+
+
एनएसएलका सर्वाधिक गोलकर्ता इमोह इजेकेल :

‘फुटबलमा जसले धेरै खर्च गर्छ, उसैले जित्छ’

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० पुष २० गते ११:१३

२० पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को उपाधि ललितपुर सिटी एफसीले जित्दा सर्वाधिक गोलकर्ता बने ललितपुरकै नाइजेरियन इमोह इजेकेल ।

एनएसएलमा ६ गोल गरेका उनको नाम एनएसएलअघि नेपालमा खासै सुनिएको थिएन । तर उनी एनएसएल खेल्ने हाई प्रोफाइल खेलाडीमध्ये एक हुन् ।

नाइजेरियाको राष्ट्रिय टिमका लागि पनि खेलिसकेका उनी सन् २०१६ को रियो ओलम्पिकमा नाइजेरियन यु-२३ टिमले कांस्य पदक जित्दा टिमको सदस्य थिए ।

टिमलाई एनएसएलको उपाधि जिताएका र आफूले गोलकर्ताको अवार्ड हात पारेका इमोह नेपालमा पाएको सफलताले खुशी छन् । ‘मैले नेपालमा रहँदाको मेरो समय पूरा इन्जोय गरेँ’, इमोहले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘सबैभन्दा महत्वपूर्ण भनेको ललितपुर सिटीबाट एनएसएल जित्नु हो । एकदमै राम्रो लागिरहेको छ ।’

लिग चरणमा खेलेका ८ खेलमध्ये उनले वीरगञ्ज युनाइटेडविरुद्ध जम्मा एक गोल गरेका थिए । तर प्लेअफमा ललितपुरले लगातार तीन खेल जित्दा इमोहले सबै खेलमा गोल गरे । प्लेअफको तीन खेलमा उनले पाँच गोल गरे । त्यसमा एलिमिनेटरमा काठमाडौं र फाइनलमा धनगढीविरुद्ध उनले २-२ गोल गरेका थिए भने क्वालिफायर टु मा पोखराविरुद्ध १ गोल गरेका थिए ।

‘म कहिले पनि धेरै गोल गर्नेबारे सोच्दिँन । म राम्रो फुटबल खेल्न चाहन्छु र जित्ने प्रयास गर्छु’, इमोहले भने, ‘मैले टिमको उपलब्धि हासिल गर्नका लागि गोल गर्न प्रयास गर्ने हो ।’

सुरुमा यहाँको वातावरण बुझ्न समय लागेकाले गोल नभएको उनले बताए । ‘पहिलो ८ खेलमा म यहाँको कल्चर र मानिसको बारेमा बुझ्ने प्रयासमा थिएँ । टिमले कसरी खेल्छ भन्ने बुझेँ’, इमोहले भने, ‘नकआउटमा म केही अभ्यस्त भइसकेको थिएँ र मैले किक गरेँ, गोल भयो ।’

 फाइनलको त्यो दुई गोल

धनगढी एफसी विरुध फाइनलमा ललितपुरले ३-२ को जित हात पार्दा इमोहले दुई महत्वपूर्ण गोल गरेका थिए । एक गोल भने दिनेश हेम्जनले गरेका थिए ।

दशरथ रंगशालामा भएको फाइनल खेलमा नाइजेरियाकै ओलावाले आफिजले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए ।

तर ललितपुरका लागि इमोहले नै बराबरी गोल फर्काए । पहिलो हाफको इन्जुरी टाइमको अन्तिमसमयमा ललितपुरले फ्रिकिक पाएको थियो र त्यही फ्रिकिकमा इमोहले बराबरी गोल फर्काए । उनकै गोलबाट ललितपुर खेलमा फर्किएको थियो । ‘त्यो फ्रीकिकले हामीलाई खेलमा फर्कायो र दोस्रो हाफमा हामीले खेलमा पकडमा राख्यौं’, उनले दशरथ रंगशालाको प्रतिस्पर्धात्मक फाइनल सम्झे ।

फाइनलमा रंगशालाभरि दर्शकको अगाडि गोल गर्दा रमाइलो भएको इमोह बताउँछन् । ‘फाइनल खेल अनि फुल स्टेडियममा जब तपाईँ एक्रोब्याटिङ गोल गर्नुहुन्छ त्यो सधैं रमाइलो हुन्छ । धेरै रमाइलो लाग्यो र मैले त्यसमा इन्जोय गरेँ’, उनले भने ।

नेपाल आएर खेल्न पाउनु आफ्ना लागि पनि रमाइलो भएको र अब यो इतिहास भइसकेको उनले बताए । ‘मेरो लागि पनि यो महत्वपूर्ण हो । नेपाल आएर खेलें, टप स्कोरर भएँ र हामी च्याम्पियन भयौं । यो मेरो इतिहासको पार्ट भइसक्यो ।’

