+
+
गोलकिपर विशाल श्रेष्ठ :

१० वर्ष बेञ्चमा बसेर पाएको त्यो १० मिनेट

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० पुष १४ गते २०:१९

१४ पुस, काठमाडौं । जून २०११ मा एशियाली विश्वकप छनोटको पहिलो चरणको दुवै खेल खेल्न इष्ट टिमोर नेपाल आउने भयो । अरू बेला जस्तै विशाल श्रेष्ठ पनि क्लोज क्याम्पमा परे । तर विशाललाई थाहा थियो, अन्तिममा फालिने म नै हुन्छु ।

किनकि पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङसँगै रितेश थापा, विकास मल्ल पनि बन्द प्रशिक्षणमा थिए । पछिल्लो दुई वर्षदेखि उनको नियति यस्तै भइरहेको थियो । तर यसपटक केही फरक भयो । मुख्य प्रशिक्षक ग्राहम रोबर्टले विशाललाई समेत समेटेर राष्ट्रिय टिममा चार जना गोलकिपर राख्ने निर्णय लिए ।

सन् २००९ मै मनाङ मर्स्याङ्दी क्लबमा आवद्ध भएका विशालका लागि त्यो अवसर सरप्राइज थियो । ‘यो योङ छ, नेपालको फ्युचर पनि भएकाले टिममा राख्नुपर्‍यो भनेर उहाँले अवसर दिनुभयो’ विशाल सम्झिन्छन्, ‘त्यो अनपेक्षित जस्तै भयो ।’

राष्ट्रिय टिममा स्थान बनाएपछि डेब्यूका लागि उनले गर्नु परेको पर्खाइ झन् अनपेक्षित रह्यो ।

उनलाई लागेको थियो, केही वर्षमै राष्ट्रिय टिमका लागि खेल्ने छु । त्यही आशमा महिना बिते, वर्षहरू बिते । तर उनले राष्ट्रिय टिममा डेब्यू गर्ने अवसर नै पाएनन् ।

१० वर्षमा नेपाली फुटबलमा धेरै परिवर्तन भयो, कति खेलाडी आए, कति गए हिसाब छैन । प्रशिक्षक मात्र १२ जना परिवर्तन भए, तर विशाल बेञ्चको बेञ्चमै रहे ।

यो अवधिमा नेपालले ८ मैत्रीपूर्णसहित कुल २५ खेल खेल्यो । तर कुनै प्रशिक्षकले पनि गोलकिपरमा किरणको विकल्प खोज्न चाहेनन् । अरूभन्दा अब्बल भएरै किरणले अवसर पाएका हुन् । तर उनीहरूको फासला ठूलो पनि होइन, १९/२० मात्र हो ।

तर नेपाली फुटबलमा छोटो समय मात्र बिताएका कुनै पनि प्रशिक्षकले जोखिम लिन चाहेनन्, किनकि मैत्रीपूर्ण खेलको नतिजा पनि उनीहरूका लागि महत्वपूर्ण हुन्थ्यो ।

निरन्तर बेञ्चमा बस्दा विशाललाई निकै छटपटी हुन्थ्यो । ‘म पनि मान्छे नै हुँ, कति पटक त डिमोटिभेट पनि भएँ’ बेञ्चमा बिताएका विशालले कठिन दिनहरू स्मरण गरे, ‘तर नेपालका लागि एउटा गेम त खेल्नुपर्छ भनेर आफैंलाई मोटिभेट गरिरहें ।’

टिममेट र परिवारका सदस्यहरूले पनि निरन्तर साथ दिइरहे । ‘परिवारको एकदम समर्थन भयो’ उनी भन्छन्, ‘दिदीहरू, बुबा, ममी, श्रीमती इलिशा, छोरी वेदांशी सबैको साथ पाएँ । उहाँहरूले सधैं जाऊ खेल, तिम्रो सपना हो भनिरहनुभयो ।’

विशाललाई पनि राष्ट्रिय टिमबाट खेल्ने बाल्यकालदेखि नै साँचेको सपना पूरा नगरी छोड्न मन लागेन । ‘फुटबल मेरो प्यासन, अनि ड्रिम पनि हो’ २०१५/१६ पछि आफैंलाई कम्तीमा एउटा खेल त खेल्छु भनेर आफैंलाई मोटिभेट गरेको विशालले सुनाए ।

एक दशक लामो धैर्यपछि उनले २० नम्बर अंकित जर्सी लगाएर नेपालको सिनियर टिममा खेले ।

विशालले पाएको त्यो १० मिनेट

२ सेप्टेम्बर २०२१ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भारतबीच मैत्रीपूर्ण खेल थियो । घरेलु मैदानमा भएको त्यो खेलमा पनि विशाल बेञ्चमै थिए, तर खेल सकिन केही मिनेट बाँकी छँदा वैकल्पिक खेलाडीको रूपमा डेब्यू गरे ।

विशालका अनुसार प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ‘खेल्ने अवसर दिन्छु, मानसिक रूपमा तयार रहनू’ त भनेका थिए । साँच्चै अवसर दिएपछि उनी निकै भावुक बने । खेलपछि प्रशिक्षक अल्मुताइरीलाई अँगालो मारे । दशरथ रंगशालाबाट बाहिरिंदा पनि गोलरक्षककै पहेंलो जर्सी लगाए ।

