+
+

रास्वपाले अघि सारेको उम्मेदवार क्लब के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १३:५५

८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोटका लागि नयाँ अवधारणा ल्याएको छ । निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने विधिका लागि ‘उम्मेदवार क्लब’ को अवधारणा अघि सारिएको छ ।

महामन्त्री मुकुल ढकालका अनुसार ‘उम्मेदवार क्लब’ स्थानीय तहका उम्मेदवार केन्द्रीत हुनेछ । पालिका तहमा उम्मेदवार हुन इच्छुकले उम्मेदवार क्लबमा नाम दर्ता गर्नसक्ने छन् । संघीय सांसदको उम्मदेवारका लागि ‘उम्मेदवार क्लब’ गठन गर्ने सन्दर्भमा पार्टीले सोच बनाई नसकेको महामन्त्री ढकाल बताउँछन् । ‘वडा अध्यक्ष, पालिका प्रमुख कार्यकारी पद हुन् । संघीय सांसदको उम्मेदवार तल्लो तहकै अनुसार छनोट गर्ने विधि नहुन सक्छ,’ ढकालले भने ।

११ देखि १३ मंसिरसम्म महोत्तरीमा भएको केन्द्रीय र संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले उम्मेदवार क्लबको अवधारणा अघि सारेका थिए । रास्वपाका अनुसार उम्मेदवार क्लबमा दर्ता भएकालाई प्रशिक्षित गरिने छ । उम्मेदवार हुन चाहेका व्यक्तिलाई जिम्मेवारीमा पुगेपछि गर्नुपर्ने कामबारे प्रशिक्षण रास्वपाले दिनेछ ।

निर्वाचन जितेपछि गर्नुपर्ने कामका लागि उम्मेदवारलाई स्पष्ट बनाउने गरि प्रशिक्षित गराउने रास्वपाले जनाएको छ । महामन्त्री ढकालका अनुसार ‘उम्मेदवार क्लब’ उम्मेदवार हुन इच्छुकलाई पूर्व तयारी गर्ने विधि हो ।

उम्मेदवार क्बलमा दर्ता हुनेले निर्वाचित भएको अवस्थामा आफूले गर्ने कार्य पार्टी समक्ष प्रस्तुत गर्नसक्नु पर्दछ । उम्मेदवार क्लबमा दर्ता भएको व्यक्ति पनि ‘प्राइमरी इक्लेसन’बाट भने अनिवार्य चयन हुनुपर्दछ । रास्वपाका अनुसार उम्मेदवार क्लबमा सूचीकृत व्यक्ति पार्टीको राजनीतिमा सक्रिय हुनुपर्ने बाध्यता हुँदैन । वडा र पालिकाका संयोजक उम्मेदवार हुन चाहेको अवस्थामा उनीहरु पनि उम्मेदवार क्लबमा दर्ता हुनुपर्दछ । उनीहरु चयन प्रक्रियाको पहिलो चरणमै प्रतिस्पर्धी भने बन्नु पर्दैन ।

उम्मेदवार चयन प्रक्रिया पाँच चरणको हुने रास्वपाले जनाएको छ । वडा र पालिका संयोजक उम्मेदवार हुन चाहे चौथो र पाँचौं चरणमा प्रतिस्पर्धा गर्नुपर्ने छ । पार्टीबाट टिकट प्राप्त गर्न हानथाप गर्ने तर निर्वाचित भएपछि आफूले गर्ने भूमिका जानकारी नहुने परम्परालाई तोड्नका लागि उम्मेदवार क्लबको अवधारणा ल्याइएको रास्वपाको दाबी छ ।

अन्य दलबाट पार्टीमा प्रवेश गरेकाहरु पनि उम्मेदवार हुनसक्ने बाटो रास्वपाले खुला राखेको छ । अन्य दलबाट रास्वपा प्रवेश गरेको व्यक्ति उम्मेदवार हुन पाँच तह नै पार गर्नुपर्ने विधि बनाउन लागिएको छ ।

उम्मेदवार छनोटका लागि अवलम्बन गर्ने विधिको पाँच चरणको प्रक्रियाको विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन । ‘प्रशिक्षण परीक्षण र आचरणमा केन्द्रित रहेर आगामी चनावमा यही उम्मेदवार क्लबबाट देश हाँक्ने सहयात्रीहरू छानिने छन,’ पार्टी बैठकमा सभापति लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

रास्वपाले नेतृत्व विकासका लागि ‘लिडरसीप एकेडेमी’ पनि सञ्चालन गर्ने भएको छ । लिडरसिप एकेडेमीमार्फत् प्रशिक्षणको व्यवस्था गरिने छ । लिडरसिप एकेडेमीबाट प्रशिक्षण लिएको प्रमाणित गरेर मात्रै उम्मेदवार हुने विधि रास्वपाले बनाउने भएको छ । ‘लिडरसिप प्रमाणीकरण नभएका कुनै पनि व्यक्तिले कुनै पनि तहमा उम्मेदवारी दिन पाउने छैनन्,’ सभापति लामिछानेको प्रतिवेदनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?