लाखे कल्चर मन पर्‍यो

एनएसएल टिम ललितपुर सिटीको लोगोमै लाखे छ । त्यसैले ललितपुरको खेला हुँदा टिमले दशरथ रंगशालमा लाखे नचाउने र धिमे बाजा बजाउने गरेको थियो । जुन नेपाली खेलाडीका लागि नयाँ नभए पनि विदेशी खेलाडीहरुका लागि भने अनौठो थियो ।

पहिलो पटक यस्तो माहोल देखेका इमोहले यसलाई आफूले कल्चरको रुपमा बुझेको बताए । ‘मैले मेरो लाइफमा यस्तो लाखे पहिले देखेको थिइनँ । यो एउटा कल्चर जस्तै हो’, उनले भने, ‘उनीहरुको फ्यान बेस एउटा कल्चर जस्तै थियो । लाखेआयो, लाखे जस्ता कुरा र  यस्तो फ्यान देखेको थिइनँ ।’

ललितपुरका समर्थकले खेलाडीको निक्कै हौसला बढाएको उनले सुनाए । ‘ललितपुरका फ्यानले हामीलाई धेरै हौसला बढाए । जुन धेरै राम्रो हो ।’

नेपालको खेल र संस्कृतिले मन जितेको बताउने उनी नेपाल आएर खेल्न आफू सधैं तयार रहेको बताउँछन् ।

ललितपुरको जित सुत्र : राम्रो म्यानेजमेन्ट

यस पटक ललितपुरमा कप्तान अनन्त तामाङसहित नेपाली राष्ट्रिय टिमका चार खेलाडी थिए । इमोहसहित नाइजेरायका दुई, फ्रान्सका दुई र भारतका एक गरी पाँच विदेशी खेलाडी थिए ।

समग्रमा ललितपुरले अक्सनदेखि विदेशी खेलाडीसम्म राम्रो अनुबन्ध गरेर सन्तुलित टिम बनाएको थियो र पेपरमा पनि सुरुमै बलियो देखिएको थियो ।

टिम म्यानेजमेन्टले राम्रो काम गरेकोले नै टिम राम्रो बनेको इमोहले बताए । ‘यो सबैको क्रेडिट ललितपुर टिम म्यानेजमेन्टलाई जान्छ । उनीहरुले फ्यान्टास्टिक काम गरे’, उनले भने, ‘यी सबै खेलाडीलाई एकजुट बनाएर सँगै खेलाउन सके । टाइमसँगै बितायौं र म्यानेमेनटले राम्रो काम गर्‍यो ।’

इमोहले अन्तर्राष्ट्रिय फुटबलको उदाहरण दिँदै फुटबलमा धेरै खर्च गर्नेले नै जित्ने गरेको बताए । ‘म्यानचेस्टर सिटीले खेलाडी किन्नमा धेरै खर्च गर्‍यो र उसले च्याम्पियन्स लिग जित्यो, प्रिमियर लिग जित्यो,’ उनले भने, ‘जसले राम्रो खेलाडीमा खर्च गर्छ उसले रिजल्ट ल्याउँछ र जित्छ । ललितपुरले पनि त्यही गरेको हो ।’

तर इमोहले ललितपुरले आफूलाई दिएको रकमबारे केही खुलाएनन् । एनएसएलमा एउटा फ्रेन्चाइजले करिब २ करोड रुपैयाँसम्म लगानी गरेको आकलन रहे पनि आधिकारिक रुपमा कुनै पनि टिमले आम्दानी र खर्चको सार्वजनिक गरेका छैनन् ।

राष्ट्रिय टिमबाट खेल्नु सधैं विशेष

३० वर्षीय इमोहले नाइजेरियाको राष्ट्रिय टिमबाट जम्मा एक खेल खेले । तर पनि राष्ट्रिय टिमबाट खेल्नु आफ्नो लागि सधैं विशेष हुने उनी बताउँछन् ।

‘नेशनल टिमको लागि खेल्नु सधैं राम्रो अनुभव हुन्छ । विशेषगरी नाइजेरियन नेशनल टिमबाट । किनभने त्यो देशमा २० करोड जनसंख्या छ र त्यसमा २३ जना फुटबल टिम भित्र म एकजना पर्छु भने गर्वको विषय हो । धेरै ठूलो ठूलो उपलब्धि हो ।’ उनले सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा कांस्य पदक जितेका थिए । जसलाई उनी ठूलो उपलब्धि मान्छन् ।

