+
+

किन भएन यो वर्ष ए डिभिजन लिग ?

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० फागुन १५ गते १७:५८
शहीद स्मारक ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज क्लब । फाइल तस्वीर

१५ फागुन, काठमाडौं । लिग फुटबल कुनै पनि देशको राष्ट्रिय फुटबल टिम निर्माणको मेरुदण्ड मानिन्छ । त्यसमा पनि शीर्ष डिभिजनको लिग अझै महत्वपूर्ण हुन्छ । यहीबाट खेलाडीहरुले आफ्नो प्रतिभा देखाउने अवसर पाउँछन् र राष्ट्रिय टिममा दाबेदारी प्रस्तुत गर्छन् ।

तर नेपालमा भने लिग फुटबल हुने मितिको कुनै टुङ्गो हुँदैन । यस्तोमा सबैभन्दा ठूलो लिग शहीद स्मारक ए डिभिजन ल यस सिजन (यस वर्ष) नहुने पक्का भएको छ ।

अखिल नेपाल फुटबल संघ  (एन्फा) को सोमबार सम्पन्न वार्षिक साधारण सभाले यो सिजन ए डिभिजन लिग नै नगर्ने गरी फुटबलको वार्षिक क्यालेन्डर पारित गरेको छ  ।

पछिल्लो सिजनको लिग ढिला सुरु हुँदा २०८० को जेठमा सम्पन्न भएको थियो । जुन अघिल्लो सिजनकै लिग हो । यस वर्षको मध्यतिर नयाँ सिजनको लिग सुरु हुनुपर्ने भए पनि आन्तरिक विवादमा रुमल्लिरहेको एन्फा नेतृत्वले लिग गर्न सकेन ।

सोमबार सार्वजनिक भएको वार्षिक क्यालेन्डर २०२४ (२०८०-८१) अनुसार ए डिभिजन लिग अर्को वर्ष अर्थात २०८१ साल पुसमा मात्र सुरु हुनेछ ।

जसअनुसार ए डिभिजन लिग २०८० साल पुस १२ देखि २०८२ साल जेठ १५ गतेसम्म सञ्चालन हुनेछ । एन्फाले सार्वजनिक गरेको क्यालेन्डरमा उक्त लिग डबल राउण्ड रोविनमा हुने उल्लेख छ । यस्तै विकेन्डमा हुने लिगमा शुक्रबार, शनिबार र आइतबार दुई-दुई खेल गर्ने योजना छ ।

यो वर्ष विभिनन् कारणले गर्दा ए डिभिजन लिग गर्न नसकेको एन्फा महासचिव किरण राई बताउँछन् । ‘पहिलो कुरा नियमित साधारण सभा हुन सकेन । जहाँबाट वार्षिक कार्यक्रमका लागि बजेट पास हुनुपर्ने हुन्छ,’ यो सिजन लिग किन भएन भन्ने प्रश्नको जवाफमा उनले थपे, ‘दोस्रो कारण अध्यक्ष र महासचिवकै बर्खास्तीको प्रस्ताव आउँदा इतिहासमै पहिलो पटक यस्तो अवस्था सामना गर्नुपर्‍यो । जसले गर्दा पनि असर गर्‍यो ।’

एन्फाकै इतिहासमा एन्फाको बहुमत सदस्यले अध्यक्षको बर्खास्तीको राखेका थिए । तर हेटौंडामा भएको विशेष साधारण सभामा बहुमत जुटाएर पंकज विक्रम नेम्वाङ पद जोगाउन सफल भए । महासचिव राई अध्यक्षको बर्खास्तीकै मागका कारण नियमित साधारण सभादेखि वार्षिक कार्यक्रमहरुमा समेत असर गरेको दाबी गर्छन् ।

उनले बी र सी डिभिजन क्लबहरुसँग छलफल लम्बिँदा त्यसको मिति घोषणा हुन पनि समय लागेकोले ए डिभिजन लिग पछि सरेको बताए । ‘बी र सी डिभिजन क्बलहरुसँग छलफल जारी थियो । बी र सी लिगको मिति पनि बल्ल पास भयो । त्यसले गर्दा पनि ए डिभिजन पछि धकेलियो’, राईले भने, ‘अर्को कुरा लिग फुटबलको पिरामिड बनाउने प्रक्रियामा रहेकोले पनि ए डिभिजन लिग पछि धकेलिएको हो ।’

