+
+

यसरी बनाउन सकिन्छ भूकम्पपीडितलाई न्यानो बाँड्‍ने भुसका टहरा

नुनुता राई नुनुता राई
२०८० पुष ६ गते २०:०१

६ पुस, काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा १७ कात्तिकमा गएको विनाशकारी भूकम्पले जनधनको उल्लेख्य क्षति भयो । तत्कालको उद्धारमा सरकारले प्रशंसनीय काम गरे पनि भूकम्पपछि पुनर्निर्माणमा भने निकै ढिलासुस्ती भइरहेको छ ।

भूकम्पपछि घरविहीन बनेकाहरूको चिसोबाट मृत्यु भइरहेको समाचार पढ्नुपरेपछि काठमाडौंका श्रीजय तुलाधर यतिबेला काठमाडौंमा सस्तो र न्यानो भुसको घर बनाउने कामको नेतृत्व गरिरहेका छन् ।

काठमाडौंमा जन्मी–हुर्किएर अमेरिकाको प्रतिष्ठित हार्वर्ड युनिभर्सिटीबाट ‘मास्टर इन डिजाइन स्टडिज’ अध्ययन सकेर केही वर्षअघि नेपाल फर्किएका श्रीजय भन्छन्, ‘म आफैं यस्तो पालमा पुसको चिसोमा रात बिताउनुपर्दा कस्तो हुन्छ हुन्छ भन्ने सोचेर भुसको टहरा बनाउन जुटिरहेको छु ।’

भूकम्पपीडितका लागि टोलछिमेकमै पाइने पुराना कपडा, बोरा, धानको भुस लगायत सामानबाट सस्तो तर न्यानो टहरा बनाउने ‘आइडिया’ बोकेर हिंडिरहेका श्रीजयलाई कीर्तिपुरमा राष्ट्रिय आविष्कार केन्द्रले जग्गा उपलब्ध गराइदिएको छ । साथै, हार्वर्डका शिक्षक तथा सहपाठीहरूले समेत उनलाई सल्लाह, सुझाव दिएर सघाइरहेका छन् ।

निर्माणको काम लगभग अन्तिम चरणमा पुर्‍याएका श्रीजय नमूना टहरा मौसम अनुकूल भएको प्रमाणित गर्न मिहिनेत गरिरहेका छन् । उनले भुसको नमूना टहरासँगै सामान्य पालको पनि घर बनाएका छन् । दुवै घरको तापक्रम तुलना गर्ने तयारीमा रहेका उनी भन्छन्, ‘यो घर मौसममैत्री बनेको छ भन्ने त महसुस भइसकेको छ । अब तापक्रम मापन गरेर डेटा सहित अन्तर देखाउन सक्छौं ।’

यस्तो टहरा अहिले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्पपीडितलाई चिसोबाट बचाउन निकै उपयोगी हुने श्रीजयको दाबी छ । ‘आवासविहीन भएका भूकम्पपीडितलाई यस्तै टहरा बनाएर चिसोबाट जोगाउन सकिन्छ भनेर देखाउन मैले यो नमूना टहरा निर्माण गरिरहेको हुँ’, निर्माण सम्पन्न हुन लागेको टहरा देखाउँदै उनले भने ।

श्रीजयले नमूना टहरा बनाउन जुटको बोरा संकलन गरेर आवश्यक आकारमा सिलाएका र त्यसमा भुस भरेका छन् । त्यसलाई पाल टाँग्नको लागि गाडिएको बाँसमा बाँधेर उनले भित्र प्लाष्टिक तथा सूतीको कपडाले ढाकेका छन् । यलाई बाहिरबाट हावा–पानी रोक्ने पालले छोपिएको छ ।

यस्तो घरमा बस्दा गर्मीमा शीतल र जाडोमा न्यानो हुने श्रीजयको दाबी छ । ३/६ मिटरको पालमा पाँच जना बस्न मिल्ने उनले बताए । टहरा निर्माणको लागि आवश्यक धानको मोटो भुस काठमाडौंमा नपाएर नेपालगञ्जदेखि ल्याउनुपर्दा टहराको मूल्य करिब १७ हजार पुगेको छ ।

‘नेपालगञ्जदेखि भुस ल्याउनुपरेकाले लागत बढेको हो, सामग्री स्थानीय स्तरमै प्राप्त गर्न सक्दा लागत घटाउन सकिन्छ ।’ यो मूल्यमा पारिश्रमिक भने नजोडिएको श्रीजयले जानकारी दिए ।

अहिले सरकार तथा दातृ निकायहरूले निर्माण गरिरहेको टहरा नमूना टहराभन्दा सानो भएकोले भुस अझ सस्तो पर्न जाने उनको भनाइ छ ।

बढ्दो चिसोबाट बालबालिका, बिरामी र वृद्धवृद्धालाई जोगाउनको लागि केन्द्र तथा स्थानीय सरकारले थोरै खर्च बढाएर यस्तै टहरा निर्माण गर्नुपर्ने श्रीजय बताउँछन् । ‘चिसो बढ्दैछ, यसबाट जोगाउन स्थानीय तथा केन्द्र सरकारले अहिलेको लागतमा केही खर्च बढाएर यस्तो टहरा निर्माण गर्नुपर्छ’ उनले भने, ‘यो जाडो मात्र नभएर गर्मीमा पनि उपयोगी हुन्छ ।’

श्रीजय र उनका सहकर्मीहरू आवश्यक परे आफैं गएर निर्माणको नेतृत्व गर्न र सिकाउन तयार छन् । ‘मैले जानेको सीप उपयोग गर्न र सिकाउन पाए मलाई त झन् राम्रो हो । आवश्यक परे हाम्रो टिम नै जान तयार छ’, उनी भन्छन् ।

सबै मौसममा अनुकूल

श्रीजय अहिले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्पपीडितको लागि केन्द्रित भएर नमूना टहरा बनाइरहेको भए पनि यो जुनसुकै मौसम अनुकूल हुने दाबी गर्छन् ।

‘पाल मात्रैको टहरा कुनै पनि मौसम अनुकूल हुँदैन’ उनी भन्छन्, ‘२०७२ सालको भूकम्पपछि म आफैंले यो अनुभव गरेको थिएँ । गर्मीको समयमा गर्मी तथा बाफिने, चिसोको समयमा चिसिने समस्या हुन्छ ।’

सामान्य पालको टहरामा बस्दा सामान्य हावा र वर्षाबाट जोगिन बाहेक थप उपयोगी नहुने तर भुसको टहरा भने प्राकृतिक विपत्तिपछि आवासविहीन बनेकालाई उपयोगी हुने उनको निष्कर्ष छ । ‘सरकार, दातृ निकाय, सहयोगी संघ–संस्थाहरूले यस्तै नमूना टहरा निर्माणमा जोड दिनुपर्छ’, उनले भने ।

भुसको विकल्पमा कपडाको टुक्रा, पराल लगायत सामग्री प्रयोग गर्न सकिन्छ । ‘पराललाई छिटो आगोले टिप्ने भएकोले बाहिरबाट माटोले लिप्न उनको सुझाव छ । ‘सामान्य सीप, सामग्री र प्रविधिमा बनाउन सकिन्छ, विपत्तिपछि तत्काल घर बनाउन सकिने अवस्था हुँदैन’ उनी भन्छन्, ‘त्यो अवधिका लागि यस्तो घर उत्तम विकल्प हुन्छ ।’

तस्वीर सौजन्य : श्रीजय तुलाधर

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?