+
+

घर वा शहर निर्माण गर्दा आदिवासीको सीप र शिल्प कति महत्वपूर्ण हुन्छ ?

श्रेया खनाल श्रेया खनाल
२०८० पुष १५ गते ८:०१

गल्तीहरुले केही पाठ सिकाएर जान्छ । मेलबर्न शहर (अष्ट्रेलिया)को प्रारम्भिक चरणमा निर्माण पनि त्यस्तै गल्ती थियो, जो आज आर्किटेक डिजाइनको दुनियाँमा एउटा पाठ हुनसक्छ । चाहे घर बनाइरहनुभएको छ, व्यवसायिक भवन बनाइरहनुभएको छ वा त शहर नै । आदिवासीको ज्ञान, सीप, शिल्प कति महत्वपूर्ण हुन्छ भन्ने एउटा दृष्टान्त पेश गर्छ यसले ।

अग्रेजहरु सुन खानी उत्खनन गर्ने मेलोमेसो खोज्दै मेलनर्बमा बास बस्न आइपुगेका थिए । त्यसबेला त्यहाँ परालका स–सना झुपडी थियो, जहाँ आदिवासीहरु बसोबास गर्थे । अंग्रेजहरुले उनीहरुलाई रातारात त्यहाँबाट लखेटे । सो ठाउँलाई कब्जा गरेर एउटा शहर निर्माण गरे ।

त्यो शहर यसरी निर्माण गरे, जुन अकै शहरको आर्किटेक डिजाइन थियो । उनीहरुले थपक्क त्यही डिजाइनलाई  ल्याएर अर्कै शहर बनाए । यही कारण त्यहाँ सधैभर प्राकृतिक विपतको जोखिम रहिरह्यो ।

उनीहरुले त्यसबेला के गल्ती गरे भने, कुनैपनि ठाउँमा घर, भवन वा शहर विनिर्माण गर्दा त्यहाँको रैथाने इतिहास जान्नु जरुरी हुन्छ । त्यो कस्तो भूगोल वा सतह हो ? त्यहाँको माटो कस्तो छ ? त्यहाँका खोलानालाहरु कताबाट बग्छ ? भेलबाढी आउँदा कहाँसम्म क्षति गर्छ ? हावा कताबाट चल्छ ? त्यसको चाप कस्तो छ ? इत्यादि ।

यस्तो कुरा त त्यहाँका आदिवासीलाई थाहा हुन्थ्यो, जो सदियौंदेखि बसोबास गरिरहेका छन् । माटोको अवस्थिती, हावाको बहकाव, खोलाको तिब्रता, भेलबाढी, हुरीबतासदेखि त्यहाँका धरातलमा उपलब्ध बस्तुहरु के हुन् ? बर्षौं–बर्षको जीवन भोगाईबाट उनीहरुले थाहा पाएका हुन्छन् । र, त्यही अनुसार घर–बस्ती बनाएका हुन्छन् ।

उनीहरुले कस्तो घर बनाएर बसेका छन्, कुन दिशामा फर्काएका छन्, के–कस्ता सामाग्री प्रयोग गरेका छन् भन्ने कुराको खोजले त्यहाँको धरातल र प्रकृति कस्तो छ भन्ने ज्ञात हुन्छ ।

प्रकृति सुन्दर मात्र हुँदैन त्यसको अर्को कुरुप पाटो पनि छ । प्रकृतिले बेलाबखत उत्पत मच्याउँछ, कहिले भारी हिमपातले, कहिले भयानक भेलबाढीले, कहिले अनियन्त्रित खडेरीले । यस्ता प्राकृतिक विपतबाट बच्न उनीहरुले जसरी घर निर्माण गरेका थिए, त्यो आफैमा खुला पुस्तक हो । आज आधुनिक विश्वमा कुनैपनि संरचना निर्माण गरिदा त्यहाँको इतिहास खोजिन्छ । जबकि हामी कुनै नयाँ संरचना बनाउनु परेमा इतिहास मेट्ने गर्छौं । काठमाडौंलाई हेरौं न, प्राचिन विरासत बोकेको यो शहर आज कति भताभुंग भइसकेको छ ।

पोखरा–काठमाडौं यात्रा गर्दा बाटोमा कति चिटिक्क घरहरु देखिन्थे–ढुंगा, माटो र काठले बनेका । ती घरहरु देख्दा म रोमाञ्चित हुन्थें र त्यसले मलाई बाल्यकालको स्मृतिमा फर्काउँथ्यो । करिब एक दशकपछि म अध्ययन सकाएर नेपाल फर्कदा त्यहाँ मेरो स्मृतिमा रहेका ती घरहरु थिएनन् । त्यहाँ अग्ला अग्ला भवनहरु ठडिइसकेका थिए ।

