+
+

सर्वोच्चमा मुख्य रजिष्ट्रार पद रिक्त, को को छन् दाबेदार ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १७:२९
देवेन्द्रराज ढकाल (बाँया) र नारायणप्रसाद पन्थी ।

८ पुस, काठमाडौं । लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश नियुक्त भएसँगै सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पद रिक्त भएको छ ।

न्यायपरिषदले सोमबार कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरी उच्च अदालत पाटनमा कार्यक्षेत्र समेत तोकिसकेको छ ।

न्यायपरिषदले आइतबार नै सर्वोच्च अदालतका रजिष्टार निर्मला पौडेललाई पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । परिषदको यो निर्णयसँगै सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार र एक रजिष्ट्रार पद रिक्त भएको छ ।

अब सर्वोच्च अदालतमा मुख्यरजिष्ट्रार पदका लागि दुईजना प्रतिस्पर्धी देखिएका छन् । न्याय सेवा आयोगको अभिलेख अनुसार, न्याय प्रशासन समूहका दुई विशिष्ट श्रेणीका पदाधिकारीहरु देवेन्द्रराज ढकाल र नारायणप्रसाद पन्थी मुख्यरजिष्ट्रार पदका दाबेदार हुन् ।

२१ माघ २०७५ मा सचिव भएका देवेन्द्रराज ढकाल हाल न्यायपरिषदको सचिव छन् । आगामी २० माघ अघि मुख्यरजिष्ट्रार सिफारिस हुन नसकेमा ढकाल ५ वर्षे अवधि पुगेर अवकाश हुन्छन् । १७ वैशाख २०७६ मा सचिव भएका नारायणप्रसाद पन्थी हाल सर्वोच्च अदालतकै रजिष्ट्रार छन् । उनी पनि आगामी १६ वैशाखमा ५ वर्षे सेवा अवधिका कारण अवकाश हुनेछन् ।

दाबेदार व्यक्तिहरुलाई उच्च अदालतको न्यायाधीश बनाइएमा उनीहरुपछि वरियताक्रममा रहेकाहरुले अवसर पाउनेछन् ।

अहिले सहसचिवहरुमध्ये विमल पौडेल, नेत्रप्रकाश आचार्य, हरिराज कार्की, यमबहादुर बुढामगर, भद्रकाली पोखरेल, मानबहादुर कार्की वरिष्ठता क्रममा छन् । यिनीहरु मध्येबाटै दुईजना रजिष्टारमा बढुवा हुने सम्भावना रहेको न्याय सेवा आयोग स्रोतले बतायो ।

न्याय सेवामा रहेर विशिष्ट श्रेणीको पदाधिकारीलाई मुख्यरजिष्ट्रार बनाउने व्यवस्था रहेपनि न्याय प्रशासन समूहबाटै मुख्यरजिष्ट्रार नियुक्त गर्ने प्रचलन छ । सर्वोच्च अदालतमा मुख्यसचिव सरहको एक मुख्यरजिष्ट्रार र सचिव सरहका दुई रजिष्ट्रारको दरबन्दी छ । न्यायपरिषदको सचिवालयमा न्यायप्रशासन समूहकै विशिष्ट श्रेणीबाट एक सचिव रहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?