त्यो क्षण सम्झिंदा उनी अहिले पनि निकै इमोशनल हुन्छन् । ‘८६ मिनेटमा म इन भएको थिएँ । मैदानमा इन्जुरी टाइम समेत गरेर मुश्किलले ९/१० मिनेट बिताएँ’ कप्तान किरण चेम्जोङलाई रिप्लेस गरेको क्षण सम्झिंदै उनी भन्छन्, ‘करियरमा धेरै महत्वपूर्ण खेलहरू खेलें, त्यो १० मिनेट सबभन्दा महत्वपूर्ण रह्यो ।’

त्यसपछि पनि उनी दुई वर्ष नियमित जस्तो टिममा रहे, तर मैदान उत्रिने अवसर कहिल्यै पाएनन् । नयाँ पुस्ताका खेलाडीहरू पनि आइसकेकाले विशालले गत असारमा भारतको बैंग्लोरमा भएको साफ च्याम्पियनसिपका बेला सन्यास लिन चाहेका थिए । कुवेत र भारतसँग हारसँगै नेपाल बाहिरिइसकेकाले अन्तिम खेलमा पाकिस्तान विरुद्ध उनलाई बिदाइ दिने अवसर पनि थियो ।

खै किन हो, उनले त्यो अवसर पाएनन् । त्यसपछि उनले राष्ट्रिय टिमलाई माया मारिसकेका थिए, ६ पुसमा औपचारिकता दिए ।

नेपाल सुपर लिगमा आफ्नो टिम चितवन एफसीको अन्तिम खेलमा झापा एफसीलाई २–० ले हराएपछि पोष्ट म्याच प्रेस कन्फ्रेन्समा विशालले अब राष्ट्रिय टिममा नखेल्ने आफ्नो निर्णय सुनाए । ‘साफ च्याम्पियनसिपपछि गोलकिपर कोचसँग रिटायर्ड हुन्छु भनेर अनअफिसियल्ली भनेको थिएँ’ उनले भने, ‘आज समय मिलेकाले जानकारी गराउन चाहन्छु ।’

किरण चेम्जोङसँग प्रतिस्पर्धा गर्दागर्दै दशक बिताएका उनी नेपालका लागि खेल्न पाएकोमै खुसी छन् । ‘एन्फा एकेडेमीमा पर्दादेखि नै नेपालको राष्ट्रिय टिमबाट खेल्ने धोको थियो’ उनले भने, ‘नेपाली फुटबलमा योगदान दिन पाएकोमा खुसी छु ।’

त्यो उम्दा सुरुवात

देशका लागि १२ वर्षमा मात्र एक खेलमा अवसर पाएका विशाल क्लब फुटबलमा भने भाग्यमानी मानिन्छन् ।

उनले सुरुमै घरेलु फुटबलमा सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दीबाट खेल्ने अवसर पाएका थिए । एन्फा एकेडेमीको चौथो ब्याचका खेलाडीहरूलाई २०६६ मा मनाङ, संकटा र मछिन्द्र क्लबमा गोलाप्रथाबाट बाँडिएको थियो ।

विशाल मनाङमा परे । ‘भाग्यवश म त्यहाँ पुगें’ त्यही सिजन डेब्यू गरेका उनी भन्छन्, ‘त्यति चाँडै मनाङबाट खेल्छु भनेर सोचेकै थिइनँ । किनकि मनाङ उत्कृष्ट क्लब थियो । बरु संकटा र मछिन्द्रमा परे खेल्न पाउँछु भन्ने थियो ।’

त्यसपछि एकदशक मनाङबाट खेले । त्यो अवधिमा उनले दुई पटक लिग जिते । दुवै पटक बेस्ट गोलकिपर बने । २०७६ सालमा उनी सहित मनाङबाट चर्चित खेलाडीहरू मछिन्द्र क्लबमा गए । त्यहाँ पनि विशालले लगातार दुई पटक लिग जिते । मछिन्द्रमा लगातार दोस्रो पटक लिग जित्दा उनी बेस्ट गोलकिपर घोषित भएका थिए ।

त्यही सिजन घरेलु लिगमा दुर्लभ कीर्तिमान पनि बनाएका छन् । लिगमा लगातार ११ खेलमा क्लिनसिट राख्ने क्रममा उनले १ हजार ९५ मिनेट गोल नखाएको कीर्तिमान बनाएका हुन् ।

‘गोलकिपर भएकाले मेरो नाम आयो, तर यो क्रेडिट २०७८ सालको मछिन्द्रको ब्याचलाई जान्छ’ उनी भन्छन्, ‘फर्वार्ड फस्ट डिफेन्डर बन्यो भने मिडफिल्ड र डिफेन्सले राम्रो गर्छ । मैले त सेभ गर्ने हो ।’

उनले लिगमा सय खेल पनि खेलेका छन् । पछिल्लो समय लिग नै निरन्तर नभएको अवस्थामा सय खेल सानो उपलब्धि होइन, तर विशाल यसमा खासै खुसी छैनन् ।

राष्ट्रिय टिमबाट सन्यास लिए पनि घरेलु फुटबललाई निरन्तरता दिने सोचमा रहेका उनी भन्छन्, ‘नेपालको फुटबलको प्रोपर क्यालेन्डर छैन, लिगहरू कहिले हुने टुङ्गो हुँदैन । रेगुलर फटबल भए खेलाडीहरू लयमा हुँदा विदेश जानुपर्ने थिएन ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?