ऊबेला पूर्खाले कति ख्याल बिचार गरेर घरको डिजाइन तयार गरेका थिए होलान् ? कतिकुरा भोगेर त्यस्ता सामाग्रीहरु प्रयोग गरेका थिए होलान् ? हामीले खोजेनौं । बरु ‘फलानोको घर कति राम्रो’ भन्दै दुरुस्तै त्यस्तै घर बनाउन लगायौं, पूर्खाले बनाएको घर भत्कायौं ।

अनि घरलाई न्यानो राख्न हामीलाई हिटर चाहिन थाल्यो, घरलाई सितल राख्न पंख चाहिन थाल्यो । हामीले कोठाहरुलाई वाताअनुकुलित बनाउन एसी जडान गर्न थाल्यौं । जबकि पूर्खाहरुले जे जस्तो वस्तु प्रयोग गरे, जुन किसिमको डिजाइन गरेका थिए त्यो त प्राकृतिक रुपमै घरलाई तातो–चिसोबाट जोगाउने खालको थियो । त्यहाँ न हिटर चाहिन्थ्यो, न पंख ।

आज आर्किटेक डिजाइनमा सबैभन्दा महत्व दिइने कुरा यही हो कि, कुनैपनि भवन वा घर बनाइरहँदा त्यसलाई प्राकृतिक रुपमै वाताअनुकुलित बनाउनुपर्छ ।

जाडो याममा घर न्यानो हुनुपर्छ । चर्को गर्मीमा घर सितल हुनुपर्छ । अर्थात घर यस्तो हुनुपर्छ, जो वाताअनुकुलित होस् । र, यस्तो घरमा बस्दा हामीलाई सहज अनि आनन्द पनि होस् । घरका कोठाहरुमा घामको न्यानो ताप्न पाइयोस्, खुला हावा आउजाउ गर्न सकोस् ।

पूर्खाबाट सिकौं

कुनैपनि ठाउँमा घर–भवन बनाउन परेमा हामी पुरानो संरचना भत्काउँछौं । जबकि त्यो हाम्रो पूर्खाहरु बर्षौंदेखि बस्दै आएको घर–कटेरो जे पनि हुनसक्छ । उनीहरु त्यहाँ कसरी बसेका थिए ? यो कुरा खोज्दैनौं ।

उनीहरु जहाँ बस्दै आए, त्यहाँ उनीहरुको युग वितेको थियो । त्यस अवधिमा उनीहरुले त्यहाँको हावापानी, हुरीबतास, बाढीपहिरो, खडेरी सबै–सबै झेलेका थिए । धेरैकुरा झेलेर, भोगेर, सिकेर, बुझेर उनीहरुले घर–कटेरोको ढाँचा तयार गरेका थिए । आज हामी त्यही ठाउँमा नयाँ संरचना बनाउँदैछौं भने यो उनीहरुको सीप र शिल्पलाई पनि उपयोग गर्नुपर्छ ।

प्रकृतिलाई जतन गरौं

आधुनिक आर्किटेक डिजाइनले कुनैपनि घर–भवन निर्माण गर्दा सकेसम्म प्रकृतिलाई जोगाऔं भन्छ । त्यही अनुरुप कुनैपनि घर, भवन वा शहर निर्माण गर्दा त्यहाँ धेरै खन्ने, मास्ने गरिदैन । भू–सतह जस्तो छ सकेसम्म त्यसलाई सग्लो राखेर संरचना निर्माण गरिन्छ ।

चाहे त्यो भिरालो हुनसक्छ, खोंच हुनसक्छ वा समतल नै । जे–जस्तो अवस्थामा छ, त्यसलाई नबिगारौं भनिन्छ । त्यसरी प्रकृतिलाई जोगाउनुको अर्थ त्यहाँको पर्यावरणिय चक्र, हावापानी सबैकुरा व्यवस्थित होस् भन्ने हो । त्यहाँ आश्रित जीवजन्तु, वनस्पति मासिएमा भोलि संकट आउन सक्छ । त्यसैले आज नै त्यसलाई सुरक्षित रहन दिनुपर्छ ।

तर, हामीकहाँ कुनै घर, भवन निर्माण गर्न परेमा एउटा पहाड नै भत्काउने, खोला नै पुर्ने गरिएको छ । यही कारण सो ठाउँमा प्राकृतिक विपत्तिको जोखिम उच्च हुन्छ ।

इतिहासलाई जीवित राखौं

आज हामी आधुनिक घर बनाउँदैछौं, व्यवसायिक भवन बनाउँदैछौं, शहर विर्निमाण गर्दैछौं । यस क्रममा हामीले गर्नै नहुने गल्ती भनेको, त्यहाँको इतिहासलाई सग्लो राख्नुपर्छ ।

