+
+

महिला क्रिकेटमा कोशीको लगातार तेस्रो जित, मधेश तेस्रो खेलमा पनि पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १२:३९

८ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशले लगातार तेस्रो खेल जितेको छ । त्यसक्रममा आइतबार कोशीले मधेस प्रदेशलाई ६० रनको फराकिलो अन्तरले हरायो ।

कीर्तिपुरमा जितका लागि १३० रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ९ विकेट गुमाएर ६९ रन मात्र बनाउन सक्यो ।

मधेशका लागि साना प्रविनले नट आउट २७ रन बनाइन् भने आरती महतोले १८ रन बनाइन् ।

कोशीका सबनम राई र अलिशा खडियाले समान २ विकेट लिए ।

यसअघि कप्तान रुबिना क्षेत्री र अप्सरी बेगमको शतकीय साझेदारीमा कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको थियो ।

कप्तान रुबिनाले सर्वाधिक ५७ रन बनाइन् । उनले ६४ बल खेल्दै ९ चौका प्रहार गरेकी हुन् । ओपनर काजल श्रेष्ठ पुजा महतोको बलमा डकआउट हुँदा रुबिना र अप्सरी बेगमले १०२ रनको शतकीय साझेदारी गरेका हुन् । सबनम राई ८ बलमा २ चौका सहित १६ र नमिता श्रेष्ठ २ रनमा अविजित रहे ।

अप्सरी ४१ बलमा ७ चौका सहित ३९ रनमा सरस्वती कुमारी चौधरीको बलमा साक्षी यादवबाट क्याच आउट भइन् ।

मधेश प्रदेशका लागि मिना महतोले सर्वाधिक २ विकेट लिइन् र पुजा महतो र सरस्वती कुमारी चौधरीले समान १–१ विकेट लिए ।

कोशीले पहिलो खेलमा कर्णालीलाई १० विकेट र बागमतीलाई ८ विकेटले पराजित गरेको थियो । मधेशको यो लगातार तेस्रो हार हो । यसअघि मधेश एपीएफ र बागमतीसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?