+
+

एकीकृत समाजवादीमा पदाधिकारीको संख्या घटाउन सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते २१:२१

१२ पुस, काठमाडौं । एकीकृत समाजवादीमा पार्टीको केन्द्रीय पदाधिकारी संख्या घटाउनुपर्ने आवाज उठेको छ ।

काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले जम्बो पदाधिकारी बनाउनुभन्दा युवालाई स्थान दिएर चुस्त कमिटी बनाउनु पर्ने आवाज उठाएका हुन् ।

अहिले भइरहेका पदलाई घटाएर उपाध्यक्ष र उपमहासचिव दुई दुई जना, सचिव ७ जनासम्म राख्ने र बाँकीमा एक पद एक व्यक्ति हुनुपर्ने धारणा बैठकमा नेताहरुले राखेका छन् ।

पदाधिकारीको हकमा कतिपयले एक जना अध्यक्ष, एक सम्मानित नेता, एक महासचिव मात्रै रहने र बाँकी अरुलाई विभाग बनाएर प्रमुखको जिम्मेवारी दिनुपर्ने धारणा समेत राखेका छन् । यस्तै महाधिवेशन आयोजक कमिटीलाई सिधै प्रतिनिधि मान्ने कि तलबाट चुनिएर आउनुपर्ने कुरा पनि छलफल भइरहेको छ ।

उमेर हद हटाउने विषयमा भने अधिकांशको एकमत रहेको बैठकमा सहभागी नेताहरुले बताएका छन् । यद्यपि, कतिपयले ७५ वर्षसम्म उमेर हद राख्न सकिने धारणा पनि राखेका थिए ।

साथै, पदाधिकारी चयन केन्द्रीय कमिटीबाट गर्ने वा प्रतिनिधिबाट गर्ने भन्नेमा पनि नेताहरुले फरक फरक धारणा राखेका छन् । अधिकांशले प्रतिनिधिबाट केन्द्रीय कमिटी बनाउने र केन्द्रीय कमिटीले पदाधिकारीहरु चुन्ने सुझाव दिएका छन् । कतिपयले प्रत्यक्षबाट आउने र दुई कार्यकालभन्दा बढी बस्न नपाउने विषय समेत उठाएका छन् ।

पार्टीका उपमहासचिव विजय पौडेलका अनुसार बुधबारदेखि ललितपुरमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा बिहीबार ६५ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । उनका अनुसार बैठकको पहिलो दिन १५ जनाले धारणा राखेका थिए भने शुक्रबार थप १० जनाले धारणा राख्नेछन् ।

बिहीबार बोल्नेमा नेताहरू सोमप्रसाद पाण्डे, कुलबहादुर गुरुङ, श्रीनाथ बराल, अम्मरबहादुर थापा, ठगेन्द्र पुरी, विजय गुरुङ र उदय श्रेष्ठलगायत छन् ।

बिहीबार बैठकमा धारणा राख्ने नेताहरूले अहिलेको केन्द्रीय कमिटीको आकारलाई घटाउनु पर्ने र कमिटीको आकार घटाउँदा वर्गीयता र समावेशितालाई ध्यान दिनुपर्ने बताएका छन् ।

साथै, जिल्लाको संरचनालाई खारेज गर्ने विषयमा पनि बैठकमा कुरा उठेको छ । केन्द्रीय तह र तलका निकाय नभनी संविधान बमोजिम राज्यका संरचनाअनुसार भौगोलिक प्रारुपमा सांगठनिक संरचना बनाइ प्रदेश तह र स्थानीय तह भन्नुपर्ने कुरा समेत उठेको छ ।

यसो गर्दा केन्द्र, प्रदेश र स्थानीय पालिकालाई कार्यकारी बनाउनेमा अधिकांशले धारणा राखेका छन् भने जिल्लालाई सक्रिय बनाउने कि समन्वायत्मक बनाउने भन्नेमा मिश्रित धारणा आएका छन् ।

एकीकृत समाजवादीले बैठकमा सहभागी सबैलाई दशवटा प्रश्न दिएर धारणा संकलन गरेको छ । त्यसैको आधारमा शुक्रबार अध्यक्ष माधव नेपालले धारणा राखेर बैठक सकिने उपमहासचिव पौडेलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?