+
+

विदेशी सहयोगहरुको निगरानी हुनुपर्छ : सभामुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते १३:३०

६ पुस, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विदेशी सहयोगहरुको सही सदुपयोग हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विदेशी संघसंस्थाहरुले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरु ल्याइरहने क्रम बढिरहेका भन्दै यसको निगरानी हुनुपर्ने बताए ।

उनले भने, ‘अहिले एउटा ट्रेन के बढिरहेको छ भने विदेशी संघसंस्थाहरुको उद्देश्य पूरा गर्नका लागि कसरी छिटो त्यसलाई खर्च गर्न सकिन्छ ? त्यो ढंगबाट गइरहेको छ । तर त्यो हाम्रो आवश्यकता हो की होइन, यसको बारेमा विश्लेषण गर्ने, त्यसलाई सिस्टममा ल्याउने कुरा कसरी गर्नुपर्छ वा यसको महत्व के छ भन्नेबारेमा धेरै बहस छलफलले हुँदैन। त्यसैले वैदेशिक सहयोगहरुको सदुपयोग ठिक ढंगबाट गर्नका लागि आम जनताको पहुँचमा यी कुराहरु पुग्नुपर्छ ।’

उनले वैदेशिक सहयोगहरुको सदुपयोग ठिक ढंगबाट गर्नका लागि आम जनताको पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने बताए ।

उनले देशको विकास गर्न विभिन्न वैदेशिक संघ संस्था, राष्ट्र र कार्यक्रमहरुमार्फत आइरहेका सहयोगहरुलाई सरकारमार्फत संसदमा पेस गर्ने र संसदले त्यसको प्रयोग कहाँ, कुन क्षेत्रमा र कसरी गर्नुपर्छ भन्नेबारेमा बजेट वा नीतिअन्तर्गत कार्यान्वयनमा लैजानुपर्ने बताए ।

‘आज देशमा भइरहेको आर्थिक उन्नतिलाई अथवा देशको विकास गर्नलाई वैदेशिक संघसंस्थाहरुमार्फत, राष्ट्रहरुमार्फत कार्यक्रमहरुमार्फत आइरहेका सहयोगहरुलाई सरकारमार्फत संसदमा पेस गर्ने र संसदहरुले त्यसको प्रयोग कहाँ र कुन क्षेत्रमा कसरी गर्नुपर्छ भन्ने बजेट वा नीतिअन्तर्गत छलफल गरिसकेपछि त्यो कार्यान्वयनमा कसरी गइरहेको छ ? मनिटरिङ गर्ने कुराहरुमा संसद प्रभावकारी हुनुपर्छ ।’ उनले भने ।

उनले वैदेशिक सहयोगको कार्यान्वयन भइरहेका ठाउँको निरीक्षणमा संसदले प्रभावकारी निगरानी बढाउनुपर्ने बताउनु भयो ।

उनले भने, ‘ विदेशी सहयोग हरेक ठाउँमा कसरी प्रयोग भयो, कुन समयमा आयो ? समय भन्दा ढिलो किन भयो ? समयभित्रै ल्याएर किन प्रयोग गर्न सकिएन ? यी कुराहरुको बारेमा संसदीय समितिहरु प्रभावकारी ढंगबाट यसको मनिटरिङ गर्ने भूमिकामा रहन पुगे भने उनीहरुमार्फत जनताको बीचमा ती कुराहरु पुग्न सक्छन् । त्यसको जानकारी भइसकेपछि मात्रै त्यसको सही सदुपयोग हुन्छ । ‘

सभामुख घिमिरेले विमानस्थलहरु बनाउने कुरामा सफलता हात लागेपनि त्यसको सञ्चानबारे कुनैध्यान नपुगेको बताए । उनले भने, ‘एयरपोर्टहरु बनाउने बारेमा हामीले सफलता पाएका छौँ तर त्यसलाई सञ्चालन गर्नेकुरामा हाम्रो ध्यान पुगेको छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?