+
+

पोखरा सडक महोत्सवमा देखिएको धार्मिक सद्भाव

विकास रोकामगर विकास रोकामगर
२०८० पुष १२ गते २०:४१

१२ पुस, पोखरा । नेपालकै ठूलो दाबी गरिएको पोखरा स्ट्रिट फेस्टिबलको २५ औं संस्करण बिहीबार पोखराको लेकसाइडमा सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान)ले बर्षेनी आयोजना गर्ने महोत्सवलाई यस वर्ष रजत जयन्तीका रुपमा मनाउँदैछ ।

अंग्रेजी नयाँ वर्षको छेको पारेर रेबानले सडक महोत्सव आयोजना गर्दै आएको छ । लेकसाइडको ३ किलोमिटर क्षेत्रफलमा महोत्सव उद्घाटनअघि नेपालका मुख्यमुख्य जातजाति तथा संस्कृतिको झाँकीसहितको र्‍याली निकालिएको थियो ।

सयौं मानिस लाइनबद्ध भएर निस्किएको र्‍यालीमा धारापानी भजन समूह र अञ्जुमन इस्लाहुल मुस्लेमिन समूहको झाँकीले सबैको ध्यान केन्द्रित गरेको थियो । हल्लनचोक हुँदै महोत्सवस्थल कोमागाने पार्कतर्फ लागेको र्‍यालीमा जसले पनि उनीहरुको झाँकी देख्थे । खुसी हुँदै मोबाइल तेर्स्याइहाल्थे ।

कारण थियो, दुई फरक धार्मिक समुदायबीचको सद्भावयुक्त दृश्य ।

र्‍यालीमा पर्स्याङ्देखि आएको धारापानी भजन समूहको ठीक अघिअघि अञ्जुमन इस्लाहुल मुस्लेमिन समूहको र्‍याली थियो । आआफ्नो सांस्कृतिक चिनारी झल्किने प्रस्तुतिसहित र्‍यालीमा सहभागी दुवै पक्ष सँगै हुन पाउँदा मख्ख देखिन्थे ।

‘यो मेलामा हाम्रो टोली आउन थालेको यो तेस्रो पटक हो । लक्किली अहिले राम्रो ठाउँमा पर्‍यौं, हेर्नुस् न हामी कति मिलेर हिँडिराखेका छौं’, अञ्जुमन इस्लाहुल मुस्लेमिन समूहको नेतृत्व गरिरहेका अब्बास अलिमियाँले खुसी बाँडे, ‘नेपालमा यो सौहार्दपूर्ण वातावरण छ भनेर देखाउन पायौं ।’

हिन्दु समुदायको सांस्कृतिक प्रतिनिधित्व गर्ने भजन गीत सुन्दै र्‍यालीमा सहभागी हुन पाउँदा आफूहरुले गौरवान्वित महसुस गरिरहेको नेपाल मुस्लिम युवा समितिका अध्यक्षसमेत रहेका अब्बासले सुनाए ।

अब्बासको टोली पोखराकै मियापाटनबाट आएको थियो । जहाँ बर्सौंदेखि मुस्लिम समुदाय बसोबास गर्दै आएका छन् । जातीयमात्रै नभएर धार्मिक सद्भाव झल्किने जुनसुकै कार्यक्रममा सहभागी हुन आफूहरुले नेतृत्व गरिरहेको अब्बासले सुनाए ।

‘नेपालै यति राम्रो छ । हामी सबै मिलेर बसिराखेका छौं । यसरी मिलेर काम गर्न पाउँदा हामीलाई पनि खुसी लाग्छ,’ अब्बासले भने, ‘अब यसको नेतृत्व युवो लिनुपर्दछ भनेरै हामी अघि सरेका हौं ।’

नेपालको धार्मिक सहिष्णुतालाई जोगाउन सकेमात्रै देशमा शान्ति कायम हुने उनको भनाइ थियो ।

महोत्सवको उद्घाटन झाँकी र्‍यालीमा हिन्दुसहित इसाई, मुस्लिम, बौद्ध धर्मालम्बीहरुले पनि आआफ्नो प्रस्तुति लिएर आएका थिए । १६ गतेसम्म चल्ने महोत्सवमा करिब ५ लाख पर्यटक सहभागी हुने आयोजकको लक्ष्य छ । महोत्सव पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका छन् ।

‘सडकमै खाऔं, सडकमै रमाऔं’ नारासहित सुरु भएको महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा, सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार चाख्न पाइन्छ ।

महोत्सवको अवसरमा यस पटक पोखराको पर्यटन विकास, प्रवर्द्धन र परिवर्तित समयमा पोखराको पर्यटनमा देखिएका अवसर र चुनौतीको विषयमा बहस पनि गरिने आयोजकले जनाएको छ ।

हेर्नुहोस् थप तस्वीरहरु

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?