+
+

एनसेलको सेयर खरिदबिक्री स्वाभाविक छैन : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते १२:०८

३ पुस, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद बिक्री स्वाभाविक नभएको बताएका छन् । उनले यसमा कहिँ न कहिँ गडबडी भएको आशंका गरेका छन् ।

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

आफू जलवायु सम्मेलनको क्रममा दुबईमा भएको बेला ऐनसेलको शेयर खरिदबिक्री भएको भन्नेबारे सुनेको र स्वदेश फर्किनासाथ सञ्चार मनत्रालय र नियामक निकायलाई निर्देशन जारी गरेको उनले बताए ।

यसमा कहिँ न कहिँ गलत छ भन्ने लागेरै छानबिन समिति समेत बनाएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

‘जुन सरकारलाई सहज नलागेकै हुनाले मैले सुरुमै निर्देशन जारी गरेको पनि हो । सहज छैन, स्वाभाविक छैन यो खरिदबिक्री भन्ने देखिएकै हुनाले नै निर्देशन जारी गर्नु परेको हो,’ उनले भने, ‘यसमा कहिँ न कहिँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको हो ।’

एनसेलबारे अध्ययन गर्न गत मंसिर २१ गतेको मन्त्रिपरिषद बैठकले  पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । ५ सदस्यीय अध्ययन तथा छानविन समितिले एक महिनाको कार्यावधि पाएको छ ।

यसमा कहिँ कतैबाट कानुन विपरीतको काम भए गरेको पाइएमा कानुन बमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए ।

एनसेलमा ८० प्रतिशत हिस्सा शेयर ओगट्ने रेनोल्ड होल्डिङ्स नामक सेन्ट किट्समा दर्ता भएको कम्पनीको स्वामित्व हालै मलेसियाको आजियटाले गैरआवासीय नेपाली सतीशलाल आचार्यको स्पेक्ट्रलाइट युकेलाई बेचेको घोषणा गरेको थियो ।

कम्पनी खरिद बिक्रीको निर्णय सार्वजनिक भएपछि यो कारोबार आकस्मिक र अविश्वसनीय रहेको भन्दै प्रश्न उठेको छ । सत्ता गठबन्धन र विपक्षी दलका कतिपय नेताहरुले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा उच्च राजनीतिक नेतृत्वको मिलेमतो हुनसक्ने आशंका गर्दै सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?