+
+

पोखरा सडक महोत्सवमा अनलाइन टिकटको व्यवस्था

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते ७:४३

२४ मंसिर, पोखरा । अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकीय नगरी पोखरामा आयोजना हुने ‘२५ औं पोखरा सडक महोत्सव’मा अनलाइनबाट टिकट काट्न सकिने भएको छ । महोत्सव पुस १२ गतेदेखि १६ गतेसम्म अर्थात् २८ डिसेम्बरदेखि १ जनवरीसम्म चल्ने छ ।

महोत्सव आयोजनाको २५ औं वर्षको अवसर पारेर पहिलो पटक आयोजकले अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरेको हो ।

साँस्कृतिक कार्यक्रमका लागि खल्ती एपबाट टिकट काट्न मिल्ने व्यवस्था मिलाइएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । ‘खल्ती एपसँगै विदेशी कार्डहरुबाट पनि आफन्त तथा साथीभाइका लागि टिकट काट्न सकिन्छ,’ अध्यक्ष भट्टराईले भने । दर्शकले कार्यक्रम आयोजना हुने स्थानबाट सोझै टिकट काट्दा मूल्य बढी लाग्ने तर अनलाइनबाट टिकट काट्दा केही सस्तो हुने उनको भनाइ छ ।

साँस्कृतिक कार्यक्रममा चर्चित कलाकारको प्रस्तुति

महोत्सवमा सहभागी हुन पोखरा आउने पर्यटकहरुले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै फरक–फरक समुदायका खानाको स्वाद पनि लिन पाउने छन् ।

महोत्सवमा हुने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुती रहने छ । कार्यक्रम सञ्चालन रीमा विश्वकर्माले गर्नेछिन् ।

न्यू इयर इभमा ¥यापर लाउरे र द एलिमेन्ट्स ब्यान्डको प्रस्तुति हुनेछ भने डिसेम्बर ३० तारिखमा मुक्ती एन्ड रिभाइबल ब्यान्डको प्रस्तुति रहनेछ ।

यस्तै, डिसेम्बर २९ तारिखमा ‘ओ अमिरा’ तथा ‘मन मगन’ फेम गायक दीपक बज्राचार्यले दर्शकलाई झुमाउनेछन् ।

उनीहरुको साथमा लक्ष्य ब्यान्ड, द स्क्राच जर्नी, टुकी, ब्ल्याक फिदर लगायतका चर्चित ब्यान्ड र गायकहरुले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

रेवान अध्यक्ष नरेश भट्टराईले यो पटक महोत्सवको रजत वर्ष भएकाले विगतको भन्दा विशेष हुने बताए । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नारालाई सफलताका साथ व्यवस्थित रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने उनले बताए ।

स्वर्णिम इन्टरटेनमेन्ट र एड साथीले सांस्कृतिक कार्यक्रमको व्यवस्थापन गरेका छन् । ‘मेलामा सांस्कृतिक तथा सांगीतिक कार्यक्रमसँगै २० भन्दा बढी प्रकारका खानाको स्वाद लिन त पाइन्छ नै, त्योसँगै रजत वर्षको अवसर भएकाले हल्लन चोकदेखि कन्सर्ट आयोजना स्थलसम्म विशेष आरती र शिव ताण्डव नृत्य पनि गर्दैछौं । यसले विदेशी पर्यटकहरुलाई वैदिक सनातन धार्मिक तथा सांस्कृतिक अनुभव पनि गराउने छ’, कन्सर्ट तथा पार्क म्यानेजमेन्ट प्रमुख श्रीधर पौडेलले भने ।

यो वर्षको महोत्सवमा डुंगा रेस, वेटर रेस, विभिन्न समुदायको झाँकी, कन्सर्ट, आतिस बाजी (फायरवक्स)सँगै अन्य विभिन्न नयाँ कार्यक्रम हुने भएकाले महोत्सव अवधिभर पोखरा आउनेहरुले पूर्ण मनोरञ्जन प्राप्त गर्ने पौडेलको भनाइ छ ।

पोखरामा सडक महोत्सव हरेक नयाँ वर्षमा हुँदै आएको छ । पर्यटन विकासमा यो महोत्सवले विशेष आकर्षण बढाउने काम गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?