+
+

विदेशी पाहुना रोक्न सुरु भएको सडक महोत्सव बन्यो पोखराको ब्रान्ड

विकास रोकामगर विकास रोकामगर
२०८० पुष १० गते २०:१८

१० पुस, पोखरा । पोखराको सबैभन्दा चर्चित पर्यटकीय इभेन्टका रुपमा आफ्नो छुट्टै ‘ब्रान्ड’ बनाएको पोखरा सडक महोत्सव बिहीबारदेखि सुरु हुँदैछ ।

रेस्टुरेन्ट तथा बार एसोसियसन (रेबान)ले आयोजना गर्दै आएको यो महोत्सव यसपालि २५ वर्ष पुगेको छ ।

आयोजकले यसपालि महोत्सवलाई रजत जयन्तीको रुपमा मनाउँदैछ । र, यतिबेला महोत्सव पोखराको मात्रै नभएर विदेशीसामू नेपाल चिनाउने ‘इभेन्ट’ भइसकेको आयोजकको दाबी छ । महोत्सवकै लागि भनेर अहिले देशका विभिन्न कुनाकाप्चाबाट अंग्रेजी नयाँ वर्षको छेको पारेर पोखरा आउनेको संख्या पनि ठूलै छ ।

क्रिसमस र अंग्रजी नयाँ वर्ष सँगै पर्ने भएकाले नेपाल आएका विदेशी पाहुनाहरु तत्कालीन समयमा यही मौसममा आआफ्नो घर सोझिन्थे । नभए छिमेकी देशको गोवा, थाइल्यान्डतिर कुद्थे । एकाध धनाढ्यहरुबाहेक अन्य नेपालीहरुमा घुम्ने संस्कृतिको विकास भइसकेको थिएन ।

‘ट्रेकिङ गएकाहरु फर्किन्थे । हिमालमा जाडो हुने भएकाले त्यहाँ बस्ने व्यापारी पनि पोखरा नै झर्थे,’ आयोजक रेबानका तत्कालीन उपाध्यक्ष गणेशबहादुर भट्टराई सम्झन्छन्, ‘तर, पोखरामा कोही अडिँदैनथिए । उनीहरु बरु इन्डियातिर लाग्थे । यहाँ भएका पर्यटन व्यवसायी त बन्दै गरेर बस्नुपर्ने अवस्था थियो ।’

नेपाल आएका सबै विदेशी पाहुना क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा धमाधम गोवा जान थालेपछि भट्टराई पनि उनीहरुसँगै गोवा पुगे । उनले त्यहाँ क्रिसमस र अंग्रेजी नयाँ वर्ष लक्षित मेला देखे ।

‘गोवामा गोवा न्यु इयर मेला लागिरहेको थियो । म त्यहाँ पुग्दा एआर रहमानले स्टेजमा गीत गाइरहेका थिए । माहोल नै अर्कै थियो,’ पोखरा सडक महोत्सवका परिकल्पनाकार भट्टराईले सम्झिए, ‘त्यो वास्तवमै अदभूत थियो । हामीले नेपालमा किन गर्न सक्दैनौं भन्ने भयो ।’

बक्सिङका पूर्व राष्ट्रिय खेलाडी र लेकसाइडमा त्यतिबेलादेखि नै चल्तिको रेस्टुरेन्ट चलाइरहेका भट्टराईको राजपरिवारसँग पनि राम्रो उठबस थियो । यही मौसममा तत्कालीन राजा वीरेन्द्रको जन्म महिना पनि पर्दथ्यो । उनी जन्मदिनसँगै जाडो कटाउन पोखरा आउँथे । त्यहीबेला भट्टराईले आफ्नो योजना राजालाई सुनाए ।

‘त्यतिबेला हामीले सरकारसँग एक घण्टा कुरा गर्‍यौं, यही विषय वरिपरि रहेर । उहाँले पनि टुरिस्टलाई पोखरामै राख्न केके गर्न सकिन्छ भनेर भन्नुभयो,’ भट्टराईले सम्झिए, ‘त्यसपछि त मलाई पनि खोजेजस्तै भयो ।’

तत्कालीन समयमा रेबानको अध्यक्ष हरि गुरुङ थिए । कुरो मिल्यो, अनि सुरु भयो सडकमै खाऔं, सडकमै रमाऔं नारासहित पहिलो सडक महोत्सव । पहिलो संस्करण लेकसाइडकै ‘हंग्री आई’ देखि बीजीबी रेस्टुरेन्टसम्मको छोटो दूरीमा एक दिने सडक महोत्सव मनाएको उनी स्मरण गर्छन् ।

