+
+

पोखरामा किन बढ्दैछ सवारी दुर्घटना ?   

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते ६:४८

१२ पुस, गण्डकी । दुई साताको अन्तरमा पोखरामा चार जनाको सडक दुर्घटनामा मृत्यु भयो ।

सोमबार मध्यरातमा कारको ठक्करबाट पोखरा महानगरपालिका-५ प्रस्याङमा दुई युवकको मत्यु भयो । त्यसअघि गत मङ्सिर २४ मा पोखरा–२६ सुन्दरी बजारमा कारले स्कुटरलाई ठक्कर दिंदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक भानु शर्माका अनुसार पोखरा–बागलुङ राजमार्गको जिरो किमीदेखि हरिचोक खण्डमा मात्र गत साउनयता भएका सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् । यी प्रतिनिधि घटनाले पोखरामा बढ्दो सवारी दुर्घटनाको अवस्थालाई देखाउँछ ।

यसरी लगातार जसो भइरहेका सवारी दुर्घटनाले सडक सुरक्षामा प्रश्न उठ्न थालेको छ । सार्वजनिक यातायातमा देखिएको असुरक्षाप्रति सर्वसाधारण त्रसित छन् । सडक दुर्घटना न्यूनीकरण नभएकामा जनगुनासो पनि बढ्दो छ । पोखरा महानगर र राजमार्ग क्षेत्रमा बढी दुर्घटना हुने गरेको प्रहरी निरीक्षक शर्माले बताए ।

‘दुर्घटनाको मुख्य कारण सवारीसाधनको तीव्र गति हो, चालकले मादक पदार्थ सेवन गरेका कारण पनि सवारी दुर्घटना हुने गरेको छ’, उनले भने, ‘पर्याप्त सडक बत्ती नहुँदा पनि रातिमा दुर्घटनाको जोखिम बढेको छ, कमसल सडक, यान्त्रिक गडबढी, जभाभावी पार्किङजस्ता कारणबाट पनि दुर्घटना निम्तने गरेको छ ।’

जिरो किमीदेखि हरिचोक हुँदै हेम्जा जोड्ने सडक चार लेन भएपछि तीव्र गतिका कारण धेरै दुर्घटना भएको प्रहरी निरीक्षक शर्माले बताए ।

सोही खण्डमा सोमबार राति दुई जना युवकको ज्यान जाने गरी भएको दुर्घटना र त्यसअघि सुन्दरीबजारमा भएको दुर्घटनाले ट्राफिक प्रहरीलाई समेत सचेत बनाएको उनले उल्लेख गरे ।

चौडा र स्तरीय सडकमा चालकले सवारीसाधन तीव्र गतिमा गुडाउँदा दुर्घटना हुने गरेको प्रहरी निरीक्षक शर्माले बताए । ‘पछिल्लो समय भएका दुर्घटनाका विषयमा जिल्ला सुरक्षा समितिमा पनि छलफल भएको छ, कसरी दुर्घटना न्यूनीकरण गर्ने भन्ने विषयमा योजना बनाएर काम थाल्छौं’, प्रहरी निरीक्षक शर्माले भने, ‘सडक सुरक्षा र यातायात सेवाका नियमबारे चालकदेखि पैदलयात्रुसम्म सचेत र संवेदनशील बन्नुपर्छ ।’

नब्बेदेखि ९५ प्रतिशतसम्मको सवारी दुर्घटना चालकको लापर्वाहीका कारण हुने गरेका उहाँको भनाइ छ । बढ्दो आवादी, सवारी चाप, ठाउँठाउँमा भइरहेको सडक, नाली निर्माण र विस्तार कार्यले पनि दुर्घटना जोखिम बढाएको प्रहरी निरीक्षक शर्माले बताए ।

स्तरहीन सडक, यान्त्रिक गडबडी, जथाभावी पार्किङ आदि कारणले पनि दुर्घटना हुने गरेको छ ।

‘पोखरामा व्यवस्थित पार्किङ नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ’, प्रहरी निरीक्षक शर्माले भने, ‘ठाउँठाउँमा भइरहेको सडक, नाली निर्माणले पनि दुर्घटनाको जोखिम बढाइरहेको छ ।’

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ ।

कारको ठक्करबाट मृत्यु भएकाको पहिचान हुन सकेन    

कास्कीको पोखरा महानगरपालिका–५ प्रस्याङमा सोमबार मध्यरातमा कारले ठक्कर दिंदा मृत्यु भएका एक युवकको अझै पहिचान हुन सकेको छैन ।

अन्दाजी ३०/३५ वर्षका ती युवाको सनाखत हुन नसकेपछि शवलाई अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

बागलुङ बसर्पाकबाट जिरो किमितर्फ जाँदै गरेको बा१३च ३७२१ नम्बरको कारले ठक्कर दिंदा भएको सो घटनामा अर्का युवक पोखरा-३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्यालको पनि ज्यान गएको थियो ।

घटनापछि फरार रहेका चालक कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ का भक्तराम गुरुङलाई नियन्त्रणमा लिई सवारी ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?