+
+

५८ वर्ष पुगे बलिउडका भाइजान, भान्जी आयतसँग मनाए जन्मदिन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते १२:०४

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानले बुधबार ५८ औं जन्मदिन मनाइरहेका छन् । भान्जी आयतसँग गएराति उनले आफ्नो जन्मदिन सेलिब्रेट गरे । सलमानले परिवारसँग जन्मदिन मनाएका भिडियो र तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

भिडियोमा सलमान र उनकी भान्जी आयतले केक काटिरहेको देखिन्छ । आयत बुवा आयुष शर्माको काखमा देखिएकी छिन् । केक काटेपछि सलमानकी बहिनी अर्पिताले पहिले छोरी आयत र त्यसपछि सलमानलाई केक खुवाइन् । भिडियोमा सलमानका भाइ अरबाज, युलिया वन्तुर र हेलेन पनि देखिएका छन् ।

३५ वर्षदेखि फिल्ममा सक्रिय रहे पनि सलमानका लागि सन् २०२३ सुखद रहेन । यो वर्ष उनका दुई फिल्म रिलिज भए पनि दुवैले खासै कमाइ गर्न सकेनन् । यस वर्ष सलमानका फिल्ममा ४२५ करोड भारुको बाजी लगाइएको थियो । यी फिल्मले ६४८.४४ करोड भारु कलेक्सन गर्न सके ।

पछिल्लो १० वर्षको सलमानको करिअरलाई हेर्दा ४ वटा सेमी हिट, ४ औसत, ३ ब्लकबस्टर, १ अलटाइम ब्लकबस्टर र २ फ्लप फिल्म छन् । सलमानको कुल सम्पत्ति २ हजार ९१२ करोड भारु छ । सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकारको सूचीमा सलमानको नाम तेस्रो नम्बरमा छ ।

कट्रिना कैफ, सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, डेजी शाह र जरिन खान जस्ता कलाकारलाई बलिउडमा ब्रेक दिने श्रेय सलमानलाई दिइन्छ । यही कारणले उनलाई बलिउडको भाइजान भनिन्छ । यो स्थान हासिल गर्न उनले निकै मिहिनेत गरे । अभिनेता बन्न नचाहेका उनी निर्देशक बन्न चाहन्थे ।

करिअरको शीर्ष स्थानमा रहँदा पनि विवादबाट मुक्त भएनन् । उक्त समय सलमान र परिवारका लागि कठिन थियो । उनी प्रायः विवाहको विषयमा पनि प्रश्नको घेरामा हुन्छन् ।

उनको आगामी फिल्म ‘द बुल’ करण जोहरको प्रोडक्सन हाउसको ब्यानरमा बन्ने भएको छ । यस फिल्मलाई विष्णु वर्धनले निर्देशन गर्नेछन् । सलमान र करणले दोस्रोपटक काम गर्न लागेका हुन् । यसअघि सलमान आफ्नो फिल्म ‘कुछ कुछ होता है’मा केमियो भूमिकामा देखिएका थिए ।

पिंकभिलाको रिपोर्टका अनुसार सलमान ‘द बुल’मा अर्धसैनिक अफिसरको भूमिकामा देखिनेछन् । यसका लागि उनले तयारी पनि सुरु गरिसकेका छन् । फिल्ममा उनको विशेष लुक छ, जसको लागि उनले तौल घटाउनुपर्नेछ । यसका लागि उनले काम पनि सुरु गरिसकेका छन् ।

फिल्मको पहिलो सेड्युलको छायांकन नोभेम्बरको अन्त्यबाट सुरु भई डिसेम्बरको आधासम्म चलेको छ । यसपछि सलमानले केही समय ब्रेक लिएका छन् । यसपछि उनीहरु जनवरी १० पछि दोस्रो चरणको छायांकनमा उनी फर्किनेछन् । यसपछि उनी सिद्धार्थ आनन्दको फिल्म ‘टाइगर भर्सेस पठान’मा देखिनेछन्, जसमा उनले शाहरुख खानसँग स्क्रिन सेयर गर्नेछन् ।

उनको आगामी प्रोजेक्टमा ‘किक २’ र ‘दबंग ४’ को नाम पनि समावेश छ । निर्देशक सुरज बडजात्याको पारिवारिक मनोरञ्जनात्मक फिल्ममा पनि सलमान देखिनेछन् ।

आजभन्दा ठीक ५७ वर्षअघि २७ डिसेम्बरमा हिन्दी फिल्मका चर्चित लेखक सलिम खानको घरमा छोराको जन्म भएको थियो । त्यो छोराको नाम अब्दुल राशिद सलीम सलमान खान थियो, जसलाई आज संसारले सलमान खान भनेर चिन्छ ।

मध्यप्रदेशको इन्दौरमा जन्मेका सलमानले आफ्नो प्रारम्भिक अध्ययन ग्वालियरबाट गरेका थिए । त्यसपछि उनको परिवार मुम्बई सर्‍यो । सलमानले आफ्नो थप पढाइ मुम्बईको बान्द्रास्थित सेन्ट स्टानिस्लस हाईस्कुलबाट पूरा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?