२०१४ मा नाइजेरियाको टिमबाट मेक्सिको विरुद्धको खेल खेलेका थिए । त्यसमा उनले भिक्टोर मोसेसलाई रिप्लेस गर्दै डेब्यु गरेका थिए । ‘मैले १६ मिनेट राष्ट्रिय टिमको लागि खेलेँ र त्यो मेरो लागि विशेष क्षण हो ।’

राष्ट्रिय टिममा अवसर पाउनुअघि उनले बेल्जियन क्लब स्ट्यानडर्ड लिगबाट राम्रो खेलिरहेका थिए । त्यतिबेला जम्मा २० वर्षका उनले लिगमा ९ गोल गरेका थिए । जसले गर्दा नाइजेरियन प्रशिक्षक स्टेफेन केसीको नजर उनमा परेको थियो ।

राष्ट्रिय टिमबाट डेब्यु गरेपछि ब्राजिलमै भएको २०१४ को विश्वकप खेल्ने उनको धोको थियो । तर उनले फेरि नाइजेरियाको लागि खेल्न पाएनन् । ‘त्यो बेला विश्वकप खेल्ने टिममा पर्छु भन्ने आशा थियो, तर दुर्भाग्य परिनँ, म निक्कै रिसाएको थिएँ ।’

अहिले आफू ३० वर्षको भएको र  त्यो कुरा बिर्सिसकेको भन्दै उनले अब चिन्ता नभएको बताए । केही वर्ष फुटबलमै बिताउने लक्ष्य राखेका उनी राष्ट्रिय टिमबाट खेल्न फेरि प्रस्ताव आउँला भन्ने आशामा छन् ।

टोटनहमविरुद्ध गोल गर्नु उत्कृष्ट क्षण

इमोहले नाइजेरियाको ३६ लायन्सबाट युथ करियर सुरु गरेका थिए । तर त्यसपछि भने उनको फुटबल करिअरको धेरै समय युरोपमै बित्यो । उनले बेल्जियमको महारथी एन्डरलेक्ट र स्ट्यानडर्ड लिगबाट खेले ।

स्पेनको लस पालमस, टर्कीको कोन्यासपोजरबाट पनि खेले । पछिल्लो समय उनले यूएईका क्लबहरु अल-जजिरा र अल घार्फाबाट पनि खेले ।

इमोहले २०१५-१६ को सिजन एन्डरलेक्टमा लोनमा बिताउँदा युरोपको दोस्रो श्रेणीको क्लब फुटबल युरोपा लिग समेत खेलेका थिए । यो उनको क्लब फुटबलकै उच्च स्तरको खेल थियो ।

त्यसबेला समूह चरणमा इंग्लिस क्लब टोटनहम विरुद्ध खेल्दै इमोहले गोल गरेका थिए । त्यस खेलमा टोटनहम २-१ ले विजयी भएको थियो । र त्यसमा एन्डरलेक्टका लागि बराबरी गोल उनै इमोहले गरेका थिए । त्यसलाई उनी उत्कृष्ट क्षण मान्छन् । ‘युरोपा लिग ठूलो प्रतियोगिता हो । धेरै राम्रो अनुभव रह्यो । धेरै राम्रो अनुभव भयो । टोटनहम विरुद्ध युरोपा लिगमा खेल्नु फ्यान्टास्टिक थियो । त्यो खेलमा बराबरी गोल गरेको थिएँ । राम्रो भयो ।’

एन्डरलेक्ट, लस पालमस जस्ता क्लबबाट खेल्दा धेरै कुरा सिक्ने अवसर पाएको उनले बताए । ‘जब तपाईंले एन्डरलेक्ट जस्तो टिमबाट खेल्नुहुन्छ भने त्यहाँ कसैले जोक गर्दैन । तपाईं तयार हुनुभएन टिमबाट बाहिरिनुहुन्छ’, उनले भने, ‘मैले त्यहाँ धेरै कुराहरु सिकें ।’

नाइजेरियाबाट युरोप हुँदै कतार, यूएईबाट खेल्न नेपाल आएका उनी फुटबलमा त्यस्तो धेरै फरक नरहेको बताउँछन् । तर फुटबलमा आएको आधुनिक शैली भने फरक रहेको उनी बताउँछन् ।

‘फुटबल जहाँ पनि उस्तै हो । खासै फरक छैन । त्यही बल नै खेल्ने हो । तर बाहिर देशमा आधुनिक छ’, उनले भने, ‘बाहिर विदेशका धेरै खेलाडीले खेल्छन् । तर नेपालमा थोरै विदेशी खेल्छन् । अन्य देशमा धेरै विदेशी हुँदा राम्रो खेल हुन्छ । भारतमा पनि धेरै विदेशीले खेल्छन् ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?