+
+

रविलाई मकैको खोया हान्ने युवकलाई १० दिन हिरासतमा राखिने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १७:१५

८ पुस, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार पोखरामा खोया प्रहार गर्ने युवकलाई प्रहरीले १० दिन हिरासतमा राख्ने भएको छ । सार्वजनिक ठाउँमा शान्ति भंग गरेको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय कास्कीले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

शनिबार सभामा रविले बोल्दै गर्दा लमजुङको राइनास नगरपालिका–८ का सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका थिए ।

प्रहरीले राइनासबाट उनको विवरण मगाएर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । राइनास–८ वडाध्यक्ष कृष्णबहादुर रानाभाटले खोया प्रहार गर्ने सन्तोषको परिवारमा अन्य व्यक्ति साथमा नरहेको र उनी राजनीतिक आस्था राख्ने व्यक्ति पनि नभएको बताए ।

रास्वपा सभापति रवि लामिछानेले खोया हान्ने व्यक्तिलाई केही नगर्न आग्रह गरेका थिए । तर, प्रहरीले रास्वपा वा कुनै व्यक्तिको उजुरीका आधारमा नभई प्रहरी प्रतिवेदनका आधारमा मुद्दा अगाडि बढाइएको एसपी थापाले बताए ।

वडाध्यक्ष कृष्णबहादुरले भने ती व्यक्तिलाई मुद्दा चलाएर हिरासतमा राख्नुको अर्थ नभएको बताए । ‘न उनको परिवारमा कोही छ, न उनी राजनीतिक आस्था र प्रतिशोध साध्ने व्यक्ति हुन्’ उनले भने, ‘उसको जिम्मा लगाउने परिवारका सदस्य समेत छैनन्, उनी विक्षिप्त छन्, बरु उनलाई मनोपरामर्श र सहारा चाहिएको छ ।’

पूर्व गृहमन्त्री, उनको पार्टीबाट कसैले उजुरी नगरे पनि अनुसन्धान अगाडि बढाउनु प्रहरीको जिम्मेवारी भएको एसपी थापाको भनाइ छ । वयानमा सन्तोषले झुक्किएर प्रहार भएको र आफ्नो कुनै प्रतिशोध पनि नरहेको बताएका छन् ।

सन्तोषको बुबा जागिर गर्न भारत गएको र ३५ वर्षदेखि सम्पर्कविहीन रहेको, आमा पनि घरमा नरहेको, श्रीमती र बच्चा पनि उनको साथमा नभएको, उनकै परिवारका ठूलो बुवाको पनि अघिल्लो साल मृत्यु भएको वडाध्यक्ष रानाभाटले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?