+
+

प्रहरीमा ७ एसपी पदका लागि १२ डीएसपीबीच प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १२:४५

४ पुस, काठमाडौं । नेपाल प्रहरीमा रिक्त ७ प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि १२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिस्पर्धामा छन् ।

५ मंसिरमा पाँच एसपी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि रिक्त एसपीको संख्या ७ पुगेको थियो । त्यसका लागि अघिल्लो एसपी बढुवामा छुटेका १२ जना डीएसपी प्रतिस्पर्धामा छन् ।

२०६१ सालमा प्रहरी निरीक्षकबाट भर्ना भएका टोलीमध्ये अहिले बढुवाका लागि प्रदीपबहादुर क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार र निरञ्जनदत्त भट्ट प्रतिस्पर्धामा छन् ।

त्यस्तै, राजन लिम्बु, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे पनि प्रतिस्पर्धामा छन् ।

प्रहरीमा पछिल्लो केही समययता सिनियारिटीका आधारमा बढुवा हुँदै आएकाले त्यही कायम हुनुपर्ने भन्दै शीर्ष ७ मा रहेकाहरुले लबिइङ गरिरहेका छन् ।

यद्यपि, वरीयतामा पछाडि रहेका राजन लिम्बु, सन्तोष तामाङ र विनोद घिमिरेले पनि शक्तिकेन्द्रमार्फत प्रहरी नेतृत्वसामु दबाब दिइरहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

लिम्बु र तामाङ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका निजी सुरक्षा अधिकृत (पीएसओ) का रुपमा काम गरेको अफिसर हुन् । घिमिरे हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पीएसओ बसिसकेका अधिकृत हुन् ।

तीन जनालाई बढुवा गराउन तीव्र दबाब आएपछि प्राविधिक तर्फको एउटा दरबन्दी जनपथतर्फ ल्याएर रिक्त दरबन्दी बढाउने प्रयास समेत भएको थियो ।

एसएसपी मोहन पोखरेलले राजीनामा दिएपछि खाली रहेको दरबन्दीमा समेत बढुवा गरेर दुई जनालाई बढुवा गर्न लबिइङ भएको थियो । यद्यपि, हालसम्म त्यो प्रस्ताव अघि बढेको छैन ।

प्रहरी अधिकृतहरुका अनुसार, वरियताक्रम अनुसार बढुवा हुने भए केही दिनअघि नै सूचना निस्किसक्थ्यो । तर, वरियतामा पछाडि रहेकाहरुको तीव्र लबिइङका कारण बढुवामा ढिलाइ भएको अधिकृतहरु बताउँछन् ।

विगतमा अवैज्ञानिक रुपमा बढुवामा छुटाइएको भन्दै एसपी नरेन्द्र उप्रेती, आभुषण तिम्सिना लगायतले राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?