्लेअरमा अनुबन्ध गरेको थियो । तर असोजमा विमलले सम्झौता तोड्दै अष्ट्रेलिया जाने निर्णय गरेपछि ललितपुरले अनन्तलाई मार्की बनायो । यसले दुवैलाई फाइदा भयो । ललितपुर र अनन्त भाग्यमानी बन्दै च्याम्पियन बने ।

अनन्तलाई फापेको ललितपुर

अनन्त धेरै कम बोल्छन् । मैदानमा भने डटेर भिड्छन् । उनी डिफेन्समा भरपर्दा खेलाडी हुन् । सेन्टर ब्याक भूमिकामा खेल्ने अनन्त विपक्षी स्ट्राइकरलाई रोक्न जब्बर त बन्छन् नै आवश्यक परेको बेला विपक्षीको पोष्टमा गएर खतरा समेत बन्ने गर्छन् । उनी विशेषगरी कर्नरमा आएको बललाई हेड मार्फत गोल गर्न माहिर छन् ।

एनएसएलको पहिलो खेलमै बुटवल लुम्बिनी विरुद्ध २-० को जितमा पनि अनन्तले गोल गरेका थिए । गोल रोक्ने, गोल गर्ने टिमलाई राम्रो नेतृत्व गर्ने अनि च्याम्पियन बनाउन सक्षम भएकैले अनन्त एमभिपी अवार्डको हकदार बने ।

एन्फा एकेडेमीका उत्पादन अनन्तले थ्री स्टारबाट घरेलु फुटबलमा इन्ट्री गरेका थिए । त्यो ललितपुरकै क्लब थियो । ए डिभिजन लिग जित्दा चर्च ब्वाइज पनि ललितपुरको क्लब थियो र हाल एनएसएलमा पनि ललितपुरकै फ्रेन्चाइज क्लबबाट उपाधि जिते ।

त्यसैले उनले आइतबार बिहानै कमर्थलोसँग जोडिएको जित भनेर लामो स्ट्याटस फेसबुकमा पोष्ट गरे । राष्ट्रिय खेलाडी बनाउन लागेको ऋण केही हदसम्म तिर्न सफल भएको उनको भनाइ छ ।

‘आज कर्मथलोसँग गाँसिएको जित । ललितपुर सिटी फुटबल क्लबसँग जोडिनु मेरा लागि विशेष थियो । जीवनको आधा समय ललितपुरमा रहेर आधारभूत फुटबल सिक्नेदेखि व्यावसायिक फुटबल खेल्ने अवस्थासम्म आइपुगें । फुटबल खेल्न जन्मथलोमै सिके पनि प्रतिनिधित्व गर्ने अवसर जुरेन । तर खेलमा निखार ल्याएर राष्ट्रिय खेलाडी बनाउन लागेको ऋण आज केही हदसम्म पूरा गरेको अनुभूति गरेको छु । देशको लागि खेल्ने र जित्ने अवस्थासम्म ल्याउने यो ठाउँ सधैं विशेष रहनेछ,’ उनले लेखेका छन् ।

नेपाली फुटबलको उर्बर भूमि झापाबाट आएका अनन्तले कर्मभूमि ललितपुरबाट लगातार फुटबल खेल्दै ठूलो उपलब्धि हासिल गरेका हुन् ।

यस्तै उनले एकै वर्ष दुई उपाधि जित्ने सौभाग्य मिलेकोमा सबैलाई धन्यवाद भन्दै यसलाई अझ राम्रो गर्न आत्मविश्वास बढेको बताएका छन् । ‘आज एकै वर्षमा देशको दुई ठूलो उपाधि जित्ने सौभाग्य मिल्यो । टोलीको सहकर्मीको साथले जितेको उत्कृष्ट खेलाडी अवार्ड मेरो दाइ फुर्वा र परिवारमा समर्पित गर्न चाहन्छु,’ प्रशिक्षक टोली, क्लब व्यवस्थापन र सहकर्मी खेलाडी नै जितको आधार भन्दै उनले लेखेका छन्, ‘मलाई चोटबाट पुनरागमन गरेर खेल्न योग्य बनाउने सम्पूर्ण डाक्टर र फिजियोप्रति सधैं आभारी छु ।’

उनले लेखेका छन्, ‘यी सफलताले मलाई अझै राम्रो गर्न सकिन्छ भन्ने आत्मविश्वास दिएको छ । यो यात्रामा अनवरत साथ दिएर मेरो करिअरको उतारचढावमा हरेक समय हौसला बढाउने समर्थकप्रति आभारी छु । आशा छ आउने दिनमा सफलताका कथा थपिनेछन् ।’

अनन्तले यस वर्ष अर्को एक उपलब्धि पनि हासिल गरे । त्यो भने राष्ट्रिय टिमबाट थियो । अनन्तले यसै वर्ष असारमा भारतको बेंगलुरुमा भएको साफ च्याम्पियनसिपमा कुवेत विरुद्ध पहिलो खेल खेलेपछि नेपालक लागि ५०औं क्याप समेत जितेका थिए ।

सन् २०१५ अगष्ट ३१ मा पुनामा भएको भारतविरुद्धको मैत्रीपूर्ण खेलबाट अनन्तले राष्ट्रिय टिममा डेब्यु गरेका थिए । त्यसयता अनन्त राष्ट्रिय टिमको मुख्य खेलाडीको रुपमा रहेका छन् । उनले नेपालका लागि ५८ खेल खेल खेल्दै ३ गोल पनि गरेका छन् ।

यस्तै अनन्तले भारतको शीर्ष श्रेणीको लिग इन्डियन सुपर लिग आईएसएल समेत खेलेका छन् । उनी आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी समेत हुन् । उनले २०२२ मा इस्ट बंगालबाट उक्त अवसर पाएका थिए ।

हाल राष्ट्रिय टिमका कप्तान किरणकुमार लिम्बुले राउण्ड ग्लास पञ्जाब एफसीबाट आईएसएल खेलिरहेका छन् । किरणको टिमले आई लिगको च्याम्पियन बनेर आईएसएलमा बढुवा पाएको थियो ।

झापाका २५ वर्षीय अनन्तले नेपालका लागि साफ यू-१९ साफ च्याम्पियनसिप, बंगबन्धु गोल्डकप, एएफसी सोलिडारिटी कप, दक्षिण एसियाली खेलकुद (सागमा दुई स्वर्ण) जितेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?