+
+
प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिता :

कोशी प्रदेशलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते १२:३६

१५ पुस, काठमाडौं । एपीएफ अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो क्वालिफार्यसमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गर्‍यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।

१४० रनको लक्ष्य पछ्याएको कोशी निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ८७ रनमा सीमित रहेपछि एपीएफ ५२ रनले विजयी भएको हो ।

कोशीका लागि अप्सरी बेगमले सर्वाधिक ३१ रन बनाइन् । उनले ४८ बलमा २ चौका र एक छक्का प्रहार गरिन् । रुबिना क्षेत्रीले २२, लकिता राजवंशीले १४ रन बनाइन् । विमला मलाहा ६ रनमा अविजित रहिन् ।

एपीएफका लागि रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सीता राना मगरले एक/एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको एपीएफका लागि इन्दु बर्माले ५६ रनको अर्धशतकीय पारीसहित अविजित रहिन् । उनले ५० बलमा ३ चौका र एक छक्का प्रहार गरिन् ।

कप्तान सीता राना मगर ४५ रन र ज्योति पाण्डेले १२ रन बनाए । रोमा थापा १८ रनमा अविजित रहे ।

कोशीका लागि एक मात्र विकेट कप्तान रुबिना क्षेत्रीले लिइन् ।

आजको दोस्रो खेल एलिमिनेटर वानअन्तर्गत सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच हुनेछ । यी दुई बिचको विजेताले कोशीसँग एलिमिनेटर टु अन्तर्गत कोशीसँग खेल्नेछ ।

एलिमिनेटर टु को विजेताले पुस १८ गते फाइनलमा एपीएफसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?