+
+

कतारका राजालाई सेनाको कमान्डमा ‘अति विशिष्ट स्तर’ को सुरक्षा

सोल्टी होटलमा बस्ने, भोलि फर्किने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते १०:५४

११ वैशाख, काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणको सुरक्षा नेतृत्व नेपाली सेनाले गर्ने भएको छ ।

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७७मा व्यवस्था भए बमोजिम सेनाको नेतृत्वमा कतारका राजालाई अति विशिष्ट स्तर (क श्रेणी) को सुरक्षा प्रदान गर्न लागिएको हो ।

विगतमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत नेपाल भ्रमणका बेला पनि यही तहको सुरक्षा प्रबन्ध मिलाइएको थियो । यसअनुसार विशिष्ट व्यक्तिको क्लोज सेक्युरिटीमा सेनाको पार्श्ववर्ती र अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट टोली खटिनेछ ।

बाहिरी सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग खटिनेछ । कतारका राजा अमिर शेखको सडकमा सवारीका बेला सबैभन्दा अग्रभागमा प्रहरी वार्निङ मोटरसाइकल, प्रहरीको अगुवा जीप, १८ जना आउट राइडर्स, विशिष्ट व्यक्ति, विशिष्ट व्यक्तिको पछुवा कार, फेरि आउट राइडर्स र जगेडा कार समेत रहने छ ।

आपतकालीन अवस्थाका लागि एम्बुलेन्स, प्रहरी जीप, पछुवा कार पनि उनको सवारीका बेला साथमै रहनेछन् । सेनाका स्नाइपरदेखि बम डिस्पोजल टोली पनि तैनाथ रहनेछन् ।

प्रहरीबाट उनको सवारीका बेला उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापा आफैं खटिनेछन् भने सशस्त्र प्रहरी बलले उपत्यका हेर्ने पशुपतिप्रसाद बाहिनीका प्रमुख डीआईजी पुरुषोत्तम थापालाई खटाउँदैछ । सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागको टोली पनि खटिनेछ ।

यसका अतिरिक्त नेपालस्थित कतारी दूतावासले परराष्ट्र मन्त्रालयसँग समन्वयमा छुट्टै सुरक्षा टोली पनि खटाउनेछ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नपाल आउन लागेका विदेशी विशिष्ट पाहुनाको सुरक्षा व्यवस्थापनका लागि सैनिक मुख्यालय जंगीअड्डाको अतिविशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयमार्फत पूर्वतयारी र रिहलसल पनि गरिएको थियो ।

नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख एवं प्रवक्ता सहायक रथी गौरव कुमार केसीले कतारी राजाको सुरक्षाको मुख्य जिम्मेवारी नेपाली सेनाले सम्हाल्ने जानकारी दिए । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बासस्थान र सवारी रुटको सुरक्षाको लिड नेपाली सेनाले गर्नेछ,’ केसीले भने, ‘अतिविशिष्ट सुरक्षा सम्बन्धी कार्यविधि छ, त्यसैअनुसार प्रबन्ध मिलाइएको छ ।’

काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी दीपक थापाले पहिलो सुरक्षा घेरामा नेपाली सेना र बाहिरी घेरामा नेपाल प्रहरीसहितको अन्य सुरक्षा टोली रहने जानकारी दिए ।

उनका अनुसार कतारका राजा काठमाडौं ओर्लिनुअघि त्रिभुवन विमानस्थल र होटेल र सवारी रुटमा तालिमप्राप्त ‘स्निफिङ डग’ जाँच गर्नेछ । ट्राफिक प्रहरीले सवारी आवागमनको व्यवस्था मिलाउने छ । सरकारले आज सार्वजनिक विदा दिएकाले सवारी चाप कम हुने अपेक्षा प्रहरीको छ ।

सुरक्षा चुनौतिको विश्लेषण

सेनाले भावी प्रधानसेनापतिको रोलक्रममा रहेका बलाधिकृत रथी अशोकराज सिग्देलको नेतृत्वमा एकीकृत सुरक्षा समन्वय समिति समेत गठन गरेको छ । सिग्देल नेतृत्वको समितिको मातहत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग रहेको उपसमिति समेत गठन गरिएको छ ।

समितिले जंगीअड्डामा कतारका राजा नेपाल भ्रमणका बेला देखापर्न सक्ने चुनौतिबारे विश्लेषण गरेर त्यही अनुसार सुरक्षा प्रबन्ध मिलाएको छ ।

स्रोतका अनुसार, कतारका राजा नेपाल आउँदा संगठित आपराधिक समूह, अन्तर्राष्ट्रिय आतंकवादी संगठन, सन्की र मानसिक असन्तुलन भएका व्यक्तिहरु, अतिवादी समूहहरु लगायतबाट सुरक्षा चुनौति हुनसक्ने विश्लेषण छ । त्यही अनुसार, रिक्ततारहितको सुरक्षा प्रबन्ध मिलाइएको एक उच्च सैनिक अधिकृतले बताए ।

कतारका राजा मंगलबार पौने ५ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने भए पनि बिहानैदेखि चोक–चोकमा सुरक्षाकर्मीहरु परिचालन भइसकेका छन् । कतारका राजासहितको भ्रमण टोलीलाई सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।

कतारका राजा बंगलादेशको ढाका हुँदै नेपाल आउन लागेका हुन् । उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गर्ने छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै बेलुकी भेटवार्ता हुने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार भेटवार्ता गर्नेछन् ।

कतारको राजासहितको भ्रमण टोली बुधबार दिउँसो दुई बजे नेपालबाट फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?