‘अरुअरु ठाउँमा पनि आआफ्नो उत्पादनलाई बजारिकरण गर्न यस्तो महोत्सव भइरहन्छन् । कति एक्स्पोमा त म आफैं पुगेको छु । हाम्रोमा त्यस्तो उद्योग, व्यवसाय थिएन, बेच्ने भनेकै पर्यटन थियो’, भट्टराई भन्छन्, ‘त्यतिबेला झोला बनाउनेले झोला ल्याऊ, भांग्रा बनाउनेले भांग्रा ल्याऊ भनेर महोत्सव सुरु गरेका थियौं ।’

यसरी सानो क्षेत्रबाट सुरु भएको सडक महोत्सव अहिले देशकै सबैभन्दा ठूलो महोत्सव बन्न पुगेको छ । लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रफलमा हुने महोत्सवले अहिले आन्तरिक र बाह्य पर्यटकलाई मजाले तान्न सफल भएको छ । बर्सेनि महोत्सवमा ५ लाखभन्दा बढीले अवलोकन गर्दैआएका छन् ।

एक दिनबाट सुरु भएको महोत्सव सन् १९९९ मा एकहप्तासम्म मनाइएको थियो । ‘मिलेनियम वर्ष’का रुपमा पहिलो पटक सात दिनसम्म मनाइएको र त्यसयता ५ दिन महोत्सव मनाइँदै आइएको भट्टराई सुनाउँछन् ।

पर्यटन व्यवसायीका लागि कुनैबेला ‘अफ सिजन’ हुने यो याममा अहिले होटलहरु भरिभराउ हुन्छन् । लेकसाइड दुलहीझैं सिंगारिन्छ र चहलपहल चर्को बढ्दा लेकसाइड गुल्जार बन्छ । पछिल्लो समय महोत्सवमा आन्तरिक पर्यटक उल्लेख्य मात्रामा सहभागी हुँदै आएका छन् ।

‘हामीले यो महोत्सवमा ५ लाखमात्र होइन, १० देखि २५ लाख सम्म पर्यटक भित्र्याउने लक्ष्य राखेका छौं । तर, सडकको हालतले गर्दा भएका पर्यटक पनि बोलाउन सकिरहेका छैनौं’, भैरहवा–पोखरा र मुग्लिन–पोखरा सडकखण्डको दुरावस्था सम्झिँदै भट्टराई भन्छन्, ‘न सडकको अवस्था राम्रो छ न विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सक्यो ।’

नेपाल पर्यटन बोर्ड पोखराका निमित्त कार्यालय प्रमुख नवीन पोखरेल पोखरा सडक महोत्सवले पोखराको सौन्दर्य बढाएको बताउँछन् । ‘यो त अहिले पोखराको ब्रान्ड भइसक्यो । महोत्सव हुने ४-५ दिनमा यहाँ खुट्टा टेक्ने ठाउँ पनि हुँदैन,’ उनले भने, ‘अब यसलाई नै सधैंभरि पोखरा आउने गरी अवसरका रुपमा प्रयोग गर्नुपर्दछ ।’

पोखरेली पर्यटनका साझा छाता संगठन पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा सडक महोत्सव नेपालको मात्रै पर्यटकीय ब्रान्ड नभएर अन्तर्राष्ट्रियस्तरमै आफ्नो पहिचान बनाइसकेको दाबी गरे । उनले महोत्सवमा सहभागी हुने विदेशी पर्यटनले पोखराको पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बिहीबारदेखि १६ गतेसम्म चल्ने महोत्सवमा थारु, मगर, किराँत, नेवारीलगायत जातजाति तथा समुदायको परम्परागत भुषभुषासँगै संस्कृति समावेश गरिने महोत्सव संयोजक विश्वराज पौडेलले जानकारी दिए ।

महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत, झाँकी प्रर्दशन, कन्सर्ट, डुंगा दौड, वेटर रेस, टग अफ वार, मोमो तथा ससेज खाने प्रतियोगितासहित पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रर्दशन गरिनेछ ।

यसपटकको महोत्सवमा मुक्ति एन्ड रिभाइभल, दीपक बज्रचार्य, लक्ष्य ब्यान्ड, द इलिमेन्टस्, आशिष राना ‘लाहुरे’सहित लोकगायक प्रजापति पराजुली, प्रीति आले, पशुपति शर्मा, बद्री पंगेनी, पुरुषोत्तम न्यौपानेलगायतले सांगीतिक प्रस्तुति दिनेछन् ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?