महासचिव राईले सबै कुरा राम्रोसँग अघि बढेको भए सबै कार्यक्रमहरु प्रक्रियामा नै हुने भनेका छन् । ‘सबै कुरा स्मुथली गएको भए, कन्ट्रोल फण्डिङ नभएको भए, अध्यक्ष महासचिव बर्खास्ती प्रस्ताव नपरेको भए ए, बी र सी सबै राम्रोसँग जान्थ्यो ।’

ए डिभिजन लिग नेपालको शीर्ष लिग हो । यो लिग नहुँदा धेर खेलाडी विदेशिएका छन् र यो क्रम अझ जारी छ । एन्फा महासचिव किरण राई पनि शीर्ष डिभिजनको लिग नहुँदा असर पर्ने स्वीकार्छन् । तर फुटबल नै बन्द नभएको तर्क पनि गर्छन् । ‘ए डिभिजन लिग नै शीर्ष डिभिजन लिग हो र यो नहुँदा त असर हुन्छ नेपाली फुटबल विकासमा,’ राईले भने, ‘फुटबल नै नभएको भन्न मिल्दैन देशभर फुटबल भइरहेको छ । फुटबल भइरहन्छ ।’

आगामी वर्षदेखि डिभिजन लिगको पिरामिडलाई सिस्टमेटिक रुपमा अगाडि बढाउँदै लैजाने एन्फाको योजना रहेको उनी बताउँछन् ।

‘अब अर्को वर्षका लागि हामीले वार्षिक कार्यक्रमहरु सार्वजनिक गरिसकेका छौं । जहाँ उमेर समूहदेखि महिला लिगसम्मका कार्यक्रमहरु छन् । अब आउने दिनमा हामी यसलाई राम्रोसँग अघि बढाउँछौं,’ राईले भने ।

वर्ष २०८० मा भने एन्फाले पहिलो पटक आयोजना गरेको एन्फा यू-१६ युथ लिग सम्पन्न गर्‍यो । यस्तै वार्षिक क्यालेन्डर अनुसार यही फागुन २५ गतेदेखि जिल्ला लिग सुरु हुने कार्यक्रम छ ।

२२ चैतदेखि सी डिभिजन लिग र २५ चैतदेखि बी डिभिजन लिग सुरु गर्ने कार्यक्रम क्यालेन्डरमा उल्लेख छ ।

एन्फा वुमन्स फुटबल लिग/च्याम्पियनसिप राउण्ड १ को खेलहरु पनि यही वर्ष २५ चैतदेखि सुरु गर्ने र १५ वैशाख २०८१ सम्म सञ्चालन गर्ने कार्यक्रम तय छ । यसको अन्तिम राउण्ड भने २०८१ जेठदेखि असारमा गर्ने क्यालेन्डरमा उल्लेख छ ।

एन्फाले दुई वर्षपछि महिला पुटबल लिग गर्ने तयारी गरेको हो । यसअघि २०७८ चैतमा पछिल्लो पटक राष्ट्रिय महिला लिगको पहिलो चरण भएको थियो र तर नयाँ नेतृत्वले महिला लिगको दोस्रो चरणको खेल नै नगरी पहिलो चरणको नतिजाको आधारमा विजेता घोषणा गरेको थियो ।

नेपालकै पहिलो फ्रेन्चाइज लिगको रुपमा रहेको नेपाल सुपर लिगको लागि एन्फाले २०८१ असोज-कात्तिकको मिति छुट्याएको छ । यस वर्ष ए डिभिजन लिग नहुँदा नेपाल सुपर लिग मात्र भएको थियो ।

यस बाहेक वार्षिक क्यालेन्डरमा ग्रासरुट लिग, प्रदेश लिग, ललित स्मृति यू-१८ युथ लिग, यू-१८ महिला युथ लिग, यू-१४ गर्ल्स र ब्वाइज लिग, ए डिभिजन र बी डिभिजन फुटसल लिगको कार्यक्रम समावेश छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?