+
+

त्रिवेणी गाउँपालिकाबाट ६ करोडभन्दा बढीको अदुवा बिक्री   

रासस रासस
२०८० पुष ११ गते ८:११
Photo Credit : RSS
त्रिवेणी-४ का नरे खड्का डोकोमा अदुवा भित्र्याउँदै ।

११ पुस, त्रिवेणी (रुकुमपश्चिम) । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट ६ करोडभन्दा बढीको अदुवा बिक्री भएको छ ।

पालिकाभर दुई हजार ६०० किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट ६ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले यस वर्ष १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जानकारी दिए ।

गाउँपालिकाभित्र अदुवाखेती गर्ने दुई हजार ६०० घरधुुरी रहेका र पाँच हजार दुईसय रोपनी क्षेत्रफलमा अदुवा उत्पादन हुने गरेको जनाइएको छ ।

एक रोपनी जग्गामा तीन सय केजी अदुवा उत्पादन हुने गरेको उनले जानकारी दिए । प्रत्येक किसानले गाउँबाटै एक क्विन्टललाई चार हजारका दरले बिक्री गरेका छन् ।

अदुवाका लागि व्यापारी गाउँमै पुगेर खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको कृषि शाखाले जनाएको छ ।

व्यावसायिकरूपमा अदुवाखेती गरेका त्रिवेणी–४ खुम्चेरीका नरे खड्काले यस वर्ष अदुवा बिक्रीबाट एक लाख आम्दानी गरेको बताए ।

विगत २० वर्षदेखि अदुवाखेतीमा लागेका उनले निरन्तर खेती गर्दै आएका छन् । यस वर्ष उत्पादन भएको साढे तीन क्विन्टल बीउका लागि र १२ क्विन्टल प्रतिक्विन्टल चार हजारदेखि आठ हजारका दरले बिक्री गरेको उनले बताए ।

त्रिवेणी–४ खुम्चेरीका ५५ वर्षीय कृषक हरिबहादुर खड्काले यस वर्ष अदुवा राम्रो उत्पादन भएको जानकारी दिए ।

तीस वर्षदेखि निरन्तर कृषि पेसा गर्दै आएका उनले यस वर्ष अदुवा बिक्रीबाट एक लाख ५० हजार आम्दानी गरेको बताए ।

अदुवा गाउँबाटै प्रतिक्विन्टल चार हजार र बीउका लागि प्रयोग हुने अदुवा प्रतिक्न्विन्टल आठ हजाार देखि १० हजारसम्म बिक्री भएको उनले बताए ।

‘पहिले एक क्विन्टल अदुवाबाट सात क्विन्टल उत्पादन गरिन्थो, उमेर पनि ढल्किँदै गयो अहिले त एक क्न्विन्टल अदुवाबाट तीनदेखि चार क्विन्टलसम्म उत्पादन गर्ने गरेको छु’, उनले भने ।

यस वर्ष बीउका लागि १२ क्विन्टल अदुवा भण्डारण गरेर राखेको किसान खड्काले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?