इतिहासले के गर्छ भने हिजोको दिनमा यो ठाउँ कस्तो थियो ? समाज कस्तो थियो ? रीतिरिवाज कस्तो थियो, समाजको मनोविज्ञान कस्तो थियो, चालचलन कस्तो थियो ? थाहा हुन्छ । त्यही अनुसार हामीले यस ठाउँमा कस्तो संरचना बनाउनु उपयोगी हुन्छ भनी तय गर्न सक्छौं ।

जस्तो भक्तपुर आफैमा प्राचिन विरासत बोकेको शहर हो । त्यहाँ हामीले नयाँ भवन वा घर बनाउन परेमा त्यहाको रीतिथिती, चालचलन कस्तो थियो भनी अध्ययन गर्नुपर्ने हुन्छ ।

समाजलाई सम्मान गरौं

हामीकहाँ कुनैपनि घर वा भवना निर्माण गरिरहँदा सोचिदैन कि, यसले टोल–समाजमा कुनै असर पो गर्छ कि ? तर, आधुनिक आर्किटेक डिजाइनमा यो कुरालाई महत्वका साथ हेरिन्छ ।

कुनैपनि घर, भवन बनाउँदा त्यसले समाजमा कस्तो प्रभाव पार्नसक्छ ? छरछिमेकको मनोविज्ञानमा के असर गर्न सक्छ ? यसबारे ख्यालविचार गरिन्छ । हामीले बनाएका घर-भवनले त्यस आसपास बस्ने मान्छेहरुलाई कुनै हानि नोक्सानी पुग्नुभएन, उनीहरुको आत्मसमनमा ठेस पुर्‍याउनु भएन ।

घर होस् त यस्तो

इतिहास भन्छ, हामीले ओडार वा गुफाहरुलाई घर बनायौं । त्यो यात्रा आज अत्याधुनिक भवनहरुमा आइपुगेको छ । यसबीचमा हामीले यसरी फड्को मार्‍यौं कि आज हाम्रो घरमा पकाउने-खाने ठाउँ, सुत्ने कोठा, आरम गर्ने कक्ष अलग अनि सुविधायुक्त छ । वाताअनुकुलित कोठादेखि स्विमिङ पुलसम्मले घरलाई शोभयमान बनायौं ।

किन हामीलाई आज यस्तो घर चाहियो ? किन हामीले ओडार छाड्यौं ?

किनभने घरसँग हाम्रो जीवन र मनोविज्ञान घनिष्ठ रुपले जोडिएको छ । घर त्यही हो, जहाँ हामी रमाउँछौं । घर त्यस्तै हुनुपर्छ, जसले हामीलाई खुसी दिन्छ ।

जब कामधन्दा सकेर हामी घर पुग्छौं, मन र शरीर थाकेको हुनसक्छ । उर्जाशक्ति कमजोर भएको हुनसक्छ । काम व्यवहारले रक्तचाप बढेको हुनसक्छ । यस्तो अवस्थामा घर पुग्नसाथ हामीमा बेग्लै उर्जा संचार होस् । खुसी र उमंगले मनलाई हराभरा बनाओस् ।

झट्ट घरमा प्रवेश गर्दा सबैकुरा व्यवस्थित देखियोस्, सफा सुग्घर देखियोस् । ताजापन महसुष होस् र वाताअनुकुलित होस् ।

घर, यस्तो होस् ।

घर कसरी त्यस्तो हुन्छ ? परिवारलाई एकछिन अलग राखेर भन्ने हो भने घरको संरचना, शैली, सुविधाले यहाँ अहंम् भूमिका खेल्छ । हामीले घर कस्तो धरातलमा, कुन दिशा फर्काएर कसरी बनाएका छौं ? भान्सा, सयन कक्ष, बैठक कोठा, भ¥याङ, भण्डारण कोठा कहाँ र कसरी बनाएका छौं ? झ्याल–ढोका कहाँ–कस्तो बनाएका छौं ? रंग कस्तो लगाएको छौं ? फर्निचरहरु कसरी राखेका छौं ? फूल–बिरुवा र फोटोहरु कसरी सजाएका छौं ? यावत् कुरा महत्वपूर्ण छन् ।

यसरी घरलाई सुविधायुक्त, सहज र आनन्दित बनाउनका लागि हामीले कस्तो धरातलमा घर उभ्यायौं ? कसरी बनायौं ? के कस्ता सरसामग्री प्रयोग गर्‍यौं, कस्तो वातावरण मिलायौं भन्ने कुराले प्रभाव पार्छ । यी कुराहरुमा त्यहाँको इतिहास, भौगोलिक अवस्थिती, हावापानी, सामाजिक थीतिको खास भूमिका हुन्छ ।

सारमा भन्नुपर्दा कुनैपनि घर भवन बनाउनुअघि त्यहाँका आदिवासी (जो पुस्तौंदेखि बसिरहेका छन्) उनीहरुको सीप र शिल्पलाई अधिकतम उपयोग गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?